नेपाल पहिलोपल्ट महिला विश्वकप ग्लोबल छनोटमा - Mangsebung News
  • बुधबार, असार २५, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

नेपाल पहिलोपल्ट महिला विश्वकप ग्लोबल छनोटमा

माङसेबुङ । नेपाल एक खेलअगाबै पहिलो पटक आइसिसी महिला विश्वकपको ग्लोबल छनोटमा पुग्न सफल भएको छ ।

नेपालले बैंककस्थित टेर्डथाई क्रिकेट मैदानमा आइतबार भएको ‘सुपर थ्री’को पहिलो खेलमा संयुक्त अरब इमिरेट्स (युएई)लाई पाँच विकेटले पराजित गर्दै पहिलो पटक विश्वकपको ग्लोबल छनोटमा स्थान पक्का गरेको हो ।

योसँगै एसियाबाट थाइल्यान्ड र नेपाल ग्लोबल छनोटमा पुग्न सफल भएका हुन् । अब नेपालले मंगलबार अन्तिम खेल थाइल्यान्डसँग खेल्नेछ ।

युएईले दिएको ११५ रनको लक्ष्य नेपालले अन्तिम तीन बल बाँकी रहँदा पूरा गर्यो ।

नेपालकी कप्तान इन्दु बर्माले अविजित रहँदै सर्वाधिक ३० रन बनाइन् । यसैगरी रुविना क्षेत्री बेलबासेले २३ रन, ओपनर सम्झना खड्काले २१ रन र उकप्तान पूजा महतोले १३ रन बनाउँदा रुबि पोद्दार ६ रनमा अविजित रहिन् ।

युएईका मेचेली बोथा, सुरक्षा कोत्ते, भैश्नवी महेश र ईशा ओझाले समान एक विकेट लिइन् ।

यसअघि टस हारेर पहिला ब्याटिङ थालेको युएईले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै ११४ रन बनाएको थियो ।

युएईकी कप्तान ईशाले सर्वाधिक ३९ रन बनाइन् । यस्तै ओपनर तीर्थ शतिशले २१ रन, हिना होत्चान्डीले २० रन र लावन्या केनीले १२ रन बनाइन् ।

नेपालकी मनीषा उपाध्यायले सर्वाधिक चार विकेट लिइन् । यस्तै कविता कुँवरले दुई र राजमती ऐरीले एक विकेट लिइन् ।

अब विश्वकप पुग्न अन्तिम चरणको छनोट खेल्नेछ । उक्त छनोटमा १० टिमले प्रतिस्पर्धा गर्नेछन् । शीर्ष ४ टोलीले विश्वकपमा स्थान बनाउने छन् ।

सम्बन्धित खवर