अंग्रेजी माध्यममा शिक्षाः वरदान कि अभिसाप ? - Mangsebung News
  • शुक्रबार, जेठ ११, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

अंग्रेजी माध्यममा शिक्षाः वरदान कि अभिसाप ?

हिजो आज प्रधानमन्त्री केपि शर्मा ओलीले विभिन्न कार्यक्रमहरुमा सामुदायिक विद्यालयमा अंग्रेजी भाषामा पठनपाठन गर्ने व्यवस्था गरिन्छ भन्ने गरेको सुनिन्छ । विभिन्न राजनीतिक दल र उम्मेदवारहरुले अंग्रेजी मेडियममा विद्यालय चलाउने भन्ने विषय स्थानीय, प्रदेश र संघीय तहका निर्वाचनका चुनावी नारा बनाएका थिए । यो नाराले कतिपय दल र नेतालाई चुनाव जित्ने माध्यम पनि बन्यो ।

इलामको माङसेबुङ गाउ“पालिका लगायतका केही स्थानीय तहले अंग्रेजी मेडियमका कक्षा सञ्चालनका निम्ति बजेट विनियोजन समेत गरेका छन् । अंग्रेजी माध्यममा शिक्षा दिइनुलाई सतही रुपमा शैक्षिक गुणस्तरका रुपमा बुझ्न थालिएको छ । तर, विद्यालयमा अंग्रेजी माध्यम भाषाका शैक्षिक, सांस्कृतिक र सामाजिक प्रभावबारे गह“न विश्लेषण नगरिकन भइरहेको यस्तो निर्णयको परिणामबारे सोच्न आवश्यक छ ।

अंग्रेजी माध्यम हुने पर्ने तर्कहरु
अंग्रेजी भाषा संयुक्त राष्ट्रसंघको कामकाजी भाषाको रुपमा प्रयोग गरिन्छ । यसका साथै विश्वमा अंग्रेजी सम्पर्क भाषाको रुपमा विकास भएको छ । जसको कारण विश्वस“ग जोडिन अंग्रेजी सिक्नै पर्ने बाध्यताका रुपमा अंग्रेजी सिकाईलाई लिने गरिएको छ । साथै विज्ञान प्रविधिका क्षेत्रमा अंग्रेजीको प्रयोग, उच्च शिक्षामा अंग्रेजी माध्यम भाषा हुनु, प्राविधिक र मेडिकल शिक्षामा अंग्रेजी माध्यम भाषाका रुपमा प्रयोग गरिनुले अंग्रेजीलाई विद्यालयमा माध्यम भाषा बनाउने तर्फ सबैको ध्यान तानिएको छ । अर्कोतर्फ अंग्रेजीलाई माध्यम भाषा बनाउनका निम्ति दातृसंस्थाहरुको सहयोगले पनि ठूलो भूमिका निर्वाह गरेको छ ।

नेपालमा अंगे्रजी भाषाप्रति शासकहरुको आकर्षण पूरानै हो । अंग्रेजी भाषालाई विद्यालयको पठन पाठनका निम्ति माध्यम भाषाका रुपमा प्रधानमन्त्री जंगबहादुर राणाले गरेका थिए । उनले वि.सं. १९०७ देखि १९१० सम्म बेलायतको भ्रमण गरेका थिए । त्यसबेलाका महाशक्तिशाली बेलायतको शिक्षा, विकास र शक्तिस“ग जंगबहादुर प्रभावित भए । बेलायतका ती सबै विकास र समृद्धिको आधार अंग्रेजी भाषा भएको ठम्याए । उनले वि.सं. १९१० मा बेलायतबाट कनिङ र रोस नाम गरेका दुई बेलायतीलाई ल्याएर दरबारमा विद्यालय खोले । सो विद्यालयका पहिला विद्यार्थी उनका छोराहरु थिए । उनले भनेका थिए, अरुका कुरा छोड, आफ्ना छोराछोरीलाई अंग्रेजी सिकाउ ।

