
माङसेबुङ । इलामको धार्मिक पर्यटकिय क्षेत्र माङसेबुङमा जारी १८औं संस्करणको आत्मानन्द गोल्ड कप २०८२ अन्तरराष्ट्रिय फुटबल प्रतियोगिताको उपाधिका लागि सिरिजंगा स्पोर्टिङ क्लब मोरङ र लेटाङ फुटबल क्लब मोरङविच प्रतिस्पर्धा हुदैंछ ।
इलामको माङसेबुङ गाउँपालिका–५ स्थित आत्मानन्द रंगशालामा आज बुधबार हुने उपाधि भिडन्तमा सिरिजंगा र लेटाङ आमुने सामुने हुदैंछ । यो सँगै आत्मानन्द गोल्ड कपले नयाँ विजेता पाउने पक्का भएको छ ।
सिरिजंगा मोरङले साविक विजेता दुधे युथ क्लव झापालई २–१ गोल अन्तरले पराजित गर्दै फाइनलको यात्रा तय गरेको थियो । यस्तै लेटाङ मोरङले दमक भाङबारी स्पोर्टिङ क्लब झापालाई २–१ गोल अन्तरले पराजित सिरिजंगासँगको भेट पक्का गरेको हो ।
विश्व शान्ति र मानव एकताका निम्ति फुटबल भन्ने नाराका साथ मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द ‘सेइङ’ ७२औं जन्मोत्सव तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङदेन नुमाङगेन्ना सेवा महासमारोह २०८२ को अवसरमा आयोजना गरिएको हो ।
आत्मापवित्र खेलकुद समिति र मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द ‘सेइङ’ ७२औं जन्मोत्सव तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङदेन नुमाङगेन्ना सेवा महासमारोह २०८२ को संयुक्त संयोजन र युथ अफ माङसेबुङको सह–संयोजन रहेको प्रतियोगिताको विजेताले ट्रफीसहित नगद ३ लाख ११ हजार १ सय ७२, मेडल र प्रमाणपत्र पाउने छन् भने उपविजेताले ट्रफीसहित नगद २ लाख ११ हजार १ सय ७२, मेडल र प्रमाणपत्र पाउने छन् ।








