सार्वजनिक विदा पुर्नस्थापनाका लागि सडक संघर्ष गर्न जनजातिलाई गृहमन्त्री ‘बादल’को आग्रह - Mangsebung News
  • शुक्रबार, बैशाख १४, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

सार्वजनिक विदा पुर्नस्थापनाका लागि सडक संघर्ष गर्न जनजातिलाई गृहमन्त्री ‘बादल’को आग्रह

काठमाडौं / सार्वजनिक विदा पुर्नस्थापनाका लागि सडक संघर्ष गर्न आदिवासी जनजातिलाई गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले अग्रह गरेका छन् ।

३८औं स्थापना दिवसको अवसरमा नेपाल मगर संघले बिहीबार राजधानीमा आयोजना गरेको कार्यक्रमलाई संबोधन गर्दै आदिवासी जनजातिको चाडपर्वमा कटौती भएको सार्वजनिक विदा पुर्नस्थापनाका लागि आफूले पहल गरिरहेको बताउँदै गृहमन्त्री थापाले सडक र सदनबाट दबाबमुलक कार्यक्रम हुनुपर्ने बताएका छन् ।

‘तपाईंहरुले माघेसंक्रान्ति लगायत आदिवासी जनजातिको पर्वमा दिइँदै आएको सार्वजनिक विदा कटौती पुर्नस्थापित हुनुपर्यो भनिरहनु भएको छ । यो केवल विदाका लागि विदा मात्रै नभइ आदिवासीको पहिचान स्वीकार गर्ने कुरासँग जोडिएको छ’ गृहमन्त्री थापाले भने, ‘यसमा मेरो समर्थन छ । विदाका लागि मैले आफ्नो ठाउँबाट गर्ने पहल गरिरहेको छु । यसका लागि सडक र सदनबाट पनि दबाब दिनुपर्दछ ।’

उनले संघर्षविना अधिकार नपाइने भन्दै विदाका लागि आन्दोलन गर्नुपर्ने बताए । यसैगरि नेकपाका सचिवालय सदस्य समेत रहेका गृहमन्त्री थापाले प्रदेश नं. ५ को नाम मगरात राख्नुपर्ने मगर संघको मागमा आफ्नो समर्थन रहेको बताए ।

गृहमन्त्री थापाले मगरहरुको आन्दोलन जातीय अधिकारका लागि, वर्गीय अधिकारका लागि र सांस्कृतिक अधिकारका लागि भएको बताए । उनले मगरहरुकौ सबै प्रकारको अधिकारको आन्दोलनमा आफ्नो प्रतिबद्धता र समर्थन रहेको बताए । उनले समाजमा विभेद र उत्पीडन रहेसम्म संघर्ष जारी रहने बताए ।

सम्बन्धित खवर