मेरो अन्तिम कृति नै, समाधिस्थल - Mangsebung News
  • बुधबार, मङि्सर २६, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

मेरो अन्तिम कृति नै, समाधिस्थल


एकपटक नाट्य क्षेत्रका प्रतिभाहरुको वायोग्राफी पुस्तकमा प्रकाशन गर्ने खबर भो । सम्पुर्ण बायोडाटाहरु चाहियो भन्ने अनुरोध आईलाग्यो । आखिर त्यस्तो गतिलो दुनियाँले सम्झनै पर्ने खालको बायोडाटा, यो बबुरो खलिफा ज्यानसंग केनै पो थियो र..? उहीँ ५० को दशकताका, रंगकर्ममा गरिएको र रमाउँन खोजिएको केवल सिकारु टोप्पा मान्छे बनाइएका डामहरु । अनि एक दुई हुँदै कोरिएका डेढ दर्जन नाटकहरु र यिनका निर्देशन । कोरिएका नाटकलाई दर्शकलाई पस्कदा अभिनय पनि गरिए । अन्त गाउँघर, बजारमा यसो मञ्चन गरिए, भएजो प्रस्तुत नाटकहरु च्यारेटी शो गरिन्थें । तापनि नाटक शुल्क रकमले कहिल्यै पनि अघाउँञ्जेल भोको पेट भर्न सकिएन । सधैं अभावले चिथोरी रह्यो । गोजी जहिले रित्तो हुने । तै पनि नित्य कर्म जस्तै डेढ दशक लामो कर्म पुजा गरिरहियो ।

खैरः दुईवटा नाटकले, प्रतियोगितामा बाजी पनि मार्यो । कहिले नाँचेर हिडियो । कहिले गायी पनि टोपलियो । बैँस उम्लन्दै गर्दा, केकेन बन्ने थुप्रै त्यस्ता सपनाहरूको रहरहरु खुब पलाउँथ्यो । फुटबलर खेलाडी नि बन्ने शौख उधुम्मै पलाथ्यो । खेलनै कहिले जित्नै नसक्ने, गेम क्याप्टेन नि पो भईयो के स्याँठा … ! प्राय स्कुल अन्तर–प्रतियोगितात्मक कार्यक्रमहरुमा, वाद–विवाद अनि नृत्यकलामा स्कुलको प्रतिनिधित्व गर्थें । उम् …! वाद–विवाद कार्यक्रमहरुमा हारेंको सम्झना छैन । तर…दुर्भाग्यनै भन्नू पर्छ कि, फुटबलमा कहिल्यै (कहिल्यै नि जीत्न सकेको एउटा पनि रेकर्ड ब्रेक राख्न सकिएन । बरु पानी पौडीबाजमा डुम खेलिन्थ्यो । तहाँ चाहिँ हारिन्नथ्यो । कालले थाहा नपाओस् की, अझै पनि जस्तै पानीमा नि डुबेर चाहिँ ज्यान जान सक्ला जस्तो पटक्कै लाग्दैन । यो आत्माभ्रम अहिले तक नि, ज्युँका त्युँ उसै बाँची रहेछ हाउ..!

यात्रा आरोहणको दशकौं समय बेगमा आईपुग्दा, कयैंन बाधा–अड्चन औं उल्झनहरुले सिर्जनात्मक कार्यहरु उसै ठप्प भए । त्यसपछीका सिर्जनात्मक अभियानहरु, उहीँ खान्की नपुग्या कुपोषणले थला पर्या रोगी अवोध बालक जस्तैपो भई गईयो के । अहिले यसो विभिन्न विषायन्तर उपर फुटकर लेख–रचनाहरु, मोफसलमा प्रकाशन हुने, पत्र—पत्रिकाहरुमा मेन्जो–सेञ्जोसिक लेखी टोपल्दैछु । जसले यसो लेखे बापत पत्र–पत्रिकाहरुमा, खाली ठाँम् भर्ने स्पेश पाउँछन् । जसको गिन्ती संख्या आँकलन गर्दा, झण्डैं ४५० (फेसबुकाँ बाहेक) बढी हस्ताक्षर भएछन् । यो आफ्नो हकमा भने, हुनै नसक्ने उपद्रो प्रगतिको छलाङ हो के । लेखनमा हाई मात्र काढी रहने एउटा सत्र अल्छे मान्छेले, यतिको कलमदानीमा मसी चोबेर, सिर्जना गर्नु भनेको, आफ्नो हकमा भन्नुपर्दा त एउटा ठुलै आँतकबादी युद्ध जीते जस्तै हो के ।

