काठमाडौं । आइसिसी यु–१९ विश्वकप एसिया छनोटमा नेपालले लगातार तेस्रो जित हासिल गरेको छ ।
बुधबार तल्लो मुलपानी क्रिकेट मैदानमा सम्पन्न खेलमा नेपालले हङकङमाथि ९ विकेटको सानदार जित हासिल गरेको हो ।
हङकङले दिएको ११६ रनको लक्ष्य पछ्याएको नेपालले १२.३ ओभरमा एक विकेट गुमाउँदै ११८ रन बनायो ।
नेपालका साहिल पटेलले अविजित सर्वाधिक ४२ रन बनाए । अर्का ओपनर नीरजकुमार यादवले २३ रन बनाउदा कप्तान नरेन भट्ट ३९ रनमा अविजित रहे ।
हङकङका स्यान पुरीले एक विकेट लिए ।
यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको हङकङले ४६.२ ओभरमा सबै विकेट गुमाउँदै ११५ रनको योगफल तयार पारेको थियो ।
हङकङका शिव मथुरले सर्वाधिक ६३ रन बनाउदा आर्या पंजवानीले १३ रन, वीर माथुरले १२ रन र ह्यारी थोमस हजसनले १० रन बनाए ।
नेपालका युवराज खत्रीले सर्वाधिक चार विकेट लिदा विपिनप्रसाद शर्माले तीन सन्तोष यादवले दुई र अशोक धामीले एक विकेट लिए ।
जितसँगै नेपाल ६ अंकसहित शीर्ष स्थानमा उक्लिएको छ । पराजित हङकङ भने अझै जितविहीन छ ।