आईसीसी टी–२० विश्वकपमा नेपालको १२ वर्षपछि जित - Mangsebung News
  • मङ्गलबार, फागुन १२, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

आईसीसी टी–२० विश्वकपमा नेपालको १२ वर्षपछि जित

माङसेबुङ । नेपालले आईसीसी टी–२० विश्वकपमा जित हासिल गरेको छ ।

मुम्बईस्थित वानखेडे स्टेडियममा मंगलबार भएको खेलमा नेपालले स्कटल्यान्डमाथि ७ विकेटको जित हासिल गरेको हो । यो जितसँगै नेपालले विश्वकपमा एक जितकासाथ सुखद् अन्त्य गरेको छ ।

स्कटल्यान्डले दिएको १७१ रनको लक्ष्य पछ्याएको नेपालले १९.२ ओभरमा ३ विकेट गुमाउँदै पुरा गर्यो ।

नेपालको यो १२ वर्षपछि विश्वकपमा पहिलो जित हो । नेपालले अन्तिमपल्ट सन् २०१४ को विश्वकपमा अफगानिस्तानबिरुद्ध ९ रनको जित हासिल गरेको थियो ।

नेपालको जितमा दीपेन्द्रसिंह ऐरीले ४ चौका र ३ छक्का सहित विस्फोटक अर्धशतक प्रहार गर्दै २३ बलमा अविजित ५० रन बनाए । यस्तै अन्तिमसम्म उनका साथमा रहेका गुल्सन झा १७ बलमा २४ रन बनाउँदै अविजित रहे ।

ओपनर कुशल भुर्तेलले ३५ बलमा ४३ रन, विकेटकिपर आसिफ शेखले २७ बलमा ३३ रन र कप्तान रोहित पौडेल १४ बलमा १६ रन बनाएर आउट भए ।

स्कटल्यान्डका माइकल लिस्कले ४ ओभरमा ३० रन खर्चेर ३ विकेट लिए पनि त्यो पर्याप्त हुन सकेन । अन्य बलरहरू प्रभावकारी हुन सकेनन् ।

यसअघि नेपालले टस जितेर बलिङ रोजेपछि पहिले ब्याटिङ गरेको स्कटल्याण्डले ओपनर माइकल जोन्सको अर्धशतकमा ७ विकेट गुमाएर १७० रन बनाएको थियो ।

स्कटल्यान्डका लागि ओपनर माइकल जोन्सले सर्वाधिक ७१ रन बनाए । यस्तै जर्ज मुन्सेले २७ र ब्राण्डन म्याकमुलेनले २५ रन जोडे ।

नेपालका लागि सोमपाल कामीले सर्वाधिक ३ विकेट लिए । यस्तै नन्दन यादवले २ तथा कप्तान रोहित पौडेल र कुशल भुर्तेलले १–१ विकेट लिए ।

सम्बन्धित खवर