अतः आफ्नो वायोग्राफी प्रोफाईल, संस्थागत हस्ताक्षर (कर्तालाई प्रस्तुत विवरण पेश गरि दिई टोपलें । प्रती–उत्तरमा उनले कोईशन मार्क गरे । खोई त हो कृति चाहीँ..? झन प्रती कोईशन मार्क गरें । कस्तो कृति हाउ..? झन उनले मार्क फुकुवा गर्दै भने, पुस्तक÷डकुमेन्ट्स दस्तावेजहरु चाहियो नि । अब एउटा नाट्यकर्मीको सबुत–प्रमाण दशी भनेकै त, उसको आम शुभेच्छुक दर्शकहरु न हुन् । जसले खुल्ला मञ्चमा उसको नाटक मञ्चन कार्यक्रमको रमिता हेरि दिन्छन् । हेर्छन् त्यो भन्दा ठुलो सबुत साक्षी, एउटा रंगकर्मी नाथेको हकमा अरु केनै पो हुन्छ र हाउ..? फेरि नाटकहरु सो मञ्चन गर्नु भनेको पुस्तक प्रकाशन गर्नु पनि त होइन । अक्षरहरु कुदिंए जस्तो, पुस्तकमा छापिने पनि त होईनन् ।

नाटक भनेको आफैमा, चलचित्र परि–दृश्यहरु जस्तो प्रोजेक्टरको माध्यमद्वारा पर्दामा देखाईने विषय पनि रत्ति होइनन् । थिएनन् पनि । हिजो ती चलचित्र फिल्महरु, ठुलो फित्तावाल रिलहरुमा खिचिन्थे र बेरिन्थें । अनि सिनेमा हलमा प्रदशित हुन्थें।जो अहिले एक ईन्चको मेमोरिज कार्ड भित्र संसार अटाउँने भएको छ । किन्तुः क्यामरामा सबुत–प्रमाण भए जस्तो, त्यो नाटक भित्र कहाँ हुन्छ र, दिनु हाउ..?आखिर सबुत प्रमाणको रूपमा कृति लाई रेकर्ड फायल राख्न खोज्ने अभिलेखीदाताहरुले, उसताका रंगकर्मी साथीहरुको सबुत प्रमाणको रेकर्ड चाहिँ के राखे होलान्..?त्यो कालखण्डहरु खुव सम्झन्छु । समयको उत्छालले किनारा लगाउँदा, दुर्लभ र फगत भए जस्तो नि लाग्छ । उस दिन आफुले÷हामेरुँले गरेका ती कृयाकलापहरु । अहिले सप्पै विस्थापन भए । उसताका कहनै नसकिने दुस्ख सास्तीहरु भोग्यौं । रंगकर्म मार्फत, देश र समाजमा देखिएको बेथिति–विसंगती संस्कृतिप्रती खुव लडी टोपल्यौं । अनि लड्यौं र थाक्यौं पनि । जो सामाजिक, सांस्कृतिक रुपान्तरणको खातीर लडाइँ थियो । उसताक सगरमाथा नाट्य परिवार नामक हामेरुँको नाट्य समूह थियो । जसको पुर्वमा लोकप्रियता शनै–शनै बढ्दै थियो । अबः सुदुर सम्झना भित्र मात्र, मानस पट्लमा खिलहरु गाडेर बाँची रहेछन् ।

