
झापा । विभागीय टोली नेपाल पुलिस क्लब काठमाडौं एलभिडी झापा महिला गोल्डकपको फाइनलमा प्रवेश गरेको छ ।
आज (शुक्रबार) झापाको शिवसताक्षीस्थित दुधे रंगशालामा भएको खेलमा संकटा फुटबल क्लब काठमाडौंलाई २–० पराजित गर्दै पुलिस उपाधि नजिक पुगेको हो ।
पुलिसको जितमा मिना देउबा र रेखा पौडेलले १–१ गोल गरिन् । खेलकी प्लेयर अफ द म्याच पुलिसकी रेखा पौडेल घोषित भइन् । उनले नगद १५ हजार रुपैयाँ र ट्रफी प्राप्त गरिन् ।
शनिबार हुने दोस्रो सेमिफाइनल खेलमा एपिएफ फुबटल क्लब काठमाडौं र त्रिभुवन आर्मी फुबटल क्लब काठमाडौंबिच प्रतिस्पर्धा हुनेछ ।
प्रतियोगिताको फाइनल खेल कात्तिक २४ गते हुनेछ ।
प्रतियोगिताको विजेता टिमले नगद १० लाख १० हजार रुपैयाँ पाउनेछ । त्यस्तै, उपविजेताले नगद पाँच लाख रुपैयाँ पाउनेछ । सर्वोत्कृष्ट खेलाडीलाई नगद एक लाख ५० हजार रुपैयाँ पाउनेछ ।







