
माङसेबुङ । लेटाङ फुटबल क्लब मोरङ इलामको धार्मिक पर्यटकिय क्षेत्र माङसेबुङमा जारी १८औं संस्करणको आत्मानन्द गोल्ड कप २०८२ अन्तरराष्ट्रिय फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
इलामको माङसेबुङ गाउँपालिका–५ स्थित आत्मानन्द रंगशालामा आइतबार भएको दोस्रो सेमिफाइनल खेलमा दमक भाङबारी स्पोर्टिङ क्लब झापालाई २–१ गोल अन्तरले पराजित लेटाङ मोरङले फाइनलको यात्रा तय गरेको हो ।
यो सँगै लेटाङ मोरङले उपाधि भिडन्तका लागि सिरिजंगा स्पोर्टिङ क्लब मोरङसँगको भेट पक्का गरेको छ । फाइनल खेल बुधबार(मंसिर १७) हुनेछ ।

लेटाङ मोरङको जितमा निरज परियारले दुई गोल गरेका थिए । यता दमक भाङबारीका लागि अफ्रिकन खेलाडी रिचार्ड विन्शनले एक गोल फर्काएका थिए । खेलको मेन अफ दी म्याच लेटाङका निरज परियार घोषित भए ।
खेलको २४औं मिनेटमा निरज परियारको गोलमा पहिलो हाफमा लेटाङले सुरुवाती अग्रता लिएको थियो । पहिलो हाफका १–० ले पछि परेको दमकले दोस्रो हाफमा खेलको ४९औं मिनेटमा रिचार्ड विन्शनले गोल गर्दै दमकलाई बराबरीमा फर्काए । तर, खेलको ६३औं मिनेटमा निरज परियारले व्यक्तिगत दोस्रो गोल गर्दै लेटाङलाई २–१ ले जित दिलाए ।
विश्व शान्ति र मानव एकताका निम्ति फुटबल भन्ने नाराका साथ मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द ‘सेइङ’ ७२औं जन्मोत्सव तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङदेन नुमाङगेन्ना सेवा महासमारोह २०८२ को अवसरमा आयोजना गरिएको हो ।

आत्मापवित्र खेलकुद समिति र मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द ‘सेइङ’ ७२औं जन्मोत्सव तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङदेन नुमाङगेन्ना सेवा महासमारोह २०८२ को संयुक्त संयोजन र युथ अफ माङसेबुङको सह–संयोजन रहेको प्रतियोगिताको विजेताले ट्रफीसहित नगद ३ लाख ११ हजार १ सय ७२, मेडल र प्रमाणपत्र पाउने छन् भने उपविजेताले ट्रफीसहित नगद २ लाख ११ हजार १ सय ७२, मेडल र प्रमाणपत्र पाउने छन् ।








