सेवाग्राहीको लागि इलामबाटै सवारी साधन दर्ता र नामसारी - Mangsebung News
  • शुक्रबार, बैशाख १४, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

सेवाग्राहीको लागि इलामबाटै सवारी साधन दर्ता र नामसारी


दमक/पूर्वी पहाडका सेवाग्राहीले सवारी साधनका विभिन्न काम गर्न झापाको विर्तामोडसम्म पुग्नुपर्ने बाध्यता हटेको छ । विर्तामोडमा हुने सबै काम इलामबाटै हुन थालेपछि हज्जारौं खर्च गरेर झापाको विर्तामोडसम्म पुग्नुपर्ने बाध्यता हटेको हो ।

प्रदेस सरकार अन्तरगत यातायात व्यवस्था सेवा कार्यालय इलाममा स्थापना भएपछि पूर्वी पहाडी क्षेत्रका सेवाग्राहीले सहजै सेवा पाउन थालेका हुन् । विर्तामोडमा हुने सबै काम इलामबाटै हुन थालेपछि पूर्वी पहाडका सेवाग्राहीले राहतको अनुभूति गर्न थालेका छन् ।

विर्तामोडमा भीडभाडमा तुरुन्त काम नहुने समस्या झेल्दै आएका सेवाग्राहीले इलामबाट भने चाँडै सेवा पाउने गरेका छन् । आफ्नै भवन निर्माण सम्पन्न गरी गत १ असोजबाट सेवा सुचारु गरेको यातायात व्यवस्था सेवा कार्यालय इलामले सेवाप्रवाह समेत प्रभावकारी बनाइरहेको छ ।

सो कार्यालयबाट अहिले वार्षिक सवारी कर, सवारी साधन जाँचपास, सवारी धनी प्रमाणपत्र (ब्लु बुक) नवीकरण, बाटो इजाजतपत्र नवीकरण, सवारी साधन दर्ता र नामसारी गर्ने काम भइरहेको छ ।

केही समयपछि चालक अनुमतिपत्र (लाइसेन्स) वितरणको काम समेत सुरु गरिने निमित्त कार्यालय प्रमुख दुर्गा दुलाले जानकारी दिए । चालक अनुमतिपत्र (लाइसेन्स) को लागि आवश्यक पर्ने ट्रायल सेन्टरको निर्माण कार्य सम्पन्न भएपनि माथिल्लो निकायबाट अनुमति नआएकाले मात्र काम सुरु हुन नसकेको हो ।

सेवा कार्यालयमार्फत सवारी चालक अनुमतिपत्र (लाइसेन्स) वितरण र नवीकरणको काम समेत सुरु भएपछि इलाम, पाँचथर र ताप्लेजुङका सेवाग्राहीलाई सहजता हुनेछ ।

इलाममा कार्यालय स्थापना भएपछि सवारी साधन जाँचपासका लागि खाली गाडीहरु झापासम्म लैजानु नपर्ने र भीडभाड समेत कम हुने भएकाले काम छिटोछरितो हुने गरेको छ । इलाममा अहिले दैनिक ५० को हाराहारीमा सेवाग्राहीहरुले सेवा लिइरहेको कार्यालयले जनाएको छ ।

कार्यालयमा कार्यालय सहयोगी सहित ८ जनाको दरबन्दी रहेको छ । शाखा अधिकृत आठौंको नेतृत्वमा ८ जना कर्मचारीकै पदपूर्ति छ । त्यहाँ शाखा अधिकृत आठौं १ जन, अधिकृत छैठौं २ जना, सहायकस्तर पाँचौं १ जना, सहायसकस्तर चौथो १ जना, सहलेखापाल १ जना, कम्प्युटर सहायक १ जना र कार्यालय सहयोगी १ जना कार्यरत छन् ।

सम्बन्धित खवर