सिमा विवादः यान्त्रिक समबेदना र उग्रराष्ट्रवादको पराकाष्ठा..! - Mangsebung News
  • बिहिबार, बैशाख १३, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

सिमा विवादः यान्त्रिक समबेदना र उग्रराष्ट्रवादको पराकाष्ठा..!

 

यो देशमा अहिले फेरि राष्ट्रवाद र देशभक्ती नाराहरुको मुठ्ठी सडकभरी आन्दोलनको रूपमा कसिन्दो छन् । देखिन्दो छन् । मानौं अहिले दलीय कित्ताकाँटबाट को कति राष्ट्रवादी र देशभक्ती बन्न सकिन्छ..? या हुन सकिएला..? भन्नेहरु वीचको घढघडान लडाइँ हुदैंछ । भनौं कि यहाँ अन्तर्राष्ट्रिय स्तरको गतिलै प्रतिस्पर्धात्मक खेलको होडबाजी चल्दैछ । त्यो राजधानीको माईतीघर मण्डलामा देखिएका यी नौंजवान युवापुस्ताहरुको क्रान्तिकारी कर्कश आवाजहरु सुन्दा र देख्दा त्यस्तै बोध हुने गर्छ । फेरि यस्तो राष्ट्रवाद र देशभक्ती नाराका सडक आन्दोलनहरु, कति भए कति । नदेख्या र नभोगेका भए पो । यो हस्ताक्षर कलमीले २०४६ को प्रजातन्त्र प्रार्दुभाव पछी यो राष्ट्रवादको आन्दोलनहरुको तमसाहरुको रमिता कति हेर्दै आईयो–आईयो । जसको सदरसाक्षी आमनागरिकजन नि कति बस्दै आए–आए । त्यसको कुनै लेखाजोखा र हेक्का नै अब रहेन पनि । रहे पनि क्यार्नु नि सत्ताभोगका निमित्त कमिशनमा छिमेकीलाई लिलाम गरि दिएसी दलीय पार्टीका ट्याग लागेकाहरुले किन यो रोनाधोनाको नाटक प्रहशन गरेका हुन् नि..? यस्तो गोहीको आँसु झारेर मुर्दासरी बनाएको राष्टङवादलाई जीन्दाबाद भन्दै सडकमा कुर्लनु कति पनि तिनलाई लाजशरम र हिनताबोध भन्ने नै छैन् । हुन त बेशरम बनेका सत्र थेत्थरहरुलाई के को लाजघीन लाग्दो रछ नि । देश लुटेर खाली लुट्न र घिच्न पल्केका ब्वाँसोहरुलाई ।

