
माङसेबुङ । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत सोमबार भएको खेलमा नेपालले शीर्ष स्थानको स्कटल्यान्डबिरुद्ध ६ विकेटको सानदार जित हासिल गरेको हो । जारी शृंखलामा दोस्रो जित हात पारेको नेपाल लिग २ को अंकतालिकामा पाँचौ स्थानमा उक्लिएको छ ।
कीर्तिपुरस्थित टीयू मैदानमा टस जितेर ब्याटिङ थालेको स्कटल्यान्डले दिएको १९५ रनको लक्ष्य नेपालले ३८ ओभर १ बलमा ४ विकेट गुमाएर १९९ रन बनाउँदै पूरा गर्यो ।
नेपालको जितमा कप्तान रोहित पौडेलले ५ चौका र २ छक्का प्रहार गर्दै सर्वाधिक ७४ रन बनाएर नटआउट रहे । यस्तै इशान पाण्डेले ५५ रन, कुशल भुर्तेलले २८ रन, आसिफ २९ रन र उपकप्तान दीपेन्द्रसिंह ऐरी २ रनमा आउट हुँदा आरिफ शेख ८ रनमा अविजित रहे ।
स्कटल्याण्डका मार्क वाटले २ र ब्रेन्डन म्याकमुलेनले एक विकेट लिए ।

यसअघि स्कटल्याण्ड ३९.१ ओभरमा सबै विकेट गुमाएर १९४ रन बनाएको थियो । स्कटल्याण्डका लागि ब्रेन्डन म्याकमुलेनले ६ छक्का र ६ चौका प्रहार गर्दै सर्वाधिक ७३ रन बनाए । यस्तै माइकल इंग्लिसले ५१ रन, जर्ज मुन्सेले २१ रन, फिन्ले म्याकक्रेथले ६ रन, कप्तान रिची बेरिङटनले १२ रन, माथ्यु क्रसले १ रन, मार्क वाटले २० रन, माइकल लिस्कले १ रन र ओलीइ जोन्सले २ रन बनाउँदा ओलीभर डेभिडसन ० रनमा आउट भए भने ब्राड्ली करी ० रनमा अविजित रहे ।
नेपालका लागि स्पिनर ललित राजवंशीले ४ विकेट लिए । यस्तै सन्दीप लामिछानेले ३ तथा नन्दन यादव, सोमपाल कामी र दीपेन्द्रसिंह ऐरी समान एकएक विकेट लिए ।
सन्दीपले ओडिआईमा सबैभन्दा छिटो १५० विकेटले मिचेल स्टार्कको कीर्तिमान तोड्दै नयाँ विश्व कीर्तिमान बनाए । उनले ७३ खेलमा उक्त उपलब्धी हासिल गरे । सात वर्षअघि स्टार्कले ७७ खेलमा उक्त कीर्तिमान बनाएका थिए ।
स्कटल्यान्ड विरुद्धको खेलअघि सातौं स्थानमा रहेको नेपाल यो जितपछि दुई स्थान फड्को मार्दै पाँचौं स्थानमा उक्लिएको हो । २७ खेल खेलेको नेपालले २२ जोडेको छ ।







