
माङसेबुङ । नेपालले ओमानविरुद्धको वार्मअप म्याचमा सहज जित हासिल गरेको छ ।
आईसीसी टी ट्वान्टी विश्वकपको छनोटको तयारीमा रहेको नेपालले शनिबार भएको पहिलो वार्मअप म्याचमा ओमानलाई ६ विकेटले हराउदै सहज जित हासिल गरेको हो ।
ओमानले प्रस्तुत गरेको १११ रनको लक्ष्य नेपालले मात्र ४ विकेट गुमाएर १७ ओभरमा पुरा गर्यो ।
नेपालका लागि आसिफ शेखले ६१ रनको शानदार ईनिङ्स खेले । यसैगरी रोहित पौडेलले २५ रन, कुशल भुर्तेलले ११ रन बनाउँदा कुशल मल्ल १० रन र सन्दीप जोरा १ रनमा नटआउट रहे ।
पहिले ब्याटिङ गरेको ओमानले ९ विकेटको क्षतिमा १ सय १० रन बनाएको थियो ।
नेपालको जितमा सोमपाल कामी, सन्दीप लामिछाने र दिपेन्द्र सिंह ऐरीले समान दुई दुई विकेट लिएका थिए ।
आईसीसी टी ट्वान्टी विश्वकपको एसिया र इस्ट एसिया प्यासिफिक छनोट खेल्न नेपाली टिम ओमानमा रहेको छ ।
नेपालले विश्वकप छनोटको समूह चरणमा कुवेत र जापानसँग खेल्नेछ । समूह चरणको शीर्ष स्थानमा रहेको खण्डमा नेपाल सुपर सिक्समा छनोट हुनेछ ।
सुपर सिक्सको शीर्ष तीन टिमले अर्को वर्ष हुने टी ट्वान्टी विश्वकपमा स्थान बनाउनेछ ।