काँग्रेस, कम्युनिष्टेहरुले देशमा र देशभक्ती राष्ट्रवादको मिथ्या भ्रमहरुको स्कुलिङ गर्न ज्यादै सफल भएका छन् । नेपालीजन त्यसमा मख्ख, दंग छन् । चुनाव आएसी भोट दिई नै हाल्छन् । यी नेताहरु उसै नि निर्धक्क ढुक्क छन् । आखिर देश लुट्ने जनादेश अर्थात जनताले नै त्यो अग्रधिकार दिएकै छन् । उसबेला देखि (२०४७ र (०७७)अहिलेको यो महाकाली लिपुलेक सिमा मिचिएको आन्दोलनहरुसम्म आईपुग्दा दलीय पार्टीका यी शासके नेताहरु र यिनका हलियादास बन्न पुगेका कर्ताहर्ताहरुको चुरीफुरी अनि हर्कत र हैसियत एकदमै नजिकैबाट बुझ्ने चिन्ने अवसरहरु मिलेको छ । जब यो चर्को देशभक्ती र राष्ट्रवादको नारा र आन्दोलनहरुको भीडहरु जम्मा भएको देख्छु नि, भित्रैबाट नफरत जागृत हुन्छ । फेरि त्यो देश र राष्ट्रियताप्रति भने रत्ति होईन । राष्ट्रवादको नाममा देश लुटीखाने, देश चलाउँने दलीय पार्टीका कार्यकर्ताहरुको आन्दोलनहरु देख्दा एकदमै नफरत लाग्ने गर्छ । जब यी नौंजवान युवापुस्ताहरुले क्रान्तिकारी मुठ्ठी कसेर सडकभरी नाराबाजीहरु उचालेको देख्छु । अतः मलाई तेनारुँको अनुहारभरी लोपारि दिन मन लाग्छ । आखिर नेताहरुलाई मनपरी जे गरे नि छुटदिने कार्यमा क्याबात–क्याबात है भन्दै उचाल्नेहरु यिनै युवापुस्ताका कर्ताहर्ताहरु हुन् । नेताहरुको यो भारतपरस्त ढोंगीवाद र लम्पसारवाद भित्रको यो नाङगो रुप यसैको विस्तारित स्वरुप हो । अनि यो राष्ट्रवादको आन्दोलन त्यसै नौटंकी मोचनका परिदृश्यहरु न हुन् । भलैः यो यस्ता राष्ट्रवादका मिथ्या भ्रमहरुको विस्कुनहरु कहिलेसम्म नेपाली राजनीतिमा देखाई दिई राख्न सक्छौ..? कथित यस्तो खोक्रो राष्ट्रवादको नाराबाजीहरु गर्न लगाएर आम नागरिकजनलाई कहिलेसम्म गुमराहमा राख्ने..? कति दिन बेकुफ बनाई राख्ने..? देशको जनतालाई एक पटक, दुई पटक मूर्ख बनाउँन सकिन्छ, तर सधैंभरी बनाई राख्न सकिन्दैंन । अमेरिकी राजनेता अव्राहम लिंकनको यो उदगार भाव आज पर्यन्त पनि उत्तिकै मननीय छ । जवकी वितेका ईतिहास र घटनाहरुबाट मान्छेहरुले त्यसबाट केहि हासिल गर्न र बुझ्ने, सिक्ने प्रयास गर्दैन भने ऊ राजनेता त के एउटा सामन्य मान्छेको अस्तित्वमा नि अटाउँन योग्य मानिन्न ।
हामेरुँको देशका दलीय शासके नेताहरु यहीँ क्याटगवरीमा दर्ज हुन्छन् । आफुहरु अमिर बन्न र आफ्ना परिवारजन, आसेपासे र नातागोताहरुलाई पोसाउँन मात्र राजनीतिमा ईन्ट्री मारे । र शासक बने । उसै नि झोले कार्यकर्ताहरु त चाप्लुसी भई नै हाले । नेताहरुको चाकडी गर्ने र सरकारी योजनाहरुको टेण्डर हत्त्याउँने र ठेक्कापट्टाको सरदार बन्ने । यानेकी छोटे मालिक जस्तै रवाफ दवाफ देखाउँने । ताकपर्दा डन जस्तै बन्ने अनि आफ्नो नेताहरुको बडीगार्ड जस्तै अंग रक्षक बनी टोपल्ने । बस् यति काफी भएसी यी दलगत नेताहरुलाई निर्धक्क साथ खुलेआम देशको ढुकुटी लुट्न सदा बाटो खुल्ला रहयो । अनि देशको खोलानालाहरु र साँध सिमानाहरु, सन्धी सम्झौंताहरु मार्फत लिलाम गर्ने छुटको मार्ग प्रसस्त भए । जसको सेभ डिफेन्समा यी पार्टीको ट्याग एण्ड लोगो डामेका कर्ताभर्ता बनेका युवापुस्ताहरु काफी भए । जो त्रिशुल डामेर स्वतन्त्र छाडा छोडेको साँढे गोरु जस्तै डुक्राई हिड्ने डन भए, बने । आफ्नो खातीर गर्धन थापी दिने अर्थात ढाल बन्नेहरु लाईन भएसी देशको मुख्य सम्पदा श्रोतहरु लिलाम गर्नलाई छेकबार गर्ने या अवरोध कसले गर्ने..? जसको विरुद्ध प्रतिवाद गर्ने प्रतिद्वन्दी को..? देश लुटीखाने मामिलामा त जसको कुनैपनी प्रतिद्वन्द्वी विपक्षी नै हुदैन् । एकाध हुनेछन् । जसको आवाजलाई संख्याको चापले भ्वाईसलेस पारी दिन्छन् । कि त सत्ताभोगमा ओथारो बस्न दिएर थामथुम मनाउँछन् । नभए कण्डम जस्तै युज गर्दै फ्याँकी दिन्छन् । त्यो भन्दा अझ हद राष्ट्रवादीता देखायो भने वहीँ मदन भण्डारी र जीवराज आश्रीतको चोला टुङग्याई दिए जस्तै क्लोज गरि दिने हो । यो कम्युनिष्टेहरुको आन्तरिक रक्षा कवजको अकाटय कार्यनीति सिद्धान्त जस्तै हो । फेरि आखिर काँग्रेस कम्युनिष्टेहरु भनेका सत्ताभोगका केमेष्ट्री जोडीहरु न हुन् । तँ पनि काले । म पनि काले । काले–काले मिलेर खाउँ भाले न भन्ने हुन् । ब्राण्ड न फरक हुन् । न भर्सनमा फरक । न त लय र तालमा नै फरक देखिन्छन् ।