फेरि त्यो समय प्रस्तुत नाटकलाई, भिडियो क्यामराले दृश्यहरु कैद, गर्ने भन्ने त कुरै छाडौं । सोच्नु मात्रै पनि दुर की वात थियो । अनि खिच्ने कुरा कहाँबाट आउँनु..? त्यो जमानामा भिडियो फिल्महरु बन्थे । खुब चर्चा–परिचर्चा हुन्थ्यो । हामेरुँको लागि त त्यो कुरा, चन्द्रलोक भन्दा दुरको कुरा थियो । जुनबेला फोटो खिच्ने क्यामराहरु भने, बजारमा भएका ब्याबसायी फोटो स्टुडियोहरुलाई झिकाउँनु पर्दथ्यो । त्यहीँ पनि हामेरुँको पहुँचमा थिएनन् । त्यो जमानामा एउटा क्यामरामेन ल्याएर, एकरिल फोटोहरु खिच्नु भनेको चानचुने कुरो थिएन । जुन एकरिलमा ३६ वटा फोटोहरु क्लिक–क्लिक हुन्थ्यो र त्यति रिल सिध्याउँनलाई, पोईसाको जोहो गर्न, कति गार्हो (गार्हो थियो के । खोई के भन्नू र नि लै…लै । अहिले पो उस–दिनहरु सम्झन्छु । त्यो सम्झनाको कहरले बेश्कनै ऐंठन दिन्छ । आत्मा ईत्छा भित्र, रहरको कहरहरुको पहाड बोकेर खुबै गतिलो रंगकर्मी बनी टोपल्ने, सपनाहरूको सगरमाथा भने चढी रहें, रहयौं । अहिले त्यो उचाईं नाप्छु र भारी गँम् खान्छु अनि सुस्केराहरु हालेर, खुईया काढ्दै ती कठोर अकाट्य पलहरुको आँखाभरी छायाँ तस्वीरहरु उन्छु र अतितको त्यो समबेदनमा, एक थोपा आँसु तुरुक्क चुहाएर सहानुभूतिको लेप, यसो लगाई टोपल्छु । कहिलेकाहीं मादक जस्तो लाग्ने ती पलहरुले, बेश्कनै डाम्न आई पुग्छन् । आइरनमा रातो भएको फलामको ईस्पातले डामे जस्तै गरी के ।

पुनश्चः ती ड्रामा प्रस्तुत गर्दाका फोटोहरु आएसी, आ–आफ्नो थोपडाहरु (अनुहार) निस्केको गणना गथ्र्यौ । त्यसपछी, नाट्यकर्मी कलाकार सप्पैलाई धुलाई खर्च भएको अंशियार भाग भण्डा लाग्थ्यो । पोईसा तिर्यो अनि आफ्नो थोपडा भएको फोटो लग्यो । जो सम्झनाको दस्तावेज प्रमाण मान्थ्यौं । र एल्बममा कैद गर्दै सन्दुकमा लुकाउँथ्यौं । अब भन्नुस् त, त्यस्तो विराट समयताका सिर्जनशिल बनी टोपलेको एउटा नाथे नाट्यकार अनुरागीसंग, त्यो भन्दा ठुलो कृतिको दशी प्रमाणहरु त्यो बाहेक, ऊसंग अरु केनै हुन्छ र..? अबस्य बबुरो खलिफा ज्यानसंग, अहिलेसम्म भएकै येथेष्ट सबुत–प्रमाणनै त त्यति न हो । लौ भनुँ त, शुभेच्छुक दर्शक औं पाठक महोदय ज्युहरु हो, गर्ने के त..? आर्रे..! आँखाहरुले हङगेङछा हेर्ने चीजलाई, लेखकीय आकारमा कृति कसरी बनाँउनु के । यो बबुरो टोप्पा मान्छेको वायोग्राफी प्रोफाईल, त्यो अभिलेखिकरण दस्तावेजमा दस्तखत हुन नसक्दा, कति नि आश्चर्यता, विष्मत र दुःख मानिन । यो कटु–तितो यथार्थबोधले सिर्जनशिलतामा बिचलित हुनुभन्दा पनि, झनै रोमाञ्चित बनें र ऐंना अगाडि उभिएँ । मनो–संवाद भित्र चोर औंला ठड्याएर प्रति प्रश्न सोधनी गरें । ओई…! तेरो कृति खोई..? नाजवाफ भएँ, बनें । अबः मेरो अन्तिम कृति भनेकै समाधिस्थल (चिहान) हुनेछ । कहर मिश्रित आबेगमा यति सितोक्ना थुतुनो जोतेर, त्यो थोपडा लोपारी दिदैं पुर्णविराम लगाई दिएँ।

