आत्मानन्द गोल्ड कप : तिजोकलाई टाईब्रेकरमा हराउँदै लेटाङ मोरङ अन्तिम चारमा - Mangsebung News
  • सोमबार, मङि्सर ०९, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

आत्मानन्द गोल्ड कप : तिजोकलाई टाईब्रेकरमा हराउँदै लेटाङ मोरङ अन्तिम चारमा

माङसेबुङ । लेटाङ फुटबल क्लब मोरङ इलामको धार्मिक पर्यटकिय क्षेत्र माङसेबुङमा जारि १८औं संस्करणको आत्मानन्द गोल्ड कप २०८२ अन्तरराष्ट्रिय फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

माङसेबुङ गाउँपालिका–५ स्थित आत्मानन्द रंगशालामा आज सोमबार भएको खेलमा तिजोक यूवा क्लब पाँचथरलाई टाईब्रेकरमा ५–४ गोल अन्तरले पराजित गर्दै लेटाङ मोरङले अन्तिम चारमा स्थान पक्का गरेको हो ।

खेलको निधारित समयमा दुबै टिमले गोल रहित बरावरी खेलेपछि नतिजा टाईब्रेकरमा धकेलिएको थियो । टाईब्रेकरमा गोलकिपर समिर क्षेत्री नायक बन्दा लेटाङ मोरङले बाजी मार्यो । खेलको मेन अफ दी म्याच लेटाङ मोरङका गोलकिपर समिर क्षेत्री घोषित भए ।

यसैगरी भोलि मंगलबार पाहुना टोली कञ्चनजंघा फुटबल क्लब सिलगुडी, भारत र दुधे यूथ क्लब झापाविच प्रतिस्पर्धा हुने आयोजक आत्मपवित्र खेलकुद समितिका अध्यक्ष मनप्रसाद आङबुहाङले जानकारी दिए ।

विश्व शान्ति र मानव एकताका निम्ति फुटबल भन्ने नाराका साथ मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द ‘सेइङ’ ७२औं जन्मोत्सव तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङदेन नुमाङगेन्ना सेवा महासमारोह २०८२ को अवसरमा आयोजित प्रतियोगिताको फाइनल खेल मंसिर १७ गते हुनेछ ।

आत्मापवित्र खेलकुद समिति र मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द ‘सेइङ’ ७२औं जन्मोत्सव तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङदेन नुमाङगेन्ना सेवा महासमारोह २०८२ को संयुक्त संयोजन र युथ अफ माङसेबुङको सह–संयोजन रहेको प्रतियोगिताको विजेताले ट्रफीसहित नगद ३ लाख ११ हजार १ सय ७२, मेडल र प्रमाणपत्र पाउने छन् भने उपविजेताले ट्रफीसहित नगद २ लाख ११ हजार १ सय ७२, मेडल र प्रमाणपत्र पाउने छन् ।

यस्तै सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोल रक्षक, उत्कृष्ट खेलाडी, उत्कृष्ट डिफेण्डर, उत्कृष्ट स्ट्राइगर, उत्कृष्ट मिडफिल्डर, उदयमान खेलाडी, अनुशासित खेलाडी र उत्कृष्ट प्रशिक्षकलाई नगद ८ हजार १ सय ७२ का साथ ट्रफी र मेडल प्रदान गरिने छ ।

प्रतियोगितामा अत्तिरिक्त खेलतर्फ पुरुष भलिबल, म्याराथन, पक्लुङ (छेलो हान्ने), लठ्ठा तान्ने, धनुकाँड हान्ने, हाँडी फुटाउने, तेक्वान्दो लगायतका खेलहरु समेत संचालन हुनेछ ।

सम्बन्धित खवर