गणपतिका प्रोपाइटर भण्डारीले सडक निर्माणको करिब पाँच करोड रकम नतिरेको आरोप - Mangsebung News
  • बिहिबार, असोज ०२, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

गणपतिका प्रोपाइटर भण्डारीले सडक निर्माणको करिब पाँच करोड रकम नतिरेको आरोप

माङसेबुङ । झापाको दमकदेखि इलामको चिसोपानी जोड्ने दमक–चिसोपानी सडक (फाल्गुनन्द मार्ग) को दोस्रो र तेस्रो प्याकेज निर्माणको ठेक्का पाएको तर काम पूरा नगरेपछि हटाइएका गणपति ग्रुप अफ कन्स्ट्रक्सनका प्रोपाइटर तुलसीराम भण्डारीले पेटी कन्ट्राक्टर, होटल सञ्चालक, अन्य व्यवसायी र स्थानीय कामदारलाई तिर्नु पर्ने रकम नतिरी सम्पर्क विहीन भएको आरोप लागेको छ ।

बिहीबार झापाको दमकस्थित पत्रकार मञ्च दमकको सभाकक्षमा आयोजित पत्रकार सम्मेलनमा सडक निर्माण कम्पनीबाट आफूहरु पीडित भएको बताएका हुन् ।

उनीहरुले सडक निर्माण कम्पनीसँग सम्झौता गरेर र नगरी आपसी विश्वासका आधारमा विभिन्न काम गरेको तथा विभिन्न सेवा उपलब्ध गराए वापत करिब पाँच करोड रकम नपाएको भन्दै प्रोपाइटर भण्डारीविरुद्ध उजुरी गर्ने बताएका हुन् । सडकको ठेक्का लुम्बिनी–गणपति जेभीले पाएको थियो ।

पीडितका अनुसार चार महिना अगाडिसम्म सडकको ठेक्का तोडिएपछि अदालतमा आफूले मुद्दा हालेको र मुद्दा आफ्नै पक्षमा फैसला हुने भन्दै भण्डारीले सबैलाई आश्वास्त पार्दै आएका थिए । तर, चार महिना यता उनी कसैसँग पनि सम्पर्कमा नरहेको पीडितहरुको भनाइ छ ।

रकम नतिरेको विषयमा ठेकेदार भण्डारीलाई उनको मोबाइल नम्बर ९८५७८३१००० मा सम्पर्क गर्दा सम्पर्क हुन सकेन । भण्डारीबाट आफूहरु ठगिएको भन्दै पीडितहरुले सामूहिक दवावका लागि विभिन्न सरकारी निकायहरुमा आफ्ना गुनासोसहित समस्या समाधानका लागि पहल थालेका छन् ।

त्रकार सम्मेलनमा उनीहरुले आफूहरुको रकम प्राप्त हुने वातावरण निर्माणका लागि माङसेबुङ गाउँपालिका न्यायिक समितिमा उजुरी गर्ने तयारी गरेका छन् ।

साथै, सो को बोधार्थ बटोको सम्पूर्ण कार्य हेर्ने सडक विभागको दमकस्थित सडक डिभिजन कार्यालय, जिल्ला समन्वय समिति इलाम र झापा, जिल्ला प्रशासन कार्यालय इलाम र इलाम क्षेत्र नम्बर २ का सङ्घीय सांसदलाई दिनेगरी हस्ताक्षर संकलन अन्तिम चरणमा पुगेको बताएका थिए ।

लुम्बिनी–गणपति जेभीसँग पेटी ठेक्कामा काम गर्ने ठेकेदार, होटल व्यवसायी, मजदुर, किराना पसले, मोटर पार्टस र विभिन्न सवारी साधन र निर्माण कार्यमा प्रयोग हुने मेसिनरीसमेतको भुक्तानी नहुँदा आफूहरु मारमा परेको उनीहरुको भनाइ छ । पत्रकार सम्मेलनमा उनीहरुले गणतिका प्रोपाइटर भण्डारीबाट विभिन्न समयमा लिएको चेक र सम्झौतापत्रसमेत सार्वजनिक गरे ।

माङसेबुङ ६ माङमालुङ बजारका निर्माण व्यवसायी कमलबहादुर कार्कीले भने –‘पुरानो ठेक्का रद्द भएर नयाँ ठेक्का लाग्दैछ भन्ने सुनेका छौँ । तर, हामीले पुरानो ठेकेदारसँग विभिन्न काम गरेका थियौँ । त्यसबापतको पैसा पाउने कि नपाउने अन्योल छ । तीन चार महिनादेखि ठेकेदार सम्पर्कमा छैनन् । त्यसैले यो विषय सार्वजनिक चासोमा परोस् भनेर मिडियामा आयौँ ।’

बिहीबारको पत्रकार सम्मेलनमा पीडितका पक्षबाट ३७ जनाको हस्ताक्षरसहित प्रस्तुत गरिएको निवेदनमा ९७ लाखदेखि १३ हजार पाँच सयसम्म रकम पाउनुपर्ने उल्लेख छ । माग दावीअनुसारको रकम जम्मा जोड्दा करिब ५ करोड हाराहारी पुग्ने माङसेबुङ ४ का रमेश राईले जिकिर गरे ।

‘ठेक्केदर कम्पनी र सडकले जान्ने कुरा हो । हाम्रो पैसा जसरी पनि उठ्नु पर्छ । ठेक्का किन तोडियो ? अहिले बाटोको अवस्था कस्तो छ ? सडकले बाटो निर्माण नै रोक्दा अहिले बर्खामासमा न स्थानीय सरकारले मर्मत गर्न पाएको छ ?’, राईले भने ।

लुम्बिनी–गणपतिसँग सम्झौता गरेर सडक निर्माणको काम गरेका दमक ३ का सुकविर तामाङसँग कम्पनीले दिएको चेक पनि छ । तर, बैंकमा जाँदा चेक नसाटिएको उनले बताए । उनी भन्छन् –‘चार महिना अघिसम्म फोनमा सम्पर्क हुन्थ्यो । पैसा माग्दा मेरो अर्बौंको निर्माण सामग्री साइटमै छाडेको छु, त्यो बेचेर भए पनि दिन्छु भन्दै थुम्थुम्याउने गरेका थिए । तर त्यसपछि त सम्पर्कमै छैनन् ।

सडक निर्माणका लागि भनी निर्माण कम्पनीले माङसेबुङको मझुवा दोभानमा क्याम्प नै राखेर सवारी साधन र निर्माण कार्यमा प्रयोग हुने उपकरण राखेको थियो । त्यस्तै, घर्ती दोभान नजिकै एसफाल्ट प्लान्ट (रोडा र अलकत्रालाई तताएर मिसाउने उपकरण) स्थापना गरेको थियो । हाल ती उपकरण र प्लान्ट अलपत्र छन् ।

समयमा काम नसकेको भन्दै लुम्बिनी–गणपतिसँगको दमक–चिसोपानी सडक (फाल्गुनन्द मार्ग) निर्माण ठेक्का सम्झौता सडक डिभिजन कार्यालय दमकले दुई वर्ष अघि गत ०८० फागुनमा तोडेको थियो ।

ठेक्का तोडिएपछि लुम्बिनी–गणपति जेभी सो निर्णयविरुद्ध अदालत गएको थियो । तर उच्च अदालतले उसको रिट खारेज गरिदिएको थियो । निर्माण कम्पनीले अर्को मुद्दा झापा जिल्ला अदालतमा समेत दायर गरेकोमा सो मुद्दा विचाराधीन रहेको सडकले जनाएको छ ।

नयाँबुलन्दबाट

सम्बन्धित खवर