अब रहयो की देश खुलेआम टेण्डर बोल आव्हानमा लिलाम गर्न पाउँने जनादेश लिन मात्र बाँकी न छ । यी बाहेक भारतसंग नगरिएका सन्धी सम्झौंताहरु बाँकी केही छन..? यो देशमा काँग्रेस, कम्युनिष्ट ट्याग लागेका अन्धभोगी र ढोंगीहरुले देश टेण्डरमा लिलाम गर्न दिने जनादेश यानेकी त्यो बैधता नि दिन सक्छन् भन्नेमा कुनै विमती नै रहेन । शासके नेता र भोट दिने मतदाताहरुको मनसाय र चरित्रमा केही नै फरक छैनन् ।

जसको बानी ब्यहोरा र कर्मभोगहरु देख्दा, जान्दा र बुझ्दै खाली तिनलाई नै मात्र जनादेशको पल्लाभरी दिई रहने हो भने अब देशै लिलाम हुन कतिवेर नै लाग्ला र..? जाबो भारतसंगको साँध, सिमानामा रहेको कालापानी, लिम्पियाधुरा र लिपुलेक नेपाली भुमीमा, भारतले तिब्बतको मानसरोवर धार्मिक तिर्थस्थलसम्म पुग्ने सडक विस्तार गर्यो । त्योसंगै उसले आफ्नो नक्शाभित्र पनि (१६, कात्तिक २०७६ /(1, nov, 2020 ) दर्ज गर्यो । जब गत (२६, बैसाक/(8 may) केही दिन अघीमात्र उक्त विस्तार सडकको भारतीय रक्षामन्त्री राजनाथ सिंहले भिडियो कन्फ्रेरेन्स मार्फत शुभमुहुर्त उद्वघाट्न गरेको सार्बजनिक भयो । त्यसदिनवाट यो उग्र राष्ट्रवादको नाराबाजीहरु, राजधानीको विशेष गरि माईतीघर मण्डलातीर उर्लियो । भारतप्रति तथानाम कडा गाली गलौजका नाराबाजीहरु रन्कियो । भारतीय राजदुताबास घेरी घेराउ समेत गरिए । त्यति मात्रले रिसको आवेग र प्रतिशोधको राग मत्थर नभएसी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला बनाईयो । दहन समेत गरियो । कुनैदिन यो सिङगो देश नै भारतको नक्शामा नामङकित हुन सक्छ । राती सुतेर विहान उठदा भारतनै बन्न सक्ला । त्यस्तो अनपेक्षित रिजल्ट आउट भए गर्ने के..? हुन सक्दैन, नगर्ला र नहोला भन्ने कुनै ग्यारेण्टी छ..? सिमा मिच्नेले, भोलि देशै सिङगो मिची दियो भने..? जसरी तत्कालीन प्रधानमन्त्री लेण्डुप दोर्जेले आफ्नो सार्वभौंमसत्ता सम्पन्न भएको देश सिक्किम (सन १९७५) भारतलाई बुझाई दियो । के हामेरुँको यो देश नेपालले पनि यस्तो नियती नभोग्ला भन्ने के भरोसा छ र..?

