कोरोनाव्याधि र फाल्गुनन्द दर्शनका सान्दर्भिकता - Mangsebung News
  • मङ्गलबार, बैशाख ११, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

कोरोनाव्याधि र फाल्गुनन्द दर्शनका सान्दर्भिकता

थालनी

लकडाउनको कारण कोठामै बसेको करिब डेढ महिना भयो । यो अनौठो भोगाइ भनौ या विश्वव्याधिसँगको लडाई । हेर्दा—हेर्दै, सुन्दा—सुन्दै कोरोनाले पुँजिवादको बाटो हुँदै पृथ्वीभर चक्कर मारिसकेको छ । कोरोनाका कारण मृत्यु हुनेको संख्या लाखौं पुगिसकेको छ । मृत्यु बहिखातामा संख्या निरन्तर उकालो लागिरहेको छ । ओर्लिने छाँट छैन । लाखौं—लाख मानिस कोरोनाले थलिएर मृत्युसँग भेन्टिलेटरमा लडिरहेका छन् । अरबौं मानिस कोरोना भाइरसको त्रासले कोठामा थुनिएका छन् ।

मानव इतिहासमा यो सबैभन्दा ठूलो त्रासदी हो । कोरोनाले अमेरिका, बेलायत, चीन, भारत जस्ता महाशक्ति राष्ट्रहरुलाई घुँडा टेकाएको छ । प्रधामन्त्री, राष्ट्रपति र महारानीजस्तालाई थलाएको छ । वैद्य र डाक्टरको समेतको ज्यान लिइरहेको छ । लकडाउनका दिनहरु सञ्चार माध्यम र सामाजिक सञ्जालमा के आइरहेको छ भनेर ल्यापटपको स्क्रिनमा नियाल्दैमा वितिरहेको छन् । यसैबीच मलाई कैयौं पल्ट मेरो युमा (बोजु) को याद आइरहेको छ ।

म सानो छँदा मेरो युमाको नजिक सुत्थें । वहाँ महागुरुको चेला हुनुहन्थ्यो । महागुरु फाल्गुनन्दको थुप्रै सिवाखाहुन सुनाउनु हुन्थ्यो । ती मध्ये वि.सं. १९८७ मा महागुरु ताप्लिजोङको निगुरादेनमा दिनुभएको प्रवचन धेरै सुनाउनुहुथ्यो । महागुरुले त्यस बेला ‘सिदा पाङदारे मेन्याङना तुङहा तारो । तक्सङिन सेङघा सेङघा न तक्सङ पोङलो (औषधी पानीले नभेट्ने रोग आउँछ । लेक औल र औल लेक हुन्छ’ भन्नुभएको थियो रे । युमाले सुनाउनुभएको सबै कुरा त बुझिएन । तर, कैयौं पटक दोह¥याउनु भएकोले दिमागमा अमिट छाप बनेर बसेको रहेछ । महागुरुले औषधिले निको नहुने व्याधि आउने, जलवायु परिवर्तन हुने कुरा त्यसबेला भन्नुभएको रहेछ । आज त्यहीँ कुरा बारम्बार संम्झिरहेको छु ।

फाल्गुनन्द दर्शनको सान्दर्भिकता

विश्व स्वाथ्य संगठनका अनुसार चमेराबाट कोरोना भाइरस मानिसमा सरेको हो । चीनको ‘जीवित मासु’ बजारबाट कोरोना मानिसमा सरेको अध्ययनबाट खुलेको छ । अर्कोतर्फ विश्वमै भइरहेको तिव्र वन फडानी र कार्वन उत्र्सजनका कारण पृथ्वीमा तापक्रम बढिरहेको छ । तापक्रम बढेपछि मानिस र प्राणीमा रहेको लाखौं भाइरस सक्रिय हुने र तिनीहरुले महामारी ल्याउने अनुसन्धानकर्ताहरुको निष्कर्ष रहेको छ । यसअघि देखिएको अन्य महामारी ‘सार्स’, ‘इबोला’, ‘स्वाइनफ्लु’ ‘वर्डफ्लु’ आदि महामारी जनवारको मासु सेवन र संसर्गबाट भएको अध्ययनहरुबाट खुलेको छ ।

