
माङसेबुङ । नेपालले एसियन गेम्स छनोटमा चीनमाथि सानदार जित हासिल गरेको छ ।
सिंगापुर नेसनल क्रिकेट मैदानमा आइतबार भएको पहिलो खेलमा कुशल भुर्तेल र कुशल मल्लको आक्रामक ब्याटिङसँगै नेपालले चीनलाई २२१ रनले पराजित गर्दै जानदार जित निकालेको हो ।
यो जितसँजै नेपालले सेमिफाइनलमा आफ्नो स्थान लगभग पक्का गरेको छ । समूह ‘ए’मा रहेको नेपालले अब मलेसियासँग खेल्नेछ ।
नेपालले दिएको ३१४ रनको विशाल लक्ष्य पछ्याएको चीनले १९.२ ओभरमा सबै विकेट गुमाउँदै ९२ रन मा बनाउन सक्यो ।
चीनका शेन्जियान झेङले सर्वाधिक ३१ रन बनाए । यस्तै दु जिन्हाओले १७ रन, तियान सेनकुनले १२ रन बनाउँनु बाहेक अन्यले ब्याटिङ गर्न सकेनन् ।
नेपालका कुशल मल्लले सर्वाधिक ३ विकेट लिए । यस्तै सन्दीप लामिछाने र सोमपाल कामीले समान २ विकेट लिए ।
यसअघि टस हारेर पहिला ब्याटिङ थालेको नेपालले निर्धारित २० ओभरमा २ विकेट गुमाउँदै ३१३ रन बनाएको थियो । टी–२० आईमा नेपालको यो दोस्रो उच्च रन हो ।
नेपालका ओपनर कुशल भुर्तेलले ५ चौका र १६ छक्का प्रहार गर्दै सर्वाधिक १२९ रन बनाए । यसैगरी कुशल मल्लले ८ चौका र ५ छक्कासहित अविजित ८५ रन बनाए । रोहितकुमार पौडेलले ६९ रन बनाउँदा ओपनर आसिफ शेख ११ रनमा आउट भए ।







