- पदम सुखी सम्बाहाम्फे
कुम्मायक । पाँचथरको कुम्मायक गाउँपालिका वडा न, ५ स्थित कुर्लेडाँडाका खड्कबहादुर सम्बाहाम्फे बाँदरका पीरले विस्थापित हुने अवस्था भएको छ । करीब ७ रोपनी बारी र खेतमा बर्षेनि मक्कै, कोदो र धानको खेति गर्दै आएकोमा बिउ समेत जोगाउन नसकेको ऊनी बताउछन् ।
वरिपरि जङ्गलको बीचमा रहेको खड्कबहादुरको घर भित्र समेत बाँदर पसि खाद्य बस्तु खाने बताए । रुद्राक्ष, नस्पाती तथा अन्य फलफूल र बालिलाई जंगली जनावरहरुको दैनिक आतंकका कारण त्यस ठाउँबाट आफु विस्थापित हुनको विकल्प नरहेको समेत सम्बाहाम्फेले बताए । त्यसैगरी वडा न, ४ खाम्ले स्थित पुच्छारे टोलका नरध्वज सम्बाहाम्फेले बाँदरको पिरोलोले मक्कै बालि लाउनै छोडेको बताए ।
गाउँपालिकाको सबैजसो वडा र क्षेत्रमा बादरहरुको आतंक कृषकहरुका लागि गम्भीर समस्या बनेको छ । १ न, वडाले बाँदरको आतंक बढेको भन्दै वडाले ९ जनालाई साविक ९ वटा टोलमा तलब दिएर बाँदर धपाउने कर्मचारी खटाएको जनाइएको छ । प्रत्येक टोलमा एक एक जना बाँदर हेरालुहरु एकजुट भइ बाँदर धपाउन केहि हद सहज भएको स्थानीयले बताए । बैशाख महिना देखि भाद्र महिना सम्म मक्कै बालीमा बाँदरले अत्यधिक क्षति गर्ने गरेकाले परिक्षणको निम्ति चालु आर्थिक बर्षमा पहिलोपटक ९ वटा टोलमा बादर हेरालु कर्मचारी खटाएको वडा अध्यक्ष देवेन्द्रकुमार लावतिले बताए ।
पछिल्लो समय जंगली जनावरका कारण खेतीयोग्य जमिन बाझो हुन थालेको छ भने बाद बाँदर र नियन्त्रण गर्ने अन्य उपाय स्थानीय सरकारले कार्यविधि बनाइ जि, प्र, का, प्रदेश र सङ्घिय सरकार सङ्ग समन्वय गरि विकल्प खोज्नुपर्ने समाजसेवी गणेशकुमार चेम्जोङले बताए ।
बिहान सवेरै मक्कै रुङ्गन बारीमा जानुपर्छ नभन्दै हुलका हुल बादर आइपुग्छ्न ढुङ्गा, लठ्ठी, खुकुरी गाउँपालिकाले दिएको बादर तर्साउने यन्त्रले हान्यो टेर्दैनन भन्छन् ७० बर्षिय जङ्ग प्रसाद सम्बाहाम्फे । समय हेरि मान्छे कहाँनेर के गर्दैछन् बिचार गरि गरि खाना खाजा खाने समयमा मौका छोपेर मक्कै खान बादर आउने अर्का कृषक भुपेन्द्र सम्बाहाम्फेले बताए । कुकुर सङ्ग धपाउदै लखेटे पनि उल्टै कुकुरलाई समेत बादरहरुले कुट्ने गरेको सम्बाहाम्फेले भने । बादरहरुको ज्यादती अत्याधिक बढेकोले यो समस्याको समाधान खोज्नैपर्ने गोविन्द खनाल र डिल्ली आचार्यले पनि बताए ।