आलोचनात्मक खेद पनि प्रकट गरिन । बरु उल्टै पुस्तक अभिलेखिकरण कर्ता शुभेच्छुक साथीलाई, अन्तर–हृदयबाटै साधुवाद दिएँ । जसको कारण बल्ल थाहा भो की, रंगकर्मी लेखक र निर्देशकको कुनै पनि सिर्जनाहरु, कृति नहुदाँ अभिलेखिकरण नहुदो रहेछ भन्ने चेत खुल्यो के । अनि पुनःचेत खुल्यो की, नाटक लेख्ने र देखाउँने भन्दा, कितावको लागि नाटक लेख्नेहरु पो, ईतिहासका सदर–साक्षीहरु हुँदारन् । अनि बाँच्दारन् । तिनको चाहिँ गज्जव अभिलेखिकरण दस्तखत हुदों रहेछ के । सो अभियानबाट त्यो ज्ञानचेत पाएँ । र रंगकर्ममा चाहेर–नचाहेर आफै नै, वट् स्लोली–स्लोली ब्रेक लाग्दै गयो र पुर्ण विराम लाग्यो । अन्त अहिले मात्र थिएटरमा आफ्नो प्रतिभाको कला,कौशल सिर्जनाहरु प्रदर्शन गर्ने रंगकर्मीहरुलाई,मेन्जो ढाड्स मिलेको छ । जुन प्रविधि संचारले राहत प्रदान गरेको छ । कम्तिमा उनीहरुको सिर्जनात्मक कार्यहरुलाई अहिलेको प्रविधि संचारले क्याच गर्न सकेको छ, र युटुव च्यानल र विभिन्न सामाजिक संजालहरुमा क्षणभरमै संसारको आँखाहरुले हेर्न सक्ने भएको छ ।


जसले आफैमा सिर्जनात्मक कृति र एउटा गतिलो डकुमेन्ट्रीको आधार स्तम्भ निर्माण गर्ने अवसर प्राप्त गर्यो । अपितुस्अबको रंगकर्मीमा दुःखम्–सुखम् रमाउँनु हुने कलाकारहरुलाई त्यो अभिलेखिकरण दस्तावेजमा आफ्नो नाम र सिर्जना दस्तखत गराउनलाई, निःसन्देह अब कुनै बाधा–अड्चनहरु हुने छैनन् । कम्तिमा हिजोको जस्तो अवस्थाबाट गुज्रनु त परेको छैन । आफुले जस्तो दशी–प्रमाण र डकुमेन्टसहरु,देखाउँन नसक्दाको टिठ लाग्दो र्निहार्यता र जसको हो वा होईन भन्नको निमित्त सदर साक्षीहरु खोजी हिड्नु पर्ने जस्तो नियती त अहिलेका सिर्जनशिल युवा पुस्ताहरुले भोग्नु पर्दैन । त्यो सुन्दर अवसर जो अहिले प्राप्त भएको छ । जरुर छ त,उहीँ सुन्दर कृयसन औं निरन्तर कर्ममा कार्य सम्पादन र एक्टिभिटीजहरुको हो । यति भए वा हुन सक्यो भने आफ्नो प्रशानालिटी वायोग्राफी प्रोफाईलको आधारशिलाहरु,बिस्तारै निर्माण हुँदै जाने छन् । बस् लेखक भएको फर्जी ट्यागको टाँच लागेको छ । हिजो रंगकर्मी हुँदाको प्रमाण दशीहरु,बस्तुगत रूपमा देखाउँन नसक्दाको हैराँन खेप्नु परेको अवस्थामा, यो ज्यानलाई फेरि लेखक भएको सार्बजनिक उर्दीजारी गर्दै लेखककै लेखक भएकाहरुको भिड भित्र हुलेर बाःक्याना के नि याक्थुङ लेखक संघ(यालेस) र लिम्बू लेखकहरुको छाता (संगठन) को गत १५जेठ, २०७६ का दिन, झापा विर्तामोडस्थित नयाँ बसपार्कको राँके होटेलको सभा कक्षमा भेला भएका दिग्गज लेखकहरुले संस्थाको प्रस्तावना सदस्यतामा यो मरनच्याँसे ज्यान पनि लेखक भएको दाबी गरिए जसरी नाम घोषणा गरियो । एक्कासी नाम सुन्दा तिनदाङ भएर विलखबन्दमा आश्चर्य भए ।

