एसियन गेम्स छनोटमा मलेसियालाई हराउँदै नेपाल समूहविजेता - Mangsebung News
  • बिहिबार, जेठ २१, २०८३
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

एसियन गेम्स छनोटमा मलेसियालाई हराउँदै नेपाल समूहविजेता

माङसेबुङ । एसियन गेम्स पुरुष क्रिकेट छनोटमा लगातार दोस्रो जित हासिल गर्दै नेपाल समूहविजेता बनेको छ ।

बिहीबार भएको खेलमा मलेसियामाथि १६७ रनको फराकिलो जित हासिल गर्दै नेपाल समूह ‘ए’ को विजेता बनेको हो ।

नेपालले दिएको २७६ रनको विशाल लक्ष्य पछ्याएको मलेसियाले २० ओभरमा ९ विकेट गुमाएर १०८ रनमा समेटियो ।

कप्तान सायद अजिजले सर्वाधिक ५४ रन बनाउनदा शर्विन मुनियान्डीले १८ रन र मुहम्मद हाजिकले १३ रन बनाए । अन्य ब्याटरले भने उल्लेख्य प्रदर्शन गर्न सकेन ।

नेपालका लागि शेर मल्लले सार्वाधिक ३ विकेट लिए । यस्तै सन्दीप लामिछाने, करण केसी, सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी र कुशल मल्लले १–१ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले ओपनिङ ब्याटर कुशल भुर्तेलको कीर्तिमानी शतकको मद्दतमा २० ओभरमा ७ विकेट गुमाएर २७५ रन बनाएको थियो ।

भुर्तेलले ५४ बलमा १४ चौका र ८ छक्कासहित १२६ रन बनाए । टी–२०आईमा भुर्तेलको यो लगातार दोस्रो तथा करियरको तेस्रो शतक हो । यो सँगै भुर्तेल लगातार दुई टी–२०आई शतक बनाउने पहिलो नेपाली खेलाडी हुन् ।

यस्तै अर्का ओपनर आसिफ शेखले ६८ रन, कप्तान दीपेन्द्रसिंह ऐरीले ३१ रन बनाए । मलेसियाका लागि विरानदीप सिंहले सर्वाधिक ३ विकेट लिए । विजय उन्नी र सायद अजिजले २–२ विकेट लिए ।

सम्बन्धित खवर