माङसेबुङ । नेपालको च्याम्पियन क्लव विभागीय टोली एपिएफ एएफसी महिला च्याम्पियन्स लिग प्रारम्भिक छनोटको पहिलो खेलमा पराजित भएको छ ।
सोमबार उज्बेकिस्तानको मार्काजी रंगशालामा भएको खेलमा घरेलु टोली एफसी नासाफसँग एपिएफ ३–० ले पराजित भएको हो ।
नासाफको जितमा खाबिबुल्ला इभाले २ र मफतुना शोयिमोभाले १ गोल गरिन् ।
खेलको १३औं मिनेटमै खाबिबुल्लाको गोलमार्फत नासाफले सुरुआती अग्रता लिएको थियो । त्यसको ३ मिनेटपछि नै उनले अग्रता दोब्बर बनाइन् । यसैगरी खेलको ३३औं मिनेटमा माफतुनाले अर्को गोल गर्दै ३–० ले जित दिलाईन ।
नेपाली राष्ट्रिय टोली नै लिएर एपिएफ मैदान उत्रेपनि डिफेन्समा चुक्दा पहिलो हाफमै ३ गोल खाएको थियो ।
दोस्रो हाफमा डिफेन्समा सुधार गरे पनि एपिएफले गोल भने फर्काउन सकेन ।