राणा कालमा खोलिएका विद्यालय र कलेजहरुमा माध्यम भाषाका रुपमा अंग्रेजीलाई प्राथमिकता दिइएको थियो । नेपालको शिक्षाबारे सुझाव दिन बनेको ‘राष्ट्रिय शिक्षा योजना आयोग २०११’, ‘सर्वाङगीण राष्ट्रिय शिक्षा समिति २०१८’ र ‘राष्ट्रिय शिक्षा पद्धतिको योजना २०२८–३२’ ले खस नेपाली भाषालाई विद्यालयमा पठनपाठनका माध्यमका रुपमा सिफारिस गरेका थिए । तर, निजी अंग्रेजी विद्यालयहरु खुल्न थालेपछि विद्यालयमा अंग्रेजी भाषा माध्यमका रुपमा प्रयोग हुन थाल्यो । विस्तारै यसका प्रभाव अभिभावक, शिक्षक, विद्यार्थी, नीति निर्माता र सरकारसम्म पुगेको छ ।

नेपालका अधिकांश अभिभावकमा अंग्रेजी मोह देखिन्छ । निजी विद्यालयमा पढेका विद्यार्थीहरुले राम्रो परिणाम ल्याउने गरेकाले अभिभावकहरु अंग्रेजी विद्यालयतर्फ आकर्षित हुन थाले । जसले गर्दा सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षक घटेको छ । सामुदायिक विद्यालयमा विद्यार्थी तान्न विद्यालयहरुलाई अंग्रेजी माध्यमका विद्यालय बनाउने होड चलेको छ ।

अंग्रेजी भाषा वरदान कि अभिसाप ?

अंग्रेजी भाषालाई वरदान मान्नेहरुले अंग्रेजीलाई विश्वमा प्रवेश पाउने भिसाको रुपमा लिन्छन् । अंग्रेजी भाषा जानेमा आधुनिक र विश्वव्यापी बन्न सकिने मान्यता राख्छन् । यसका साथै अंग्रेजी भाषाका कारण जागिर खान र विश्वको ज्ञान सिक्न सहज हुने उनीहरुको दाबी छ । आफ्ना बालबालिकाको भविष्य सुनिश्चित गर्न अंगे्रजी अचुक अस्त्रका रुपमा अभिभावकहरुले अंग्रेजी लिने गरेको पाइन्छ । अंग्रेजीका कारण विश्वलाई एउटा सानो गाउ“का रुपमा विकास गर्न सकिने तथा विज्ञान, प्रविधि, शिक्षा, स्वास्थ्य र आम सञ्चार क्षेत्रमा पहु“च पुग्ने उनीहरुको धारणा छ ।

अर्कोतर्फ अंग्रेजीलाई अभिसापका रुपमा लिनेहरुले अंग्रेजीलाई विद्यालयलाई माध्यम भाषाका रुपमा लिन नहुने तर्क राख्छन् । अंग्रेजी भाषालाई माध्यम भाषाका रुपमा प्रयोग गरिनाले स्थानीय मातृभाषा, संस्कृति र परम्परागत ज्ञानहरु संकट पर्ने उनीहरुको दाबी छ । अंग्रेजीलाई पाश्चात्य मुलुकको सांस्कृतिक उपनिवेशको रुपमा लिने गरिन्छ । अंग्रेजीको माध्यमबाट पाश्चात्य संस्कृति, परम्परा, धार्मिक तथा सांस्कृतिक मान्यताहरु नेपालमा प्रवेश गरिरहेको ठानिन्छ । अंग्रेजीलाई महत्व दिइनु अराष्ट्रिय बन्नु भन्ने बुझाई छ ।

सरकारको द्वैद्य नीति
नेपालको शिक्षा नीति छरपष्टिएको र लथालिङग देखिन्छ । मुलुकमा राजनीतिक परिवर्तनस“गै शिक्षा नीतिहरु पनि परिवर्तन भइरहन्छन् । एउटा आयोगले तय गरेको नीति अर्कोले फेरिदिने, एउटा सरकारले तय गरेको नीति अर्को सरकार आएपछि फेर्ने जस्ता कृयाकलाप नेपालको शिक्षा क्षेत्रमा देखिन्छ ।