अन्तःउक्त यालेसको अध्यक्षको प्रस्तावनामा आदरणीय प्रकाश थाम्सुहाङको नाम सहित २५ जना सम्मिलित सदस्यहरुको नामावली,सम्मेलन सत्रका निर्वाचन संयोजक पुर्व–प्राज्ञ.अमर तुम्याहाङ्ले उद्वघोष गर्नु भयो । त्यो नामवली लिष्टमा आफ्नो नाम पनि सुचीकृत भएको सुनेसी, दर्शक दिर्घामा बसिरा मान्छे, हात उठाउँदै जुरुक्कै उठें । लौड स्पीकरमार्फत सम्बोधन गरे की नोमिनेसन सदस्यता प्रस्ताव उपर आफ्नो नाम बदर गरी दिन विशेष आग्रह गरे । बरु आफ्नो ठाउँमा कोही योग्य ब्यक्ति, जसले हामेरुँको समुदायमा अथाह योगदान गर्दै आई रहेको लेखकीय चिन्तक भएको होस् भन्ने, पुनःप्रस्ताव पेश गरे । तत्पश्चात मञ्चतर्फ अघि गए । र स्नेही मधु केरुङ जी र टंक सेलिङ जीलाई फेरि आफ्नो नाम नराख्न विनम्रता गरे । बरु आफ्नो सट्टामा निम्न ब्याक्तित्वहरु,सेसेहाङ फियाक, सेसेमी से–नाल्बो र डिल्लीश्वर मुसाहाङ अम्याङसालाई चयन गर्न नाम सिफारिस गरें।

टंक जीले घ्यानमंग्न श्रवण गर्दै सिफारिस नामहरु टिप्नु भो र भन्नू भो की, हैत् …!यस्तो कुरो नगरुँ न हो विक्रम जी ब्याक सर्ने कुरो कहाँ गर्ने हो..? झएक निमेष मै फुलिष्टप लगाई दिए । फेरि त्यहीँ प्रस्ताव मधु जीलाई नि, अलिक जोडवलका साथ ध्यानाकर्षण गराएँ । दाई तपाईंलाई त अपरिहार्यता कै रूपमा,पहिलो प्रस्तावना शर्त मै नेमलिष्ट उठाईएको हो । मधु जीले मन्द मुस्कानमा यथार्थ रहस्य नै खोली दिए । र आफ्नो मुखाँ बुचो खाँदी दिए । फेरि तुम्याङ दाईले सिफारिस चयन गरिएका नामहरु,फिर्ता नगरौ । र यसलाई आत्मासाथ गरेर अघि जाऔं आदाङ्बासे भन्नू हुँदै, उस्तै करवलका साथ थप जोड गर्नु भो । अन्ततः आफुले सिफारिस गरेको नामहरु पनि हार्दिक सम्मानका साथ समिति सदस्य भएको दस्तखत गर्दै आफुलाई फुकुवा गर्ने अडानमा सहमति जुर्न सकेन । र यालेस सदस्यता ग्रहणले, लज्जाबोध भएको एहेशास गरें । किनकी हिजो रंगकर्मी हुँदाको सबुद – प्रमाण थिएनन् र भएनन् । आज फेरि लेखक समितिमा दर्ज गराईयो । अन्तः फेरि पनि लेखक भएको सबुद दशी अहिलेतक छैन । उसो त, लेखक हुनुको नियामवली मापदण्ड र आचार संहिता भने, समिति विस्तारको क्रममा लागू गरिएको थिएन । तथापी सो नियामवली मापदण्ड भने,संस्थाको हकमा लागू हुन नितान्त जरुरी छ । समितिमा ध्यानाकर्षण हुन सकोस् ।

