आदिवासी जनजाति चलचित्र महोत्सव जेठ १७ गतेदेखि काठमाडौंमा - Mangsebung News
  • शुक्रबार, जेठ १५, २०८३
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

आदिवासी जनजाति चलचित्र महोत्सव जेठ १७ गतेदेखि काठमाडौंमा


काठमाडौं । आदिवासी जनजाति चलचित्र महासंघले आगामी जेठ १७ गतेदेखि तीन दिने ‘छैटौँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव २०८३’ आयोजना गर्ने भएको छ ।

सूचना तथा सञ्चार मन्त्रालय, चलचित्र विकास बोर्ड र आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानसँगको सहकार्यमा चलचित्र विकास बोर्डको हलमा हुने महोत्सवमा लिम्बु, नेवारी, गुरुङ, तामाङ, मगर, भुजेल, माझी तथा राजवङ्शी समुदायका कथानक, लघु, वृत्तचित्र र एआई जेनेरेटेड फिल्म प्रदर्शन गरिने महोत्सव आयोजक समिति निर्देशक सागर केरुङले बताए ।

‘आदिवासी चलचित्रलाई कला वा मनोरञ्जनका रूपमा मात्र होइन । सभ्यता, अस्तित्व र सांस्कृतिक सार्वभौमिकतासँग जोडेर हेरिनुपर्छ’ उनले भने, ‘छैटौँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव २०८३ मा आदिवासी जनजातिको भाषा बोल्छ, इतिहास बोल्छ, भूमि बोल्छ, पूर्वजहरुको स्मृति बोल्छ र सिङ्गो आदिवासी जनजाति समुदायको जीवित आत्मा बोल्छ । महोत्सवले नेपाललाई विश्व आदिवासी चलचित्रको एक सशक्त केन्द्रका रुपमा स्थापित गर्छ ।’

महोत्सवमा कथानकतर्फ दिनेश लिङ्देन निर्देशित रित, अमृतमान महर्जन निर्देशित स्वयनगु, जनक गुरुङ निर्देशित ङोल्स्यो रामरानी, निमा लामा तामाङ निर्देशित ह्याङ तामाङ र अशोक आलेमगर निर्देशित दिलसरा प्रदर्शन गरिने जनाइएको छ ।

लघु फिल्मतर्फ सागर केरुङ निर्देशित तङसिङ, हुतबहादुर तामाङ निर्देशित दुखला ग्यम, विपना तामाङ भुजेल निर्देशित निको पहिचान तथा विशाल रोकामगर निर्देशित लाहुरेनी प्रदर्शन हुने आयोजकले जनाएको छ ।

वृत्तचित्रतर्फ अनिल बुढामगर निर्देशित आग्रे, होमकुमारी माझी निर्देशित लदि पूजा तथा अरविन्द विश्वास निर्देशित एआई जेनेरेटेड वृत्तचित्र विराटनगरके प्राचीन राजवङ्शी प्रदर्शन गरिनेछ ।

महोत्सवले चलचित्रकर्मी, अनुसन्धानकर्ता, सांस्कृतिक अभियन्ताबीच नयाँ संवाद, सहकार्य र वैकल्पिक सिनेम्याटिक विमर्श निर्माण गर्ने विश्वास लिइएको छ ।

पत्रकार सम्मेलनमा चलचित्र कलाकार सङ्घका अध्यक्ष उत्तम केसी, आदिवासी जनजाति महासङ्घका उपाध्यक्ष अमृतबहादुर सुनुवार, आदिवासी जनजाति पत्रकार सङ्घका अध्यक्ष समीर बलामी र आदिवासी कलाकार सहभागी थिए ।

