इलाम । तेस्रो संस्करणको माइजोगमाई गाउँपालिका अध्यक्ष कपको उपाधि माङसेबुङले चुमेको छ ।
बुधबार भएको फाइनल खेलमा देउमाईलाई टाइब्रेकरमा ४–१ गोल अन्तरले पराजित गर्दै माङसेबुङले उपाधि चुमेको हो ।
उपाधि चुमेसँगै माङ्सेबुङले नगद २ लाख १ हजार १ सय ११ रुपैयाँको साथमा आकर्षक ट्रफी, मेडल र प्रमाणपत्र हात परेको छ । उपविजेता बनेको देउमाईले भने नगद १ लाख ३१ हजार १ सय ११ रुपैयाँको साथमा ट्रफी, मेडल र प्रमाणपत्र चित्त बुझायो ।
माङ्सेबुङले सुरुवाती अग्रता लिएको थियो । दोस्रो हाफको १०औं मिनेटमा आसहाङ लिम्बूले गोल गर्दै माङसेबुङलाई सुरुवाती अग्रता दिलाएका थिए । तर, दोस्रो हाफको २६औं मिनेटमा किरण मगरले गोल गर्दै देउमाईलाई बराबरीमा फर्काएको थियो ।
त्यसपछि खेल १–१ को बराबरीमा रोकिएपछि नतिजा टाइब्रेकरमा धकेलिएको थियो । टाइब्रेकरमा माङसेबुङले बाजी मार्यो ।
टाइब्रेकरमा माङसेबुङका संगिन लिम्बू, आशाङ लिम्बू, प्रविन राई र मनोज लिम्बूले गोल गर्दा देउमाईको तर्फबाट दर्शन मुखिया मात्र गोल गर्न सफल भयो । देउमाईका किरण मगरको प्रहार गोल पोष्टमा लागेर बाहिरिएको थियो भने आदर्श गुरुङको प्रहार माङसेबुङका गोल रक्षक आयुष लिम्बूले बिफल तुल्याएका थिए ।
यसैगरी प्रतियोगिताको उत्कृष्ट गोलरक्षक माङ्सेबुङका आयुष लिम्बू, उत्कृष्ट डिफेन्डर माङ्सेबुङकै मनोज लिम्बू, उत्कृष्ट मिडफिल्डर माङ्सेबुङकै सङ्गीन लिम्बू र सर्वोत्कृष्ट खेलाडी माङ्सेबुङकै प्रवीन राई घोषित भए । सर्वाधिक गोलकर्ता देउमाईका मुकेश मगर बने ।
गत २५ गतेबाट सञ्चालन भएको तेस्रो संस्करणको माइजोगमाई गाउँपालिका अध्यक्ष कप प्रतियोगितामा इलामका १० वटै स्थानीय तहका १–१ टिम सहभागी थिए । प्रतियोगिता गाउँपालिकाको आर्थिक सहयोगमा माइजोगमाई खेलकुद विकास परिषदले आयोजना गरेको हो ।