काठमाडौं । बंगलादेशमा जारी एसियन सिनियर सेन्ट्रल जोन पुरुष तथा महिला भलिबल च्यालेन्ज कपमा नेपालको महिला भलिबल टोली फाइनलमा प्रवेश गरेको छ ।
नेपालले ढाकामा आइतबार उज्वेकिस्तानलाई ३–० को सोझो सेटमा हराउँदै फाइनलमा प्रवेश गरेको हो ।
साविक विजेता समेत रहेको नेपालले उज्वेकिस्तानमाथि २५–२०,२५–२३ र २५–१४ को जित निकाल्यो ।
नेपालको यो लगातार चौंथो जित हो । नेपालले ४ खेलमा ११ अंक जोडेको छ । नेपाल शीर्ष स्थानमा समेत उक्लिएको छ ।
उज्वेकिस्तानको ९ अंक रहेको छ । उज्वेकिस्तानको समेत फाइनल पुग्ने सम्भावना रहेको छ । नेपालले अन्तिम खेलमा सोमबार किर्गिस्तानको सामना गर्नेछ ।
यसैगरि नेपालको पुरुष टोलीले बंगलादेशमा जारी एसियन सिनियर सेन्ट्रल जोन पुरुष तथा महिला भलिबल च्यालेन्ज कपमा दोस्रो जित निकालेको छ ।
ढाकामा आइतबार माल्दिभ्सलाई ३–० को सोझो सेटमा हराउँदै नेपालले दोस्रो जित निकालेको हो । नेपालले माल्दिभ्समाथि २७–२५, २५–१९ र २५–२३ को सेटमा जित निकालेको हो ।