आत्मानन्द गोल्ड कप : आयोजकलाई हराउँदै दमक भाङबारी अन्तिम चारमा - Mangsebung News
  • सोमबार, पुष २८, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

आत्मानन्द गोल्ड कप : आयोजकलाई हराउँदै दमक भाङबारी अन्तिम चारमा

माङसेबुङ । दमक भाङबारी स्पोर्टिङ क्लब झापा इलामको धार्मिक पर्यटकिय क्षेत्र माङसेबुङमा जारीे १८औं संस्करणको आत्मानन्द गोल्ड कप २०८२ अन्तरराष्ट्रिय फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

माङसेबुङ गाउँपालिका–५ स्थित आत्मानन्द रंगशालामा आज बुधबार भएको खेलमा आयोजक युथ अफ माङसेबुङलाई ४–३ गोल अन्तरले पराजित गर्दै राष्ट्रिय खेलाडी नवयुग श्रेष्ठ र देवेन्द्र तामाङको साथ रहेको दमक भाङबारीले अन्तिम चारमा स्थान पक्का गरेको हो । यो सँगै आत्मानन्द गोल्डकपको सेमिफाइनल समिकरण पुरा भएको छ ।

दमक भाङबारी झापाको जितमा आशिष लावती, निश्चल वस्नेत, विवेक पौडेल र नवयुग श्रेष्ठले गोल गरेका थिए । यता आयोजकका लागि भने नाम्साङ लावती, विवेकहाङ लिम्बू र गोली लिम्बूले गोल गरे । खेलको मेन अफ दी म्याच दमक झापाका विवेक पौडेल घोषित भए ।

खेलको चौंथो मिनेटमा आशिष लावतीको गोलमा दमक भाङबारीले सुरुवाती अग्रता बनाएको थियो । त्यसपछि खेलको नवौं मिनेटमा निश्चल वस्नेतले गोल गर्दै दमकको अग्रता दोब्बर बनाएको थियो । खेलको ३०औं मिनेटमा प्रदिप पौडेलले गोल गर्दै दमकलाई ३–० को अग्रातामा पुर्याए ।

पहिलो हाफमा ३–० ले पछि परेको आयोजक टिमले दोस्रो हाफमा भने सुधारिएको खेल पस्केका थिए । आक्रमक भएर मैदान प्रवेश गरेको आयोजकले खेलको ३९औं मिनेटमा नाम्साङ लावतीले गोल गर्दै आयोजकलाई ३–१ को अवस्थामा फर्काएका थिए । खेलको ४३औं मिनेटमा राष्ट्रिय खेलाडी समेत रहेको नवयुग श्रेष्ठले गोल गर्दै दमकलाई ४–१ को अग्रता दिलाए ।

त्यसपछि थप आक्रमक भएको आयोजक माङसेबुङलाई खेलको ६३औं मिनेटमा विवेकहाङ लिम्बूले गोल गर्दै ४–२ को अवस्थामा फर्काएका थिए । यस्तै खेलको ७०औं मिनेटमा गोली लिम्बूले गोल गर्दै आयोजक माङसेबुङलाई ४–३ को अवस्थामा फर्काए पनि हार भने टार्न सकेन ।

प्रतियोगिताको सेमिफाइनल खेलहरु भने शबिार र आइतबार हुनेछ । शनिबार हुने पहिलो सेमिफाइनल खेलमा सिरिजंगा स्पोर्टिङ क्लब मोरङ र दुधे यूथ क्लब झापाविच प्रतिस्पर्धा हुनेछ । यस्तै आइतबार हुने दोस्रो सेमिफाइनल खेलमा लेटाङ फुटबल क्लब मोरङ र दमक भाङबारी स्पोर्टिङ क्लब झापाविच प्रतिस्पर्धा हुनेछ ।

विश्व शान्ति र मानव एकताका निम्ति फुटबल भन्ने नाराका साथ मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द ‘सेइङ’ ७२औं जन्मोत्सव तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङदेन नुमाङगेन्ना सेवा महासमारोह २०८२ को अवसरमा आयोजित प्रतियोगिताको फाइनल खेल मंसिर १७ गते हुनेछ ।

आत्मापवित्र खेलकुद समिति र मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द ‘सेइङ’ ७२औं जन्मोत्सव तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङदेन नुमाङगेन्ना सेवा महासमारोह २०८२ को संयुक्त संयोजन र युथ अफ माङसेबुङको सह–संयोजन रहेको प्रतियोगिताको विजेताले ट्रफीसहित नगद ३ लाख ११ हजार १ सय ७२, मेडल र प्रमाणपत्र पाउने छन् भने उपविजेताले ट्रफीसहित नगद २ लाख ११ हजार १ सय ७२, मेडल र प्रमाणपत्र पाउने छन् ।

सम्बन्धित खवर