
माङसेबुङ । नेपाल प्रिमियर लिग (एनपीएल)सिजन २ को उपाधि लुम्बिनी लायन्सले चुमेको छ ।
कीर्तिपुरस्थित टियु अन्तराष्ट्रिय क्रिकेट मैदानमा शनिबार भएको फाइनल खेलमा साविक उपविजेता सुदुर पश्चिम रोयल्सलाई ६ विकेटले हराउँदै लुम्बिनीले उपाधि चुमेको छ हो ।
फाइनलमा सुदूरपश्चिमले दिएको ८६ रनको सामान्य लक्ष्य लुम्बिनीले ९ ओभरमै ४ विकेट गुमाएर पूरा गर्दै च्याम्पियन बनेको हो ।
लुम्बिनीलाई उपाधि जिताउन दिनेश अधिकारीले सर्वाधिक ४२ रनको योगदान गरे । यस्तै कप्तान रोहित पौडेलले १६ रन, डी’अर्सी जोन सर्टले १४ रन, निरोशन डिकवेल्लाले ११रन र दिलीप नाथले आजीवित १ रन बनाए ।
सुदुरपश्चिम रोयल्सका लागि हेमन्त धामीले २ तथा कप्तान दीपेन्द्र सिंह ऐरी र अभिनाश बोहोराले समान १ विकेट लिए ।
यसअघि कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको साविक उपविजेता सुदूरपश्चिम रोएल्सले १९.१ ओभरमा ८५ रनमै अलआउट भएको थियो ।
सुदूरपश्चिमका लागि ओपनिङ गरेका इशान पाण्डेले सर्वाधिक ३३ रन बनाए । यस्तै कप्तान दीपेन्द्र सिंह ऐरीले १३ रन, हर्मित सिंह र स्कट कुगेलेइनले समान १० रन जोडे ।
लुम्बिनीका लागि कप्तान रोहितले ह्याट्रिक विकेट लिँदा शेर मल्ल र ट्रम्पलम्यानले पनि समान ३ विकेट लिए ।