प्रेस विज्ञप्ति

आदिवासी जनजाति चलचित्र महासंघको आयोजनामा ‘छैटौं नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव – २०८३’ आगामी जेठ १७, १८ र १९ गते काठमाडौंस्थित चलचित्र विकास बोर्डमा आयोजना हुने जानकारी गराउन पाउँदा हामी गौरवान्वित छौं । नेपालजस्तो बहु–राष्ट्रिय, बहुभाषिक तथा बहुसांस्कृतिक सभ्यतागत संरचनाभित्र आदिवासी जनजाति समुदायका इतिहास, भाषा, लिपि, मिथक, सामुदायिक स्मृति, भू–चेतना, लोक–ज्ञान, आध्यात्मिक अनुभव तथा सांस्कृतिक अस्तित्वलाई दृश्य–श्रव्य माध्यममार्फत पुनस्र्थापित गर्ने ऐतिहासिक उद्देश्यसहित आयोजित यो महोत्सव केवल चलचित्र प्रदर्शनको औपचारिक कार्यक्रम नभएर सांस्कृतिक न्याय, आत्म–प्रतिनिधित्व, भाषिक पुनर्जागरण, ज्ञान–उपनिवेशवादविरुद्धको प्रतिरोध तथा एपिस्टेमिक स्वतन्त्रताको अन्तर्राष्ट्रिय सिनेम्याटिक आन्दोलन हो ।

आज विश्वमानव सभ्यता गम्भीर ज्ञान–संकटको मोडमा उभिएको छ । आधुनिक विकास–केन्द्रित विश्वदृष्टिले प्रकृति, समुदाय, स्मृति र आध्यात्मिक सहअस्तित्वलाई विखण्डित गरिरहेको वर्तमान अवस्थामा विश्व बौद्धिक समुदायले वैकल्पिक ज्ञान–स्रोतका रूपमा आदिवासी ज्ञान–परम्परातर्फ पुनः फर्किन थालेको छ । यही सन्दर्भमा आदिवासी चलचित्र केवल कलात्मक अभिव्यक्ति नभई समुदायको ब्रह्माण्ड–दृष्टि, प्रकृतिसँगको सम्बन्ध, पूर्वजगतसँगको संवाद, सामूहिक स्मृति र सांस्कृतिक चेतनाको जीवित अभिलेखका रूपमा उदाएको छ । आदिवासी समुदायका भाषा, संस्कार–संस्कृति, विश्वास प्रणाली, अनुष्ठान, मौखिक इतिहास तथा ज्ञान–परम्परालाई चलचित्रमार्फत अभिव्यक्त गर्ने प्रक्रिया केवल सिर्जनात्मक अभ्यास होइन; यो सांस्कृतिक पुनरुत्थान, पहिचान–राजनीति र एपिस्टेमिक प्रतिरोधसँग अन्तर्सम्बद्ध एक गहिरो ज्ञान–परियोजना हो ।

नेपालमा आदिवासी चलचित्र निर्माणको चार दशक लामो यात्रामा हालसम्म करिब डेढ हजारभन्दा बढी आदिवासी चलचित्र निर्माण भइसकेका छन् । विगतका प्रयासहरूले आदिवासी पहिचानलाई दृश्यता दिने प्रारम्भिक आधार निर्माण गरेका थिए भने वर्तमानका सिर्जनाहरूले मातृभाषा, भूमि–सम्बन्ध, पूर्वजगत, लोक–ज्ञान, सांस्कृतिक प्रासङ्गिकता, अनुष्ठानिक संरचना, ध्वनि–विसंरचना तथा सामुदायिक आवाजलाई केन्द्रमा राख्दै एक पृथक आदिवासी सिनेम्याटिक सौन्दर्य–दर्शनको विकास गरिरहेका छन् । आदिवासी चलचित्रमा भूगोल, पात्र, कथा, संगीत, भाषा र क्यामराको अवाचिक संकेतन केवल प्राविधिक संयोजन होइनन्; ती समुदायको विश्वदृष्टि, ज्ञान–परम्परा, सांस्कृतिक आत्म–चेतना र सामूहिक अस्तित्वलाई पुनरुत्पादन गर्ने जीवित सांस्कृतिक माध्यम हुन् ।

