आत्मानन्द गोल्ड कप : साविक विजेता दुधे झापालाई हराउँदै सिरिजंगा मोरङ फाइनलमा - Mangsebung News
  • मङ्गलबार, मङि्सर १७, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

आत्मानन्द गोल्ड कप : साविक विजेता दुधे झापालाई हराउँदै सिरिजंगा मोरङ फाइनलमा

माङसेबुङ । साविक विजेता दुधे युथ क्लब झापालाई हराउँदै सिरिजंगा स्पोर्टिङ क्लब मोरङ इलामको धार्मिक पर्यटकिय क्षेत्र माङसेबुङमा जारी १८औं संस्करणको आत्मानन्द गोल्ड कप २०८२ अन्तरराष्ट्रिय फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

माङसेबुङ गाउँपालिका ५, स्थित आत्मानन्द रंगशालामा आज शनिबार भएको पहिलो सेमिफाइनल खेलमा दुधे झापालाई २–१ गोल अन्तरले पराजित गर्दै सिरिजंगा मोरङ उपाधि नजिक पुगेको हो ।

सिरिजंगा मोरङको जितमा सञ्जय धिमाल र सौरभ सुब्बाले गोल गरे । यता दुधे भाफाका निमा लामाले एक गोल फर्काए । खेलको मेन अफ दी म्याच सिरिजंगा मोरङका सौरभ सुब्बा घोषित भए ।

खेलको १६ औं मिनेटमा निमा लामाको गोलमा पहिलो हाफमा दुधेले सुरुवाती अग्रता लिएको थियो । तर, सुरुवाती अग्रता जोगाउन नसक्दा साविक विजेता दुधेले सेमिफाइनलबाटै बाहिरीनु पर्यो ।

पहिलो हाफका १–० ले पछि परेको सिरिजंगा मोरङ दोस्रोहाफमा खेलमा फर्केको थियो । खेलको ४३औं मिनेटमा सञ्जय धिमालले गोल गर्दै सिरिजंगालाई बराबरीमा फर्काए । त्यसपछि खेलको ५२औं मिनेटमा सौरभ सुब्बाले गोल गर्दै सिरिजंगालाई २–१ ले जित दिलाए ।

प्रतियोगिता अन्तर्गत भोली आइतबार हुने दोस्रो सेमिफाइनल खेलमा लेटाङ फुटबल क्लब मोरङ र दमक भाङबारी स्पोर्टिङ क्लब झापाविच प्रतिस्पर्धा हुनेछ ।

विश्व शान्ति र मानव एकताका निम्ति फुटबल भन्ने नाराका साथ मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द ‘सेइङ’ ७२औं जन्मोत्सव तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङदेन नुमाङगेन्ना सेवा महासमारोह २०८२ को अवसरमा आयोजित प्रतियोगिताको फाइनल खेल मंसिर १७ गते हुनेछ ।

आत्मापवित्र खेलकुद समिति र मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द ‘सेइङ’ ७२औं जन्मोत्सव तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङदेन नुमाङगेन्ना सेवा महासमारोह २०८२ को संयुक्त संयोजन र युथ अफ माङसेबुङको सह–संयोजन रहेको प्रतियोगिताको विजेताले ट्रफीसहित नगद ३ लाख ११ हजार १ सय ७२, मेडल र प्रमाणपत्र पाउने छन् भने उपविजेताले ट्रफीसहित नगद २ लाख ११ हजार १ सय ७२, मेडल र प्रमाणपत्र पाउने छन् ।

सम्बन्धित खवर