
माङसेबुङ । इलामको माङसेबुङ गाउँपालिकाले भारी वर्षा र प्रतिकूल मौसमका कारण हुनसक्ने जोखिमलाई मध्यनजर गर्दै पालिकाभित्रका सबै विद्यालय दुई दिनका लागि बन्द गरेको छ ।
गाउँपालिकाको शिक्षा शाखाले जारी गरेको सूचनाअनुसार असोज ८ देखि १० गतेसम्म ठूलो वर्षा हुन सक्ने मौसम पूर्वानुमानलाई ध्यानमा राख्दै असोज ८ र ९ गते सबै विद्यालयमा बिदा दिने निर्णय गरिएको हो ।
शिक्षा शाखा प्रमुख बुद्धिप्रसाद खतिवडाका अनुसार बुधबार बसेको विपद व्यवस्थापन समितिको बैठकले शिक्षक र विद्यार्थीको आवतजावत तथा सुरक्षामा जोखिम बढ्न सक्ने निष्कर्षसहित दुई दिन बिदा दिने निर्णय गरेको हो ।
गाउँपालिकाले बिदाका कारण प्रभावित हुने दुई कार्यदिन विद्यालयको वार्षिक शैक्षिक कार्यतालिकामा रहेका अन्य बिदाबाट समायोजन गर्न निर्देशन दिएको छ ।
यस्तै, मौसमको अवस्था र स्थानीय परिस्थितिलाई ध्यानमा राख्दै विद्यालयका भौतिक संरचना, विद्यार्थी र शिक्षकको सुरक्षाका लागि आवश्यक सतर्कता अपनाउन सबै प्रधानाध्यापक तथा विद्यालय प्रशासनलाई आग्रह गरिएको छ ।
जल तथा मौसम विज्ञान विभागले असोज ८ देखि १२ गतेसम्म भारी वर्षाको सम्भनावना रहेको जनाएको छ ।






