
माङसेबुङ । नेपालले विश्व विजेता वेस्ट इन्डिजसँगको पहिलो टी–२०आई खेलमा ऐतिहासिक जित निकालेको छ ।
युएईको शारजाह क्रिकेट अन्तर्राष्ट्रिय रंगशालामा शनिबार भएको युनिटी कपको पहिलो खेलमा नेपालले टेस्ट टोली वेस्ट इन्डिजलाई १९ रनले पराजित गर्दै इतिहास रचेको हो ।
नेपालले क्रिकेट इतिहासमा पहिलोपल्ट टेस्ट टोली र वेस्ट इन्डिजलाई पराजित गरेको हो । योसँगै नेपालले तीन खेलको सिरिजमा १–० को अग्रता लिएको छ । अब नेपालले सोमबार दोस्रो खेल खेल्नेछ ।
नेपालले दिएको १४९ रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिजले २० ओभरमा ९ विकेट गुमाएर १२९ रन मात्र बनायो ।
वेस्ट इन्डिजका लागि नविन विदायसीले सर्वाधिक २२ रन बनाए । अमिर जाङ्गो र किएसी कार्टीले समान १९ रन बनाए ।
नेपालको जितमा कुशल भुर्तेलले २ विकेट लिए । त्यस्तै कप्तान रोहित पौडेल, करण केसी, दिपेन्द्रसिंह ऐरी र नन्दन यादवले समान एक–एक विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा ८ विकेट गुमाएर १४८ रन बनाएको हो ।
नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ३८ रन बनाए । यसैगरि कुशल मल्लले ३० रन बनउँदा गुल्शन झाले २२ रन र दीपेन्द्रसिंह ऐरीले १७ रन बनाए ।
वेस्ट इन्डिजका लागि जेसन होल्डरले सर्वाधिक ४ विकेट लिए । डेब्यू गरेका नविन विदायसीले ३ र कप्तान अकिल होसेनले १ विकेट लिए ।







