
माङसेबुङ । इलामको माङसेबुङ गाउँपालिका वडा नं. ५ को कार्यालयमा ‘किरात लिम्बू भाषा’लाई कामकाजी भाषाको रूपमा लागू गरेको आठौं वार्षिक उत्सव मनाइएको छ ।
शनिबार आठौं वर्ष प्रवेश गरेको उअवसर पारेर वडा नं. ५ को कार्यालयमा एक विशेष कार्यक्रम आयोजना गरि आठौं वार्षिक उत्सव मनाइएको हो ।
कार्यक्रममा किरात चोत्लुङ मुहिङगुम अङसीमाङगेन्ना सेवा समितिका अध्यक्ष केहेरसिं योङहाङ‚ समितिका उपाध्यक्ष होम लिङ्देन‚ किरात धर्मगुरुका कानुनी सल्लाहकार एनएस फागो‚ स्थानीय नन्दकुमार नेम्बाङ र त्यस वडाका लिम्बू भाषाका पहिलो कर्मचारी सुनिल सेर्माले शुभकामना मन्तब्य राखेका थिए ।

यस्तै‚ बेलुकी वडा नं. ५ को १३ वटै टोलका स्थानीयले दीप प्रज्वलन गरी लिम्बू भाषालाई सरकारी कामकाजी भाषाको रुपमा प्रयोग गरिएको दिनलाई उत्सवको रुपमा मनाएका छन् ।
यस वडामा लिम्बू भाषालाई सरकारी कामकाजी भाषाको रुपमा २०७५ मंसिर १३ देखि लागू गरिएको हो । माङसेबुङ गाउँपालिका लिम्बू भाषालाई सरकारी कामकाजी भाषाका रूपमा मान्यता दिने नेपालकै पहिलो पालिका हो । उक्त समयमा गाउँपालिकाका अध्यक्ष डिकेन्द्र इधिङ्गो र वडाध्यक्ष नरेन्द्र राई थिए । राई अहिले पनि वडाध्यक्ष छन् ।
गाउँपालिकाले नेपालको संविधान र स्थानीय सरकार सञ्चालन ऐन २०७४ ले प्रत्यायोजन अधिकारलाई प्रयोग गरी ‘लिम्बू भाषा’लाई सरकारी कामकाजी भाषाका रूपमा लागू गरिएको हो । यसै वर्षदेखि गाउँपालिका कार्यालयमा पनि लिम्बू भाषाका सहजकर्ता कर्मचारी नियुक्त गरिएको अध्यक्ष हेमन्त राईले जानकारी दिए ।

कार्यक्रम माङसेबुङ गउाँपालिकाका ५, का वडाध्यक्ष नरेन्द्र कुमार राईको अध्यक्षतामा सम्पन्न भएको थियो ।


















