माङसेबुङ । आइसिसी महिला टी–२० विश्वकप एसिया छनोटमा नेपालले समूह चरणको आफ्नो अन्तिम खेलमा बहराइनमाथि जित हासिल गरेको छ ।
बुधबार थाइल्यान्डको बैङ्ककस्थित टेर्डथाई क्रिकेट मैदानमा भएको खेलमा नेपालले डिएसएस मेथर्डमार्फत बहराइनमाथि ६ विकेटको जित निकालेको हो । यो जितसँगै नेपालको सुपर थ्रीको सम्भावना कायमै रहेको छ ।
वर्षाका कारण ७ ओभरमा झारिएको खेलमा ५६ रनको लक्ष्य नेपालले ८ बल अगावै ४ विकेट गुमाएर पूरा ग¥यो ।
नेपालका लागि कप्तान इन्दुले अविजित २४ रनको पारी खेलिन् । यस्तै सम्झना खड्काले ५ रन, रुबी पोदारले १ रन र पुजा महतोले १३ रन बनाइन् ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको बहराइनले १२.४ ओभरमा ३ विकेट गुमाएर ७६ रन बनाएपछि वर्षाका कारण खेल रोकिएर पुनः सुरु हुँदा नेपालले ७ ओभरमा ५६ रनको परिमार्जित लक्ष्य पाएको थियो ।
अब समूहको अन्तिम खेलमा हङकङ र बहराइन शुक्रबार खेल्ने छन् । उक्त खेलमा हङकङ विजयी भएमा वा वर्षाले खेल नभएमा नेट रनरेटका आधारमा हङकङ सुपर ३ मा पुग्दा नेपाल भने बाहिरिनेछ । नेपाल अघि बढ्न बहराइनले हङकङलाई हराउनु पर्नेछ ।