आखिर सत्ता र पोईसाको खातीर यी हामेरुँको शासके नेताहरु लेण्डुपे नबन्लान् भन्ने आधार नै छैन । जसलाई एकरत्ति विश्वास नै गर्न सकिन्दैंन । जुन विश्वासिलो आधारहरु नै येनारुँले गुमाई सके । आंसिक रूपमा येनारुँ वहीँ लेण्डुपे प्रवृत्तिमा त्यो चरित्रहरु देखाउँन थाली सकेका छन् । अन्तः यी यस्ता शासके नेताहरुले,यो देशको सार्वभौंमसत्ता र राष्ट्रियता बचाउँन सक्लान् भन्नेमा कुनै आशा राख्ने जग्गा नै छैन् । हैट..! आफै भक्षक जस्ता देखिनेहरु यो देशको पहरेदार रक्षक कसरी बन्न सक्छन..? के यिनिहरु साच्चिकै यो देशको रखवाला यानेकी रक्षक बन्न सक्छन् भन्ने कुनै त्यस्तो विश्वास राख्न सकिएला र..? जोसंग राष्ट्र र राष्ट्रियताको समबेदना नै त छैन । जो यान्त्रिक जस्तै बनी सके । जसको आत्मामा देशै छैन । ऊ त मरि नै सक्यो । भने यस्ता राजनीतिका खलपात्र बनेका नेताहरुमाथी यी उग्र राष्ट्रवादको मुठ्ठी उचाल्नेहरु कसरी ओत लागेका हुन..? अनि यस्तो यान्त्रिक समबेदनाबाट
रसाएको यो अन्धढोंगी राष्ट्रवादको आन्दोलनले देशको राष्ट्रियता र गुमेको भुमीलाई आफ्नो देशको विरासत बनाउँने ल्याकत राख्न सक्लान..? जसले देशको रक्षक बन्ने हैसियत राख्न सकोस् । देश सार्वभौंम सत्ता सम्पन्न हुनुको सवक छिमेकी भारतलाई प्रेमपुर्वक शिष्टताले मार्न सकोस् । बस…..!

प्रजातन्त्र प्राप्तिको यो तीन दशक लामो सत्ताभोगको अभ्यासमा त्यो आधारहरु यी काँग्रेस, कम्युनिष्टहरुले गुमाई सके । येनारुँले छिमेकी भारतसंग साझा सम्झौंताहरु नगरी स्वविवेकले आफै केही नै गर्नै नसक्ने, हुत्ती नभएको बोध आम नेपालीजनलाई सबै कर्तुतका भेदहरु देखाई दिई सके । अझै त्यो मिथ्या भ्रमहरु पालेर नेपाली जनताले येनारुँलाई कहिलेसम्म भोट दिएर देशको पालक बनाई रहने हो..? जवकी यो देश अब येनारुँबाटै खतरा छ । देशको राष्ट्रियता त के सिङगो देश नै यसताका जोखिममा छ । मतलव एम्बुस जस्तै थापिएको छ । जो जतिखेर पनि ब्लाष्ट हुने अवस्थामा छ । जतिखेर नेपाल भन्ने देश किवदन्तीमा ईतिहास भित्र मिथक मात्र बन्न पुग्ला सायद । कि एकादेशमा नेपाल भन्ने पनि देश थियो । जसरी छिमेकी सिक्किम देश कुनै समय सार्वभौंमसत्ता सप्पन्न रहि आएको थियो । भारतले निलेपछी जो अहिले किवदन्ती कथा जस्तो भएको छ । यी यस्ता थुप्रै देशहरु छन् । जो शक्तिशाली देशहरुले निलेका र यहीँ शताब्दीको युगमा नयाँ संरचनाहरुको भुगोलहरु निर्माण पनि भएका राजनीति ईतिहासहरु काफी थपिएका छन् । राजनीति सत्ताभोगमा सम्भव, असम्भव भन्ने नै नहुने रहेछ । जसरी युद्व र प्रेममा जे पनि हुन सक्छ भने जस्तै । जुन त्यो सर्व स्वीकार्य हुन्छ । राजनीतिमा संभव हुने कार्य हुन नसक्ने र असंभव देखिने कार्यचेन् संभव हुने, यो प्राय यसले अनपेक्षित नतिजाबोध गराउँने गर्छ । अन्ततः आखिर राजनीतिमा यहीँ नीति तलमाथि हावी बनि रहने गर्छ ।

