एनपीएल : कर्णाली याक्सको पहिलो जित - Mangsebung News
  • आइतबार, मङि्सर ०८, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

एनपीएल : कर्णाली याक्सको पहिलो जित

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा कर्णाली याक्सले पहिलो जित हासिल गरेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शनिबार भएको खेलमा कर्णालीले लुम्बिनी लायन्सबिरुद्ध ९ विकेटको जित हासिल गरेको हो । जितसँगै कर्णालीले दुई अंक जोडेको छ ।

लुम्बिनीले प्रस्तुत गरेको १५७ रनको लक्ष्य पछ्याएको कर्णालीले १२.२ अ‍ेभरमा १ विकेट गुमाउँदै १६१ रन बनायो ।

कर्णालीलाई जित दिलाउन मार्क वार्टले सबैभन्दा कम बलमै शतक प्रहार गरे । ४४ बल खेलेका वार्टले ६ चौका र १२ छक्काको मद्दतमा सर्वाधिक ११४ रन बनाए । उनी सबैभन्दा कम बलमा शतक प्रहार गर्ने पहिलो खेलाडी बनेका छन् । उनले ४१ बलमा शतक प्रहार गरेका हुन् । यो दोस्रो संस्करणको पहिलो शतकसमेत हो ।

यसैगरी प्रियांक पन्चाल १२ रनमा आउट हुँदा विलियम बोसिस्टो २९ रनमा अविजित रहे । लुम्बिनीका शेर मल्लले १ विकेट लिए ।

यसअघि टस हारेर पहिला ब्याटिङ थालेको लुम्बिनीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १५६ रन बनाएको थियो ।

लुम्बिनीका कप्तान रोहितकुमार पौडेलले सर्वाधिक ४९ रन बनाए । यस्तै रुबेन ट्रम्पेलमनले २९ रन र जेजे स्मिथले २३ रन बनाउँदा डार्सी सर्ट १९ रनमा आउट भए ।

कर्णालीको जितमा नन्दन यादवले सर्वाधिक २ विकेट लिए । यस्तै सोमपाल कामी, गुल्सनकुमार झा, मार्क वार्ट, विपिन शर्मा र युवराज खत्रीले समान एक विकेट लिए ।

सम्बन्धित खवर