
झापा । विभागीय टोली एपीएफ फुटबल क्लब काठमाडौं एलभिडी झापा महिला गोल्डकपको फाइनलमा प्रवेश गरेको छ ।
आज (शनिबार) झापाको शिवसताक्षीस्थित दुधे रंगशालामा भएको खेलमा त्रिभुवन आर्मी फुबटल क्लब काठमाडौंलाई टाईब्रेकरमा ४–२ गोल अन्तरले पराजित गर्दै एपिएफ उपाधि नजिक पुगेको हो ।
उपाधिका लागि सोमबार विभागीय दुई टोली एपीएफ फुटबल क्लब र नेपाल पुलिस क्लब भिड्ने भएका छन् ।

पहिलो हाफ गोलरहित बराबरी सकिएको थियो । तर, खेलको ६३औं मिनेटमा चन्द्रा भण्डारीको गोलमा आर्मीले अग्रता लिन सफल भयो ।
त्यसपछि खेलको इन्ज्युरी समयमा कप्तान अनिता बस्नेतले फ्रिकिकमार्फत गोल गर्दै एपिएफलाई १–१ को बराबरीमा फर्कायो ।
निर्धारित समय बराबरीमा सकिएपछि खेलको निर्णय टाइब्रेकरमा धकेलियो । टाइब्रेकरमा एपिएफका सविता रानामगर, अनिता बस्नेत, निशा थोकर र रश्मिकुमारी घिसिङले गोल गरे । रेनुका हमालको प्रहार आर्मीकी गोलकिपर कोपिला खड्काले रोकिन् ।
आर्मीका विमला बिक र अनिता लम्जेलले मात्र गोल गर्न सके । विमला चौधरी र सुस्मिता चौधरीका प्रहार एपीएफकी अञ्जना रानामगरले बचाइन् ।
खेलको प्लेयर अफ द म्याच एपिएफकी अञ्जना राना मगर घोषित भइन् । उनले नगद १५ हजार रुपैयाँ र ट्रफी प्राप्त गरिन् ।
प्रतियोगिताको विजेता टिमले नगद १० लाख १० हजार रुपैयाँ पाउनेछ । त्यस्तै, उपविजेताले नगद पाँच लाख रुपैयाँ पाउनेछ । सर्वोत्कृष्ट खेलाडीलाई नगद एक लाख ५० हजार रुपैयाँ पाउनेछ ।







