माङसेबुङ । स्कटल्याण्डको डन्डीमा नेपालले नेदरल्याण्ड्समाथि रोमाञ्चक जित हासिल गरेको छ ।
आइसिसी विश्वकप लिग टु अन्तर्गत मंगलबार भएको खेलमा नेपालले नेदरल्याण्ड्समाथि १६ रनको रोमाञ्चक जित हासिल गरेको हो ।
नेपालले प्रस्तुत गरेको २ सय ३७ रनको विजयी लक्ष्य पछ्याएको नेदरल्याण्ड्सले ४९.२ ओभरमा अल आउट हुदै २ सय २० रन मात्र बनाउन सक्यो ।
नेदरल्याण्ड्सका लागि वेस्ली बारेसीलेसर्वाधिक ३६ रन बनाउँदा माइकल लेभिटल २७ रन, कप्तान स्कट एडवार्डसले ३० रन तेजा निदामानिरुले १७ रन बनाए । यस्तै नोहा क्रोसले २२ रन, काइल क्लेनले २५ रन र भान मिर्वोले १६ रन जोडे ।
नेपालका लागि नन्दन यादब र सन्दीप लामिछानेले समान ३, ललित राजवंशीले २ तथा करण केसी र कुशल भुर्तेलले समान १ विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ३६ रन बनायो ।
नेपालका लागि आरिफ शेखले ससर्वाधिक ८४ रनको योगदान गरे । आरिफको यो ओडिआई करियरको सर्वाधिक रन हो । यस्तै भीम सार्कीले र कप्तान रोहितकुमार पौडेलले ३५ रन, उपकप्तान दीपेन्द्रसिंह ऐरीले १६ रन, बसिर अहमदले ११ रन, करण केसीले ११ रन र नन्दन यादवले १० रन बनाए । यस्तै कुशल भुर्तेलले १८ रन तथा अनिल साहले २ रन जोडे ।
दोस्रो इनिङको सुरुवातमा नेदरल्याण्ड्सले कुनै बलको सामना नगरी १० रन पाएको थियो । नेदरल्याण्ड्सका लागि पल भानले ४, लेभिटले ३ तथा आर्यन दत्तले १ विकेट लिए ।
जित पछि नेपाल ८ राष्ट्र सहभागी लिग टु मा १६ खेलमा १२ अंकका साथ सातौं स्थानमा छ । पराजित नेदरल्याण्ड्स २३ खेलमा २६ अंकका साथ दोस्रो स्थानमा यथावत छ ।