
माङसेबुङ । दुधे यूथ क्लब झापा इलामको धार्मिक पर्यटकिय क्षेत्र माङसेबुङमा जारीे १८औं संस्करणको आत्मानन्द गोल्ड कप २०८२ अन्तरराष्ट्रिय फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
माङसेबुङ गाउँपालिका–५ स्थित आत्मानन्द रंगशालामा आज मंगलबार भएको खेलमा पाहुना टोली कञ्चनजंघा फुटबल क्लब सिलगुडी, भारतबिरुद्ध ७–२ गोलको सानदार जित निकाल्दै दुधे झापाले अन्तिम चारमा स्थान पक्का गरेको हो ।
दुधे झापाको जितमा निमा तामाङ र प्रदीप बुढाथोकीले ह्याट्रिक गरे । सञ्जोग मगरले एक गोल गरे । यस्तै सिलगुडी भारतका लागि पुजन सुब्बा र अभिषेक ठकुरीले एक–एक गोल फर्काए । खेलको मेन अफ दी म्याच दुधे झापाका निमा तामाङ घोषित भए ।

खेलको १३औं मिनेटमा प्रदिप बुढाथोकीले गोल गर्दै दुधेलाई सुरुवाती अग्रता दिलाए । त्यसपछि खेलको २३औं मिनेटमा प्रदिपले व्यक्तिगत दोस्रो गोल गर्दै टिमको अग्रता दोब्बर बनाए । खेलको २७औं मिनेटमा निमा तामाङले गोल गर्दै दुधेलाई ३–० को अग्रातामा पुर्याए । यस्तै खेलको ३४औं मिनेटमा निमाले व्यक्तिगत दोस्रो गोल गर्दै टिमलाई ४–० मा पुर्याए ।
पहिलो हाफमा ४–० ले पछि परेको पाहुना टोली सिलगुडीले दोस्रो हाफमा भने सुधारिएको खेल पस्केका थिए । यद्दपी दुधेको आक्रमक टोलीबिरुद्ध सिलगुडीको रक्षा पंती कम्जोर सावित भए । खेलको ५५ओं मिनेटमा दुधेका निमा तामाङले ह्याट्रिक पुरा गरे । त्यतिबेला ५–० को अग्रता बनाएको झापाका लागि खेलको ५९औं मिनेटमा प्रदीप बुढाथोकीले ह्याट्रिक पुरा गरे ।
पाहुना टोली ६–० ले पछि परेको अवस्थामा खेलको ६१औं मिनेटमा पुजन सुब्बाले गोल गर्दै सिलगुडीलाई ६–१ मा फर्काएका थिए । यस्तै खेलको ६४औं मिनेटमा दुधेका संजोग मगरले गोल गर्दै टिमलाई ७–१ को अवस्थामा पुर्याए । खेलको अन्त्यतिर ७६औं मिनेटमा सिलगुडीका अभिषेक ठकुरीले गो गर्दै खेल ७–२ को अवस्थामा फर्काए पनि हार भने टार्न सकेन ।

प्रतियोगिता अन्तरगत भोलि बुधबार आयोजक युथ अफ माङसेबुङ दमक भाङबारी स्पोर्टिङ क्लब झापाविच प्रतिस्पर्धा हुनेछ ।
विश्व शान्ति र मानव एकताका निम्ति फुटबल भन्ने नाराका साथ मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द ‘सेइङ’ ७२औं जन्मोत्सव तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङदेन नुमाङगेन्ना सेवा महासमारोह २०८२ को अवसरमा आयोजित प्रतियोगिताको फाइनल खेल मंसिर १७ गते हुनेछ ।
आत्मापवित्र खेलकुद समिति र मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द ‘सेइङ’ ७२औं जन्मोत्सव तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङदेन नुमाङगेन्ना सेवा महासमारोह २०८२ को संयुक्त संयोजन र युथ अफ माङसेबुङको सह–संयोजन रहेको प्रतियोगिताको विजेताले ट्रफीसहित नगद ३ लाख ११ हजार १ सय ७२, मेडल र प्रमाणपत्र पाउने छन् भने उपविजेताले ट्रफीसहित नगद २ लाख ११ हजार १ सय ७२, मेडल र प्रमाणपत्र पाउने छन् ।








