इलाम / इलाम कारागारका १५७ कैदीबन्दी एकैपटक बिरामी परेका छन् ।
केही दिनयता कैदीहरु एकाएक बिरामी पर्दै गएको र बिरामी एक अर्कामा सर्दै जाँदा प्रायः सबै कैदीलाई सङ्क्रमण देखा परेको हो । टाउको दुख्ने, छाती दुख्ने, वान्ता हुने ज्वरो आउने लक्षण देखा परेको कारागार प्रमुख प्रदीप श्रेष्ठले जानकारी दिए । ‘एकैपटक ठूलो सङ्ख्यामा कैदी बिरामी परेपछि उपचारमा समेत धौधौ परेको छ,’ श्रेष्ठले भने, ‘धेरै कैदीबन्दी बिरामी परेपछि इलाम अस्पतालबाट चिकित्सकको टोली लगेर कारागारमानै कैदीलाई उपचार गरिदै छ ।’
कारागार साँघुरो भएकाले पनि कैदीलाई सहज उपचार गर्न सकिएको छैन । कारागारको क्षमताभन्दा दोब्बर कैदीबन्दी भएकाले पनि उपचार सेवामा कठिनाइ भएकाले रोग सर्दै गएको हो । ‘शनिबार ७८ जना बिरामी हुदा आइतबार बढेर एक सय ५७ को जना पुग्यो,’ श्रेष्ठले भने, ‘अरू कैदीलाई पनि जोगाउन साह्रै गाह्रो भएको छ ।
’ कारागारमा हाल २६० कैदी रहेका छन् । जहाँ १०० पुरुष र २५ महिलाको क्षमता रहेको कारागारमा २३७ पुरुष, २१ महिला र दुई नाबालक छन् । कारागारमा ११ जना कर्मचारीको दरबन्दी छ । कार्यालयमा चार जना कार्यालय सहयोगी रहेपनि कार्यालय सहयोगीनै अपुग हुने गरेको श्रेष्ठ बताउछन् । यहाँ भएको जनशक्तिले धान्न गाह्रो छ ।’ ‘कैदीबन्दीलाई बाहिर निकाल्दा एकजना पठाउनै पर्छ,’ उनले भने, ‘२४ सैँ घण्टा जस्तो ड्युटी पर्छ ।