‘प्राकृतिक संरक्षरण र शाकाहारी जीवन पद्धति’ महागुरु फाल्गुनन्द दर्शनका महत्वपूर्ण पाटा हुन । वि.सं. १९८८ बैसाक २४ तत्कालीन लिम्बुवानका थुम प्रमुख, गाउँ प्रमुख, सर्वसाधारणको एउटा महाचुम्लुङ आयोजना गर्नुभयो । चुम्लुङ चार दिन सञ्चालन भएको थियो । चुम्लुङमा थुप्रै विषयमा छलफल भए । चुम्लुङले ७ बुँदे सत्यधर्म मुचुल्का निर्माण गरेको थियो । सत्यधर्म मुचुल्काको तेस्रो बँुदामा शाकाहारी जीवन पद्धति अंगाल्ने विषय उल्लेख छ । त्यसैगरी चुम्लुङमा धेरै छलफल भएको विषय थियो ‘वृक्षारोपण गर्ने’ । महागुरु फाल्गुनन्दले पान्थरको लब्रे र सिलौटीलाई कर्मथलो बनाउनु भएको थियो । सो क्षेत्र नाङगो चौरको रुपमा रहेको थियो । दार्जिलिङको भुसपाते र नेपालका विभिन्न स्थानहरुबाट विरुवाहरु ल्याएर विरुवा लगाउनुभयो । रुख कसैले नकाटुन भनेर मुचुल्काहरु बनाउनुभयो ।

मानिसले प्रकृतिसँग विवेकपूर्व व्यवहार नगर्नाले पृथ्वीमा निकट भविष्यमा अनेकौं महामारीहरुले सताउने वैज्ञानिकहरुले भविश्वाणी गरिरहेका छन् । पृथ्वीमा तिब्र रुपमा तापक्रम बढिरहेको छ । सन् १९८० भन्दा अहिले १ डिग्री सेल्सियस तापक्रम बढेको छ । अहिलेकै दरमा वन विनास र कार्वन उत्सर्जन भइरहे यो शताब्दीको अन्त्यसम्ममा ३—४ डिग्रीले तापक्रम बढ्ने वैज्ञानिकहरुको अनुमान छ । पृथ्वीको तापक्रम बढेसँगै मानिसको शरीरमा रहेको लाखौं भाइरसहरु सक्रिय हुन सक्ने र तीनले मानिसमा महामारी ल्याउन सक्छ भनिन्छ । अर्कोतर्फ तापक्रम बृद्धिले हिउँ पग्लने र हिउँमुनि दबेर रहेका भाइरस सक्रिय हुन सक्छन् । लाखौं मानिसको ज्यान लिएको विफरको भाइरस साइबेरियाको हिउँमुनि दबेर रहेको हुनसक्ने बैज्ञानिकहरुको दाबी छ । वन विनासका कारण वन्यजन्तुहरु गाउँ र शहरका मानिसहरुसँग सम्पर्क आउँछन् । तापक्रम बृद्धिका कारण जनावर र पंक्षिमा रहेको लाखौ भाइरस र व्याक्टेरीया सक्रिय हुन सक्छन् । मानिसले जीव, जनावर र पंक्षीहरुको मासु सेवन गर्नाले जनवारको भाइरस मानिसमा सर्न सक्छ ।

विश्व स्वास्थ्य संगठनले पृथ्वीको तापक्रम बृद्धि निरन्तर रहे सन् २०३० तिर औंलोको महामारी फैलिन सक्ने पूर्वानुमान गरेको छ । प्रकृतिसँग विवेकीहन अन्र्तक्रिया निरन्तर रहे निकट भविष्यमै संसारमा अन्य ठूला महामारीहरु फैलने निश्चित छ । कोरोनाको निम्ति चीन, अमेरिका, बेलायत, भारतलगायतका देशहरुमा ‘भ्याक्सिन’ परीक्षण भइरहेको समाचार आइरहेका छन् । भ्याक्सिन तयार हुन सामान्यतय १८ महिना लाग्दो रहेछ । भ्याक्सिन तयारी हुँदासम्ममा कोरोनाले लाखौं मानिसको ज्यान लिने निश्चित छ । महामारीविद् जोन बेरी र मार्कका अनुसार कोराना मुक्त हुन थप दुई वर्ष लाग्न सक्छ । अन्य मुलुक कोरोना मुक्त नभइन्जेल नेपाल कोरोना जोखिममा रहेको सरुवा रोग विशेषज्ञ डा.सेरबहादुर पुनको भनाई छ ।

राष्ट्रिय विभूति महागुरु फाल्गुनन्दले १९८८ बैसाक २४ मा सत्य धर्म मुचुल्का निर्माण गर्नुभएको अवसरलाई समाज सुधार दिवसका रुपमा मान्दै आएका छन् । तर, यो साल कोरोनाव्याधिका कारण सबै कार्यक्रमहरु स्थगित छन्् । भविष्यमा ठूला महामारीबाट बच्न महागुरु फाल्गुनन्दको ‘शाकाहारी जीवन पद्धति र प्रकृति संरक्षण’ जस्ता दर्शन आज झनै सान्दर्भिक बन्दै गएका छन् । समाज सुधार दिवसको सबैमा शुभकामना ।

सम्बन्धित खवर