भन्नुपर्दा उक्त संगठनवल उत्थानको अस्थित्व उभिएको दिन,उर्जा औं प्रेरणा बाँड्न दायाँ–बायाँ किनारा सदर साक्षीँ थिए,आदरणीय सिर्जनशिल अराजकता अभियेन्ता हाङयुग अज्ञात,पुर्व प्राज्ञ अमर तुम्याहाङ, रंगबाद अभियेन्ता धर्मेन्द्र विक्रम नेम्बाङ र भाषा साहित्यकार दिलेन्द्र कुरुम्बाङ । अतः संस्था पदास्थापंनको माङगेना गरिमा उठाउँन अन्य विभिन्न बिधाका साहित्यकार कविहरुको पनि,उस्तै बाक्लो सहभागिता भएथ्यो । उनेरुँ थिए–प्रकाश थाम्सुहाङ, मुनाराज सेर्मा, रंगबादका चन्द्रवीर तुम्बापो, लिम्बुनी गाउँ कृतिका सर्जक राज माङलाक, अनि लिम्बू भाषिक कलमी हस्ताक्षरहरु सेसेहाङ फियाक,सेसेमी से नाल्बो लिम्बु, सागर केरुङ (राजनीति÷चलचित्रकर्मी), त्यस्तै पुष्पहाङ लोरिङ्देन लोवा, डिल्लीश्वर मुसाहाङ देखिन् लिएर,नवीन सोंचका अग्रणी तन्नेरी पुस्ताका हस्ताक्षर टंक सेलिङ लिम्बू,मुन्धुमी फरक आयामका अभियेन्ता साङसेन वरक (जीतेन पन्धाक),साथै गजलका शेरहरु सुन्दर कुरुप र मधु केरुङ अनि कवि÷साहित्यकार इक्साहाङ चेम्जोङ,र कवयित्री नेतृ सिङजाङ चेम्जोङ पनि एक साथ त्यो अभियानको कित्तामा स–गर्वका साथ उभिएका थिए,देखिन्थे । साथै भन्नुपर्दा,सम्बद्व क्षेत्रका याक्थुङ (लिम्बू) समुदायका सिर्जनशिल कलमी हस्ताक्षरहरु,सप्पै–सप्पैको अनुहारहरु उक्त सम्मेलन कार्यक्रममा हाजीर भा थिए । सम्बद्व संस्थाको समिति चयनमा,यी सबै अनुहारहरुलाई आबद्व एबं अनुबन्धित गरिए, भए ।

पुनश्चःस्मरण रहोस्, उक्त यालेसको संगठन उठान र घोषणा भएको दिन आफ्नो नामवली बदर गर्न माग राख्दै सम्बोधनमार्फत ध्यानाकर्षण गराएँको थिएँ की,यो यालेसले हामेरुँ लिम्बू जातीमा देखिएको बढ्दो ध्रुवीकरण र बिभक्त अनि झाँगिन्दो अन्तर–विरोधहरुको अन्त्य गर्दै,एकठाँममा उभ्याउँन सक्ने संयोजनकारी भुमिका निर्बाह गर्नु पर्यो । किनकी लिम्बू जातीजन्य संगठनहरु, झण्डैं दुई दर्जन जति अस्थित्वमा देखिएका छन् । त्यसले चेतनाको खप्पर बृहत्तर बढाउँदै लगेको सकारात्मक बोध गराए पनि,समुदाय भित्र देखिएको सामाजिक कटुता र अन्तर–द्वान्द्वलाई, भावानात्मक रुपले हार्दिक आत्मियताको साँघुहरु निर्माण गर्न सकेनन्।बरु हामेरुँको दुर्भाग्यता भन्नुपर्छ की, यसले थप बैचारिक मतभेदलाई झन्झन् दुरी बढाउँने मलजल गरे जस्तो अनुभुत गरायो । भारी दुःखका साथ भन्नुपर्दा, यी सम्बद्व संघ,संस्थाले सोचे,भए जस्तो केही पनि नापेनन् । अबःयस्तो बढ्दो संक्रमणकालीन अवस्थालाई चिर्न,यो यालेस.विकल्पको रूपमा उदय भएको बुझ्न सकौं ।

कोही कसैले नाप्न नसकी रहेको इतिहासको यो बेगमा,यसले केही नाप्नु पर्यो । माथीबाट हुन्छ की,तलबाट हुन्छ । यसले नाप्नु चाहिँ अवस्य पर्यो । बस् दर्शक दिर्घाबाट यति शुभकामना तोम्मा गरेंको थिएँ । यसले बिखण्डित उन्मुख हामेरुँको समुदायलाई अखण्डको रूपमा जोड्न र उन्न सक्यो भने मात्र,यस संगठन संस्थाको उठानले न्यायिक संपादन गरेको औचित्यता पुष्टि गर्छ । अनि दिलाउँछ पनि तवमात्र प्राज्ञिकहरुको खप्परै–खप्परले जोडिएको एउटा शक्तिशाली साझा घर निर्माण भएको,यो लिम्बू समुदाय र ईतर लोकले थाहा पाउँने छन् । तत् मानेमा मात्र यो यालेसको अस्थित्व र उठानको भुमिका,आफू समानन्तर उभिएका बग्रेल्ती संघ, संस्थाहरु भन्दा,भिन्न र फरक पहिचानको रूपमा दर्ज हुनेछ । र आफुलाई अरु भन्दा एक कदम अघि,सामाजिक अगुवाको रूपमा उभ्याउँन सफल हुनेछ । सफलताको त्यो कित्तामा उभिन सक्यो भने,भोलिको स्वस्थ इतिहास निर्माणमा,यो मुल–मार्गदशक अभियेन्ता बन्न सक्ने छ । जसको श्रेय लिने अधिकार पनि उसैले लिने छ । अहिलेलाई यति बुझौं की,कलमी विचारमा प्रेम र युद्व समान अस्थित्वमा उभिएका हुन्छन् । जो अवस्था अनुसार अब्याक्त हुनेछन् । देखिने छन्।