महोत्सवमा लिम्बू, नेवारी, गुरुङ, थारु, तामाङ, मगर, भुजेल, माझी तथा राजवंशी समुदायका कथानक चलचित्र, लघु चलचित्र, वृत्तचित्र र एआइ जेनेरेटेड वृत्तचित्र प्रदर्शन गरिनेछन् । कथानक चलचित्रतर्फ दिनेश लिङदेन निर्देशित “रीत”, अमृतमान महर्जन निर्देशित “स्वयनगु”, जनक गुरुङ निर्देशित “ङोल्स्यो रामरानी”, निमा लामा तामाङ निर्देशित “ह्याङ तामाङ”, तथा अशोक आले मगर निर्देशित “दिलसरा” प्रदर्शन गरिनेछ । लघु चलचित्रतर्फ सागर केरुङ निर्देशित “तङसिङ”, हुतबहादुर तामाङ निर्देशित “दुखला ग्यम”, परशुराम चौधरी निर्देशित ’जाइछै सौसरा’ बिपना तामाङ भुजेल निर्देशित “निको पहिचान” तथा विशाल रोक्का मगर निर्देशित “लाहुरेनी” समावेश छन् । त्यसैगरी वृत्तचित्रतर्फ अनिल मगर निर्देशित “आग्रे”, होम कुमारी माझी निर्देशित “लदि पुजा” तथा अरविन्द विश्वास निर्देशित एआइ जेनेरेटेड वृत्तचित्र “बिराटनगरके प्राचिन राजवंशी” प्रदर्शन गरिनेछ । महोत्सवमा उत्कृष्ट लघु चलचित्र, उत्कृष्ट वृत्तचित्र तथा कथानक चलचित्रतर्फ उत्कृष्ट चलचित्र, उत्कृष्ट निर्देशक, उत्कृष्ट स्क्रिप्ट, उत्कृष्ट अभिनेता, उत्कृष्ट अभिनेत्री, उत्कृष्ट छायांकन, प्रोत्साहन पुरस्कार तथा जुरी अवार्ड प्रदान गरिनेछ ।

आज विश्वभर आदिवासी चलचित्रलाई केवल कला वा मनोरञ्जनका रूपमा होइन, सभ्यता, स्मृति, प्रतिरोध, अस्तित्व र सांस्कृतिक सार्वभौमिकताको राजनीतिक दस्तावेजका रूपमा हेरिन थालेको छ । “छैटौं नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव – २०८३” त्यही सांस्कृतिक पुनर्जागरणको विराट उत्सव हो, जहाँ पर्दामा केवल चलचित्र प्रदर्शन हुँदैन—त्यहाँ भाषा बोल्छ, इतिहास बोल्छ, भूमि बोल्छ, पूर्वजहरूको स्मृति बोल्छ, र समुदायको जीवित आत्मा बोल्छ ।

यस महोत्सवले नेपाललाई विश्व आदिवासी चलचित्र आन्दोलनको एक सशक्त उदीयमान केन्द्रका रूपमा स्थापित गर्दै अन्तर्राष्ट्रिय चलचित्रकर्मी, अनुसन्धानकर्ता, सांस्कृतिक अभियन्ता तथा समुदायबीच नयाँ संवाद, सहकार्य र वैकल्पिक सिनेम्याटिक विमर्श निर्माण गर्ने विश्वास लिएको छ ।

अन्त्यमा, महोत्सवको सफलताका लागि सहयोग पु¥याइरहनुभएका सम्पूर्ण चलचित्रकर्मी, सञ्चारमाध्यम, साझेदार निकाय तथा सरोकारवालाप्रति हार्दिक आभार व्यक्त गर्दै सम्पूर्ण सञ्चारकर्मी महानुभावहरूलाई महोत्सवको प्रचार–प्रसार तथा गरिमामय सहभागिताका लागि हार्दिक अनुरोध गर्दछौं ।

Sagar Kerung/सागर केरुङ

(Festival Director/महोत्सव निर्देशक)

Mobile No.: +977-9842664950

सम्बन्धित खवर