
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा विराटनगर किंग्सले लगातार दोस्रो जित हासिल गरेको छ ।
कीर्तिपुरस्थित टीयू मैदानमा शनिबार भएको खेलमा काठमान्डु गोर्खाजलाई ५ विकेटले पराजित गर्दै विराटगरले लगातार दोस्रो जित हासिल गरेको हो । काठमान्डुको यो लगातार दोस्रो हार हो ।
काठमान्डुले प्रस्तुत गरेको १३५ रनको लक्ष्य विराटनगरले १७.१ ओभरमा ५ विकेट गुमाएर पूरा गरेको हो ।
विराटनगरको जितमा ओपनर जर्ज मुन्सेले सर्वाधिक ३६ रन बनाए । यस्तै मार्टिन गप्टिलले २५ रन, नरेन भट्टले २४ रन, अर्का ओपनर लोकेश बमले १४ र बसिर अहमदले १९ रन जोड्दा सन्दीप लामिछानेले अविजित ९ रन जोडे ।
काठमान्डुका शाहब आलमले सर्वाधिक २ विकेट लिए । यस्तै कप्तान करण केसी, जेरार्ड एरासमस र सन्तोष यादवले समान एक विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको काठमान्डुले पूरै २० ओभर खेल्दा ६ विकेट गुमाएर १३४ रन बनाएको थियो ।
काठमान्डुका लागि आदिल आलमलले सर्वाधिक ४८ रन बनाए । यस्तै सन्तोष यादवले २६ रन, ओपनर बेन चाल्र्सवर्थले ३२ रन र जेरार्ड एरासमसले १० रन जोडे ।
विराटनगरका मर्चेन्ट डे लाङले सर्वाधिक २ विकेट लिए । यस्तै कप्तान सन्दीप लामिछाने, शुभम रन्जाने र सूर्य तामाङले समान एक विकेट लिए ।