अहिले हामेरुँ माँझ देखिएको सामाजिक, सांस्कृतिक, धार्मिक औं राजनीतिमा कटु–मत भिन्नता र बिभक्तमा छन् । यसले सार्है लथालिङगो अवस्थामा दुरगामी प्रभाव पारि रहेछ।हो अबः यस्तो महायुद्व जस्तो देखिने अन्तर –विरोध मतभेदलाई,अविराम गतिमा पुर्र्णिवराम लाग्ने, युद्वविराम चाहिएको हो । अबः वाक युद्व होईन,प्रेम वाक–ल्याण्ड चाहिएको हो ।जसले शान्तिपुर्ण सहिष्णुता बिच, प्रेमवीज अंकुरण गराउँन सकोस् । त्यसले मात्र बैचारिक रुपले उभ्याएको एउटा दर्बिलो घरजम परस्पर जोडिएको अनुभुती गर्ने छ । तसर्थःहामेरुँ भत्काउँनमा होईन, कसरी हुन्छ..? जोड्नमा साफी वल गरौं । हुन त अहिले हामेरुँको समुदाय (अपबाद बाहेक) भित्र जोड्नमा भन्दा,कसरी हुन्छ भत्काउँन मै बढी जोड गरेको देखिन्छ । यी यस्ता विखण्डनकारी द्वान्द्वात्मक क्रियाकलापहरुको,द्वान्द्व ब्याबस्थापन गर्न,गराउँन सहजीकरण तर्फ ध्यानाकर्षण हुनु पर्यो । हुन त बैचारिक द्वान्द्व वा भौतिक रूपमा गरिने द्वान्द्व किन नहोस् । त्यो एक्काशी त्यसको निरुपण हुन सक्दैन । जुन द्वान्द्व ब्याबस्थापनको सवाल भनेकै, द्वान्द्व न्यूनीकरण चाहिँ गर्दै लैजाने हो,भन्न खोजीएको हो । यसले भोलीको दिन आफै नै बिस्तारै अन्तरविरोधको चर्को श्वरहरुको भोलुम सानो हुँदै शुन्यमा हराउँदै जान सक्ने छन् । परन्तुः त्यो माध्यममार्फत विवाद रहित, जातीय पहिचान एबं सभ्यताको अपनत्वबोध हुन र गर्न सकोस् भन्ने हो ।

अतःअन्तिम विट्यौनीमा भन्नुपर्दा,यो संस्मणात्मक विवेचना आलेख तयार पार्दासम्म,सम्बद्व यालेसको इलाममा सम्पन्न–११ साउन २०७६ दोश्रो बृहत बैठकमा हाजिर हुन सकिन । काठमाडौंबाट सोही दिन बिहान दमकसम्म आई पुगेको थिएँ । सो एउटा समबेदना घट्नाको कारण, दायित्वबोध हुँदा हुदैं पनि सहभागि हुनबाट चुकें । सो बारे आदरणीय अध्यक्ष प्रकाश थाम्सुहाङ र स्नेही जीतेन पन्धाक (कोषाध्यक्ष)लाई जानकारी बोध गराएँ । र क्षमा मागेंको थिएँ । पुनःहालसालै यसले मुर्दा शासकेहरुको राजधानीको राष्ट्रिय नाचघर,जमलमा,एउटा मुन्धुमी सांस्कृतिक सौन्दर्यताबोध गराउँने लिम्बू जातीको तङसिङ काव्य गोष्ठी (२८ भदौ –२०७६) बढो भब्यताका सु–सम्पन्न गर्यो । यस्तै राष्ट्र–अन्तर्रािष्ट्रय क्षेत्रमा यसले आफ्नो संगठन विस्तारहरु पनि उस्तै तिब्रस्तरमा उठान गरि रहेछ । आफ्नो भ्यु अफ पोईन्टमा मार्क गर्नुपर्दा,यो ज्यादै उपद्रो उपलब्धिमुलक छलाङ हो के । यो संगठन विस्तार गरे जस्तै,अबः लिम्बू जातिमा देखिएको परस्पर अन्तर–विरोध र खण्डीय विभक्तलाई एकताको सुत्रमा उन्न सक्ने,उस्तै बिचारहरुको विस्तारमा जोड्वल गर्नु पर्यो । अहिले यालेसको थाप्लोमा, त्यो जिम्मेवारी दायित्वभार बोक्नु पर्ने बाध्यता आई लागेको छ । जुन बाध्यताको सहजीकरण नगरी उसलाई एकरत्ति धरै छैन । र सुख छैन पनि । किनकी यो यालेसभित्रका प्राज्ञिक बनेका पहरेदारहरु नै,आ–आफ्नो कित्तामा उभिएर,मुन्धुमी दर्शनको सौन्दर्यता दृष्टिकोण फलाक्नेहरु भएका छौं । जसले गर्दा हिजो हामेरुँको साझा घर नभएको कारण, भावानात्मक दुरी बड्दो थियो।


