
भनिन्छ, संगीत कहिलेकाहीँ औपचारिक प्रशिक्षणभन्दा पहिला मनभित्रै जन्मिन्छ । त्यही मनको गुनगुनाहटबाट सुरु गर्दै संगीतको यात्रा तय गरेका लोभलाग्दा प्रतिभा हुन् गायक तथा संगीतकार गगन प्रकाश लावती ।
‘स्मरण रहेदेखि नै गुनगुनाउन थालेको हुँ,’ गायक गगन प्रकाश भन्छन्, ‘तर औपचारिक रूपमा भने २०७४ सालदेखि गीत–संगीतमा सक्रिय भएको हुँ ।’

गीत गाउने प्रेरणाको मूल स्रोत परिवार नै भएको उनी बताउँछन् । परिवारका सदस्यहरू स्वयं गुनगुनाउने स्वभावका थिए । घरभित्रको सांगीतिक वातावरण, सँगै टेलिभिजन र रेडियोमार्फत सुन्ने गीत–संगीतले उनलाई गायक बन्न प्रेरित ग¥यो । गगन प्रकाश लावतीका लागि संगीत केवल मनोरञ्जनको साधन होइन, अनुभूतिको भाषा हो । उनको पहिलो औपचारिक रेकर्ड, शब्द र संगीत रहेको गीत ‘कति पो राम्री देखिएको’ ले उनलाई सिर्जनात्मक यात्रामा थप हौसला दियो ।

‘लयात्मक ढाँचा नै संगीत हो’ उनी भन्छन्, ‘संगीत भावना हो । जसरी बहकायो, त्यसरी नै बहकिन्छ । हाँसो र आँसुमा शब्दलाई पूर्णता दिने रचनात्मक माध्यम हो, जसले मनलाई शीतलता प्रदान गर्छ ।’
संगीतप्रतिको रुचिलाई अझ मजबुत बनाउन उनले गुरुकुल संगीत पाठशालामा स्व. श्रदेय श्री देभ कामत सरसँग संगीत शिक्षा प्राप्त गरेका छन् । हालसम्म गीत–संगीतलाई मात्र जीवन बाँच्ने एकमात्र आधार बनाएको सोच नराखे पनि, उनी लगनशीलताले यही क्षेत्रबाट बाँच्न सकिनेमा विश्वस्त छन् । राम्रो सिर्जना र निरन्तरताले आजको अवस्थामा नाम र दाम दुवै दिलाउन सक्छ भन्ने उनको विश्वास छ । हालसम्म ३० भन्दा बढी गीतहरू लेखिसकेका उनी पियानो÷कीबोर्डको तालिम पनि लिइरहेका छन्, जसले उनको संगीत यात्रालाई थप परिष्कृत बनाइरहेको छ ।

भविष्यमा समेत गित–संगीतलाई निरन्तरता दिँदै व्यावसायिक पेसासँगै अगाडि बढ्ने योजना बुनेका गगनका गीतहरूमा प्रेम, वियोग, सम्झना र जीवनका अनुभूतिहरू प्रस्ट रूपमा देखिन्छन् । फलस्वरुप प्रेमलाई उनी यसरी परिभाषित गर्छन्,– ‘प्रेम दुई आत्माको मेल हो, जहाँ माया, सद्भाव र स्नेह साटिन्छ । जुन अपरीहार्य पनि रहन्छ ।’
किरात याक्थुङ चुम्बू, ललितपुर; लिम्बू सांस्कृतिक परिषद्, ललितपुर; याक्थुङ युवा मञ्च, ललितपुर तथा फक्ताङलुङ सयङमा संलग्न रहिसकेका गगन प्रकाश परिवारको अटुट साथले निरन्तर संगीत यात्रामा अघि बढ्ने ऊर्जा पाएको बताउँछन् । माघ १४ मा जन्मदिन मनाउने गगन प्रकाश याक्थुङ लिम्बू गीत–संगीतको गायन रियालिटी शो फक्तालुङ आइडल सेकफुङ–३ मा सहभागी भई फाइनलिस्टसमेत बनेका थिए । साथै, देशव्यापी रूपमा प्रसारित इमेज टिभीको ‘इमेज लोक कलाकार’ रियालिटी शोमा पनि उनले सहभागिता जनाएका छन् । उनका अनुसार यस्ता रियालिटी शोहरूले अनुभवलाई बलियो बनाउने, सिक्ने अवसर दिने र भविष्यतर्फ अघि बढ्ने बाटो देखाउने काम गर्छन् ।

हीम सम्धाङ सम्धाङ, खापूना मरङ्ना हक्पारे, लुङमेन्दीङ सेवा (पालाम), सरर सरर सरर, तिमीलाई धेरै माया गर्थे, छाडी गयौ तिमीले मलाई, सपनाहरू साँच्ने गर्थे, सरलाईमा सर धानै नाचौँला, आमा, आमाको माया, लाग्छ नि झझल्को, तिमीलाई म के भनूँ, ¥याङ ¥याङ साराङ्गी रेटौँला, पिरतीको बैना, साइला, घुम्तीमा बिसौनी, प्रितका कहानी, सोल्टिनी, गोधुली साँझमा, गोधुली यो साँझमा–२, अजम्जरी माया, के गर्दै होला माया, नयाँ नयाँ चाहना साँच्दैछु, खोली बगर, सिसाझैँ चक्र्यो माया, भूल भयो, सुम्नीमा पारुहाङ जस्ता गीतहरूका सर्जक, याक्थुङ मौलिक तथा नेपाली गीत–संगीतप्रति समर्पित सुमधुर आवाजका धनी गायक तथा संगीतकार गगन प्रकाश लावतीको संगीत यात्रा अझ खास र सार्थक बन्दै जाओस् लुङमेन्दीङ नोनिङ्वा ।

प्रस्तुति : आन्छुमे नसान








