
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा साबिक उपविजेता सुदूरपश्चिम रोयल्सले लगातार दोस्रो जित हासिल गरेको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शुक्रबार भएको खेलमा पोखरा एभेन्जर्सलाई १८ रनले पराजित गर्दै सुदूरपश्चिमले लगातार दोस्रो जित हासिल गरेको हो ।
यो सँगै २ खेलबाट ४ अंकका साथ सुदूरपश्चिम शीर्ष स्थानमा उक्लिएको हो । पोखराको भने यो लगातार दोस्रो हार हो ।
सुदूरपश्चिमले दिएको १९४ रनको लक्ष्य पछ्याएको पोखराले ८ विकेट गुमाउँदै १७५ रन मात्रै बनाउन सक्यो ।
पोखराका लागि कुशल भुर्तेलले सर्वाधिक ५३ रन बनाए । यस्तै जिम्मी निसमले ४७ रन र डान डाउथवेटले ३७ रन जोडे ।
सुदूरपश्चिमको जितमा हर्मित सिंहले सर्वाधिक २ विकेट लिए । यस्तै हेमन्त धामी, अविनाश बोहरा, दीपेन्द्रसिंह ऐरी, नरेन साउद र स्कट कुगेलेइनले समान १ विकेट लिए ।
यसअघि टस हारेर पहिला ब्याटिङ थालेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १९३ रन बनाएको थियो ।
सुदूरपश्चिमका लागि जोश ब्राउनले सर्वाधिक ६८ रन बनाए । यस्तै विनोद भण्डारीले ४३ रन, क्रिस लिनले ३१ रन र कप्तान दीपेन्द्रसिंह ऐरीले १५ रन जोडे ।
पोखराका लागि जिम्मीले सर्वाधिक ३ विकेट लिए । यस्तै आकाश चन्द र विपिन खत्रीले समान २ विकेट लिए ।







