माङसेबुङ । नेपाल अपराजित रहँदै आईसीसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटको च्याम्पियन बनेको छ ।
शुक्रबार भएको अन्तिम खेलमा सामोआलाई १२४ रनले हराउँदै नेपाल समूह चरणदेखि सुपर सिक्सका सबै खेलमा अपराजित रहँदै च्याम्पियन बनेको हो ।
नेपालले दिएको २१२ रनको लक्ष्य सामोआले २० ओभरमा ७ विकेट गुमाएर ८७ रन मात्र बनायो ।
सामोआका लागि सिन सोलियाले सर्वाधिक ४० रन बनाए ।
नेपालको जितमा ललित राजवंशीले सर्वाधिक ३ विकेट लिए । यस्तै करण केसी, सन्दीप लामिछाने र रोहित पौडेलले १–१ विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा ४ विकेट गुमाएर २११ रन बनाएको थियो ।
नेपालका लागि आसिफ शेखले सर्वाधिक ६९ रन बनाए । यस्तै दीपेन्द्र सिंह ऐरीले ५३ रन बनाए ।
यसैगरी लोकेश बमले ३९ रन, रोहित पौडेलले २१ रन र कुशल भुर्तेलले १७ रन बनाए ।
सामोआका लागि डानियल बर्गस, साउमानी ताइ, डारियस भिसर र नोआह मिडले १–१ विकेट लिए ।
नेपालले ११ वर्षपछि पहिलोपटक आईसीसीको प्रतियोगितामा उपाधि जितेको हो ।