माङसेबुङ/इरानका सैनिक कमाण्डर जनरल कासिम सुलेमानीको अमेरिकाले हत्या गरेपछि विश्व राजनीतिले नयाँ मोड लिएको छ ।
अघिल्लो शुक्रबार इराकमा सुलेमानीको हत्या भएपछि इरानले इराकस्थित अमेरिकी सैन्य क्याम्पमा आक्रमण गरेपछि मध्यपूर्वमा जारी तनावले युद्धको रूप लिने अवस्था आएको हो ।
जनरल सुलेमानीको अन्त्येष्टी भएको केही घण्टामै इरानले इराकमा रहेकाअमेरिकी सैनिक अखडामा मिसाइल आक्रमण गर्यो ।
अमेरिका र इरान जुहारीलाई लिएर अहिले विश्व पनि दुई ध्रुवमा विभाजित भएको छ । अमेरिकानिकट साझेदार युरोपेली संघले मध्यपूर्वमा हतियारको प्रयोग तत्काल बन्द गर्नुपर्नेमा जोड दिएको छ ।
इयुले अमेरिका र इरान दुवैले सम्वादबाट टकराव अन्त्य गर्नुपर्ने बताएको छ । बेलायतले इराकस्थित अमेरिकी सैन्य क्याम्पमा भएको मिसाइल आक्रमणको निन्दा गरेको छ ।
इराकमा बेलायतका पनि सेना तैनाथ छन् । बेलायतका विदेशमन्त्री डोमिनिक राबले ‘गठबन्धन सैन्य क्याम्पमा इरानको आक्रमण स्वीकार्य नहुने’ भनेका छन् ।
उनले इरानलाई यस प्रकारको आक्रमण नदोर्होयाउन अनुरोध गरेका छन् । जापानले पनि तनाव कम गर्न अमेरिका र इरान दुवैलाई आग्रह गरेको छ ।
जापानका प्रधानमन्त्री शिन्जो आबेले यसै महिना साउदी अरब, युएई र ओमानको भ्रमण तयारी गरेका थिए । मध्यपूर्वमा तनाव बढेपछि उनको भ्रमण रोकिएको छ ।
अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले आफ्ना सेना र कूटनीतिज्ञ पूर्णरूपमा सुरक्षित रहेको भन्दै अमेरिका र इरानसँग अहिलेको अवस्थाबारे चर्चा गरेको बताएका छन् ।
यसैगरी, भारतले आफ्ना नागरिकलाई इरान र इराकको गैरआवश्यक यात्रा अर्को सूचना नआउन्जेलसम्मका लागि रद्द गर्न भनेको छ । पहिलेदेखि नै दुवै देशमा भएका नागरिकलाई पनि भारतले सतर्क रहन र बाहिर निस्कनबाट बच्न भनेको छ ।
पाकिस्तानले इरान र इराक जाने योजना बनाइरहेका आफ्ना नागरिकलाई पूर्णरूपमा सतर्क रहन भन्दै इराकमा रहेकालाई बगदादस्थित दूतावासको सम्पर्कमा रहन अपिल गरेको छ ।
क्षेत्रीय टकरावमा पाकिस्तानले कसैको पक्ष नलिने प्रष्ट पारेका छन् । यसैगरि यूएईले राजनीतिक सम्वादमार्फत तनाव अन्त्य गर्न सकिने बताएको छ ।
जर्मनीका रक्षामन्त्री एनग्रेट क्राम्पले कुनै पनि पक्षको आक्रामकता स्वीकार्य नहुने बताएका छन् । एजेन्सी