अबः हामेरुँको बैचारिक स्तम्भको लागि,यालेस. एउटा साझा घरको रूपमा उभिएको छ । यसले मात्र घरभित्र मौलाउँदै गएको, पारिवारीक अन्तर–कलहको द्वान्द्व निरुपण गर्न सक्नेछ । कम्तिमा घर भित्र बाहिरको शत्रु चिन्न र छुट्याउँन सक्ने छ । आफै–आफैबीच प्रधान शत्रुताको रिस–राग र कटुताको आबेग पालेर,परस्पर पारिवारीक घरको जग कहिल्यै बलियो हुन सक्दैन भन्ने भावचेत खुल्ने छ । यति ज्ञानचेत खप्परमा शील उन्यो भने,हामेरुँ बिच भएको बैचारिक अन्तर–विरोधहरुको आबेग र एक–अर्का प्रति गरिने घृणाको उत्कण्ठालाई,सहजै त्याग्न सक्ने छौं । त्यतिखेर मात्र हामेरुँ बिचको गृहयुद्व,सदाको लागी अन्त्य हुने छ । जहाँ हार्दिक आत्मियताको प्रेम अंकुरण हुँदै जानेछ । त्यसले मात्र दिंगो विश्वास र एकताको सुत्रमा हामेरुँलाई सदा–सर्बदा बाँधी रहने छ । अनि मात्र हामेरुँले चाहेको, चिताएको, आँटेको, ताकेको र हाँकेको निश्चित गन्तव्यमा पुग्न सक्ने छौं । जुन दिन एकठाँम उभिने छौं । त्यो उभिएको दिन भन्दा पर, हामेरुँले खोजेको र चाहेको मुक्ति प्राप्ति उति टाढा भने रत्ति हुने छैन । अहिलेलाई बैचारिक वीज यति नै पश्काएँ । बस् ।

अस्तुः यालेसले आफ्नो मुल–मार्ग दर्शन र मुल–मार्गमा÷बाटो नविराईकन,सिंगो याक्थुङ जातीलाई मुक्ति प्राप्तिको यात्रामा, अविराम त्यो गन्तव्यमा पुर्याउँनु सक्नु पर्यो । बैचारिक रूपमा साझा घर निर्माण र स्थापनाको लागि, त्यो आत्मा–इत्छा जागृत गराउँने वल, साथै त्यो आँट र साहस बटुल्ने शक्ति,उनै तागेरा निङ्वाभु माङले यालेसलाई, सदा–सर्बदा आशीर्वाद प्रदान गरि रहुन् भन्ने सेवा तोम्मा गर्दै, सफलताको अग्रिम शुभकामना चढाएँ।

                                                                                                                                               विक्रम फागो वनेम
लेखकः रंगकर्मी हुँदा र यालेस. सदस्य बन्दाको घत लाग्दो यथार्थता चित्रणको संस्मरणात्मक बिबेचना आलेख ।
                                                                                     लेखकः याक्थुङ् लेखक संघको तदर्थ केन्द्रीय सदस्य हुन् । 

सम्बन्धित खवर