आत्मानन्द गोल्ड कप : सिरिजङगा मोरङ सेमिफाइनलमा प्रवेश - Mangsebung News
  • आइतबार, मङि्सर ०८, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

आत्मानन्द गोल्ड कप : सिरिजङगा मोरङ सेमिफाइनलमा प्रवेश

माङसेबुङ । सिरिजङगा स्पोर्टिङ क्लब मोरङ इलामको धार्मिक पर्यटकिय क्षेत्र माङसेबुङमा सुरु भएको १८औं संस्करणको आत्मानन्द गोल्ड कप २०८२ अन्तरराष्ट्रिय फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

माङसेबुङ गाउँपालिका–५ स्थित आत्मानन्द रंगशालामा आज आइतबार भएको उद्घाटन खेलमा माङसेबुङ गाउँपालिका इलामलाई ३–० गोल अन्तरले पराजित गर्दै सिरिजङगा मोरङ सेमिफाइनलमा प्रवेश गरेको हो ।

सिरिजङगा मोरङको जितमा सञ्जय धिमालले ह्याट्रिक गरे । माङसेबुङका ओशन राईले एक गोल फर्काए । खेलको मेन अफ दी म्याच सिरिजङगा मोरङका सञ्जय धिमाल घोषित भए । उनले नगद पुरस्कार प्राप्त गरे ।

प्रतियोगिताको उद्घाटन माङसेबुङ गाउँपालिकाका अध्यक्ष हेमन्त राईले गरेका थिए।

यसैगरी भोलि सोमबार तिजोक यूवा क्लब पाँचथर र लेटाङ फुटबल क्लब मोरङविच प्रतिस्पर्धा हुने आयोजक आत्मपवित्र खेलकुद समितिका अध्यक्ष मनप्रसाद आङबुहाङले जानकारी दिए ।

अध्यक्ष आङबुहाङका अनुसार प्रतियोगितामा आयोजक युथ अफ माङसेबुङ, माङसेबुङ गाउँपालिका इलाम, तिजोक यूवा क्लब पाँचथर, दुधे यूथ क्लब झापा, लेटाङ फुटबल क्लब मोरङ, सिरिजंगा स्पोर्टिङ क्लब मोरङ, दमक भाङबारी स्पोर्टिङ क्लब झापा र भारतबाट कञ्चनजंघा फुटबल क्लब सिलगुडी पाहुना टोलीको रुपमा सहभागी रहेको छ ।

विश्व शान्ति र मानव एकताका निम्ति फुटबल भन्ने नाराका साथ मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द ‘सेइङ’ ७२औं जन्मोत्सव तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङदेन नुमाङगेन्ना सेवा महासमारोह २०८२ को अवसरमा आयोजित प्रतियोगिताको फाइनल खेल मंसिर १७ गते हुनेछ ।

आत्मापवित्र खेलकुद समिति र मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द ‘सेइङ’ ७२औं जन्मोत्सव तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङदेन नुमाङगेन्ना सेवा महासमारोह २०८२ को संयुक्त संयोजन र युथ अफ माङसेबुङको सह–संयोजन रहेको प्रतियोगिताको विजेताले ट्रफीसहित नगद ३ लाख ११ हजार १ सय ७२, मेडल र प्रमाणपत्र पाउने छन् भने उपविजेताले ट्रफीसहित नगद २ लाख ११ हजार १ सय ७२, मेडल र प्रमाणपत्र पाउने छन् ।

यस्तै सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोल रक्षक, उत्कृष्ट खेलाडी, उत्कृष्ट डिफेण्डर, उत्कृष्ट स्ट्राइगर, उत्कृष्ट मिडफिल्डर, उदयमान खेलाडी, अनुशासित खेलाडी र उत्कृष्ट प्रशिक्षकलाई नगद ८ हजार १ सय ७२ का साथ ट्रफी र मेडल प्रदान गरिने छ ।

प्रतियोगितामा अत्तिरिक्त खेलतर्फ पुरुष भलिबल, म्याराथन, पक्लुङ (छेलो हान्ने), लठ्ठा तान्ने, धनुकाँड हान्ने, हाँडी फुटाउने, तेक्वान्दो लगायतका खेलहरु समेत संचालन हुनेछ ।

सम्बन्धित खवर