
माङसेबुङ । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत घरेलु सिरिजको अन्तिम खेलमा नेपालले शीर्ष स्थानको अमेरिकामाथि शानदार जित हासिल गरेको छ ।
कीर्तिपुरस्थित टीयू मैदानमा शुक्रबार सम्पन्न खेलमा नेपालले अमेरिकामाथि १२२ रनको जित शानदार निकालेको हो । योसँगै पाँचौं स्थानमा रहेको नेपालले २४ अंक पु¥याएको छ ।
यस अघि टस हारेर पहिला ब्याटिङ थालेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर ३१७ रन बनायो । यो नेपालले ओडीआईमा बनाएको दोस्रो ठूलो स्कोर हो ।
नेपालका लागि इशान पाण्डे र उपकप्तान दीपेन्द्रसिंह ऐरीले अर्धशतक बनाए । इशानले ८ चौका र एक छक्काको मद्दतमा ८४ रनको उत्कृष्ट ब्याटिङ गरे । यस्तै उपकप्तान दीपेन्द्रसिंहले समान ४ चौका र छक्काको मद्दतमा ५९ रन बनाए ।
यसैगरी कप्तान रोहित पौडेले ४६ रन, आसिफ शेखले ४३ रन र कुशल भुर्तेलले २९ रन, गुल्सन झाले १५ रन, नन्दन यादवले एक रन र सोमपाल कामीले ५ रन बनाएर आउट हुँदा आरिफ शेख १७ रनमा अविजित रहे ।
नेपालले दिएको ३१८ रनको लक्ष्य पछ्याएको अमेरिकाले ४१.२ ओभरमा सबै विकेट गुमाउँदै १९५ रन मात्र बनाउन सक्यो ।
अमेरिकाका लागि सञ्जय कृष्णमुर्तीले ४ चौका र ४ छक्का प्रहार गर्दै सर्वाधिक ५६ रन बनाए । यस्तै नोस्थुश केन्जिगेले २९ रन, शायन जहाँगीरले २७ रन, शेहान जयसूर्याले २६ रन र सैतेजा मुकामल्लले २२ रन बनाए ।
नेपालका सन्दीप लामिछानेले सर्वाधिक ३ विकेट लिए । यस्तै ललितनारायण राजवंशी, दीपेन्द्रसिंह ऐरी र गुल्सनकुमार झाले समान २ विकेट लिए ।







