
माङसेबुङ । एसिया कपको क्रिकेट २०२५ को उपाधि भारतले चुमेको छ ।
आइतबार दुबईमा भएको फाइनल खेलमा पाकिस्तानमाथि ५ विकेटको जित निकाल्दै भारतले नवौंपटक एसिया कपको उपाधि चुमेको हो ।
पाकिस्तानले दिएको १४७ रनको लक्ष्य भारतले २ बल बाँकी छँदा ५ विकेटको क्षतिमा पुरा गर्यो ।
भारतको जितमा तिलक वर्माले सर्वाधिक अविजित ६९ रन बनाए । यसैगरी शिवम दुबेले ३३ रन र सन्जु सामसनले २४ रन बनाए ।
पाकिस्तानका लागि फहीम अशरफले ३ तथा अबरार अहमद र शाहीन अफ्रिदीले समान एक–एक विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको पाकिस्तानले १९.१ ओभरमा अलआउट हुँदै १४६ रन मात्र बनाउन सक्यो ।
पाकिस्तानका लागि ओपनर शाहिबजादा फरहानले सर्वाधिक ५७ रन बनाए । यस्तै फखार जमानले ४६ रन र सायम अयुबले १४ रन बनाउनु बाहेक अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
भारतको जितमा कुलदीप यादवले ४ विकेट लिए । यस्तै जसप्रित बुमराह, वरुण चक्रवर्ती र अक्षर पटेलले समान दूई–दूई विकेट लिए ।
भारतले यसअघि सन् १९८४, १९८८, १९९०–९१, १९९५, २०१०, २०१६, २०१८ र २०२३ मा उपाधि जितेको थियो ।