शिक्षाको नीति निर्माणमा प्रभाव पार्ने तत्वहरुलाई दुई भागमा विभाजन गरेर हेर्ने गरिन्छ । शिक्षा नीति निर्माणमा आन्तरिक र बाह्य तत्वहरुले प्रभाव पारेको हुन्छ । अन्तर्राष्ट्रिय सन्धी, सम्झौता, घोषणा पत्र, युएन र सार्कको चार्टरले नेपालको शिक्षा नीतिमा प्रभाव पारेको छ । यसलाई बाह्य तत्वका रुपमा लिइन्छ । यसै गरी विभिन्न राजनीतिक दलका घोषणा पत्र, आयोगका प्रतिवेदन, अभिभावकका सुझाव, विद्यार्थी आन्दोलन र नागरिक आन्दोलनले देशमा कस्तो शिक्षा नीति अवलम्वन गर्ने भन्ने निर्धारण गर्दछ । नेपालले संयुक्त राष्ट्रसंघ, सार्कलगायतका विभिन्न संघ संस्थाले गरेको घोषणा पत्रमा हस्ताक्षर गरेको छ । तसर्थ, नेपालले ती सन्धि, सम्झौता र प्रतिवद्धताका आधारमा नीति निर्माण गर्नुपर्ने हुन्छ ।

विश्व शिक्षा मञ्चले सन २००० मा सेनेगलको डकारमा आयोजना गरेको सबैका लागि शिक्षा भन्ने घोषणामा हस्ताक्षर गरेको थियो । सबै शिक्षा हरेक नागरिको मौलिक हक भएकोले सबैले शिक्षा पाउनु पर्दछ भन्ने कुरामा नेपालले हस्ताक्षर गरेको छ । सबै नागरिकालाई शिक्षित बनाउन सबैलाई आफ्नै मातृभाषामा शिक्षा दिने नेपालले लिएको थियो । विद्यालय सुधार योजना (२००० – २०१५) मा नेपालले मातृभाषालाई माध्यम भाषाका रुपमा प्रयोग गर्ने नीति लिएको थियो । नेपालको संविधान भाग ३ धारा ३१ उपधारा (ङ) मातृभाषामा शिक्षा लिन र विद्यालय तथा शैक्षिक संस्था खोल्न पाउने व्यस्था गरेको छ । मातृभाषामा शिक्षा सम्बन्धी माध्यमिक तहसम्म स्थानीय तहले र उच्च शिक्षाका निम्ति प्रदेश सरकारलाई नीति निर्माण गर्ने अधिकार संविधानको अनुसूचि ६ र ८ मा अधिकार प्रदान गरेको छ ।

अंग्रेजी भाषालाई माध्यम भाषाको रुपमा प्रयोग गर्नु गरीब तथा पछाडिएका मुलुकको विशेषताका रुपमा देखिएको छ । सार्कका सबै मुलुकहरुले अंग्रेजीलाई कुनै न कुनै तहमा माध्यम भाषाका रुपमा प्रयोग गरेको पाइन्छ । तर, चीन, जापान र कोरियाले आफ्नै भाषालाई माध्यम भाषाका रुपमा प्रयोग गरेको पाइन्छ । नेपालको सन्दर्भमा अंग्रेजी माध्यम भाषाका निम्ति अनेका बाध्यता भए पनि यसको प्रयोग शैक्षिक र सांस्कृतिक तर्क नभएको बताइन्छ । सिक्ने र सिकाउने विषयमा माध्यम भाषाको महत्व हुन्छ । सिकाई प्रभावकारी मातृभाषालाई माध्यम बनाउदा नै हुन्छ । सिकाउनेले पनि नजानीकन अंग्रेजीमा सिकाउ“दा खासै प्रभावकारी हुन्न । अर्कोतर्फ अंग्रेजीलाई माध्यम भाषा बनाउ“दा धेरै मातृभाषाहरु संकटमा पर्ने निश्चित छ ।

                                                                                           आङबुहाङ अबोध अबिरल माङसेबुङ मासिकका स्तम्भकार हुन

 

सम्बन्धित खवर