भाङबारी स्पोर्टिङ क्लब आत्मानन्द कपको सेमीफाइनलमा - Mangsebung News
  • शनिबार, बैशाख १५, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

भाङबारी स्पोर्टिङ क्लब आत्मानन्द कपको सेमीफाइनलमा


दमक/इलामको माङसेबुङमा जारी १२ औं संस्करणको आत्मानन्द कप फूटबलमा भाङबारी स्पोर्टिङ क्लब झापा सेमीफाइनलमा प्रवेश गरेको छ ।

बिहीबार भएको खेलमा इलाम नगर खेलकुद प्रतिष्ठान इलाम विरुद्ध १–० को कठिन जित निकाल्दै झापा अन्तिम चारमा स्थान सुरक्षित गर्न सफल भएको हो ।

झापाका सनम भुजेलले पहिलो हाफमा गरेको गोल नै जितका लागि निर्णायक बनेको होे । वान भर्सेस वानको पोजिसनलाई सदुपयोग गर्दै भुजेलले जाली चुमाएका थिए ।

प्रतियोगिता अन्तरगत शुक्रबार राजाबास युथ क्लब सुनसरी र एएससी अर्जुनधारा झापाबीच खेल हुने आयोजक समितिका सचिव सरिता राईले बताए ।

किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द ‘सेइङ’ज्यूको ६६ औं शुभजन्मोत्सवका अवसरमा आयोजित प्रतियोगितामा इलाम, झापा, सुनसरी, तेह्रथुम, र भारतको दार्जिलिङ गरी ८ टिमको सहभागिता रहेको छ । प्रतियोगिताको फाइनल १७ मंसिरमा हुने राईले बताए ।


विजेताले नगद २ लाख १ सय ६६ रुपैयाँ र उपविजेताले नगद १ लाख १ सय ६६ रुपैयाँ को साथमा ट्रफी मेडल तथा प्रमाणपत्र पाउनेछन् । त्यस्तै सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोल रक्षक, उत्कृष्ट खेलाडी, उत्कृष्ट डिफेण्डर, उत्कृष्ट स्ट्राइकर, उत्कृष्ट मिडफिल्डर, उदयमान खेलाडी, अनुशासित खेलाडी र बेस्ट कोचरलाई पनि नगद पुरस्कार साथै ट्रफी मेडल तथा प्रमाणपत्र प्रदान गरिने भएको छ ।

प्रतियोगिताका विजेता र उपविजेता टिमलाई किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द ‘सेइङ’ज्यूको ६६ औं शुभजन्मोत्सव १८ मंसिरमा पुरस्कार वितरण गरिने आयोजक समितिका अध्यक्ष मनकुमार आङबुहाङले बताए ।

आत्मा–पवित्र हक्चात यक्चुमको आयोजनामा वर्षेनी माङसेबुङमा आत्मानन्द कप खेलकुद प्रतियोगिता संचालन हुँदै आएको छ । उक्त प्रतियोगिता सम्पन्न गर्न करिब १७ लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ ।

सम्बन्धित खवर