अतः हिजोको (६, जेठ, २०७७) संघीय प्रतिनिधि सभाको परिदृश्यहरु हेर्न काफी लायक थियो । जो ओली सरकारले ल्याएको कार्यनीति तर्जुमा तथा विकास योजनाको घोषणामा केन्द्रीत थियो । जुन यो घोषणाको हकदार सत्तारुढ दलका महामहिम राष्ट्रपति विद्यादेवी भण्डारीले (४, जेठ, २०७७) बढो तामझामका साथ गरेकी थिईन् । भने जसको जवाफदेहिताको लागि ओली सरकार आफै सांसद सभामा हाजीर भएका थिए । ऊनी अझै आफ्नो अग्लो कदको राष्ट्रवादको ऐंलान गर्दै कुर्लन्दै थिए । भन्दै थिए की, त्यो कालापानी, लिम्पियाधुरा र लिपुलेक हाम्रै हो । भारतले कब्जामा लिएको त्यो भुमी हाम्रो देशको नक्शामा राखिने छ । अब भुमी पनि फिर्ता गरिन्छ र भारतको सेनाहरु पनि धपाईन्छन् । यो चट्टानी अडान हो । एकरत्ति अदलवदल गरिन्दैन भनेर हाँक दिए । एकफेर फेरि ऊनी अग्लो राष्ट्वादको पगरी गुथ्न अग्नि परिक्षामा उभिएका छन् । उनको यो भारतीय बिस्तारवाद प्रतिको ऐंलानेजंगको हाँकलाई, समकक्षी नरेन्द्र मोदीले कसरी ग्रहण गर्ला, त्यसले नै उनको राष्ट्रवादको मोहराको नकाव बाहिर सामुन्ने आउँने छ । या देखिने छन् । बस्तुतः स्मरण रहोस् कि यो सिमा विवादको यथार्थ सत्य, तथ्य बुझ्नलाई दशक अघि निर्माण भएको नेपाली सिने चलचित्र ‘दशगजा’ हेरे काफी छ । जसलाई नवल खड्काले निर्देशन गरेका हुन् भने राजेश हमालले प्रमुख भुमिका खेलेका छन् । प्रस्तुत चलचित्रले देशका यी नेताहरु कति राष्ट्रवादी हुन् ? भन्ने यथार्थलाई चित्रण गरेको छ ।

बडे भैया र छोटे भैयाको अन्तर सम्बन्ध:
भारतले नेपालका अघि,आफुलाई बहुत शक्तिशाली र बढेमान भएको दलिल पेश गर्ने गर्छ । सोही मानेमा उसले आफुलाई बडे भैया र नेपाललाई छोटे भैयाको दर्जमा उभ्याएको हो । हुन पनि देशको भौगोलिक राजनीति संरचना, औद्योगिक विकास र जनसंख्या चापसंगैको आर्थिक स्वरोन्नतीले गर्दा भारत आफैमा पनि एसिया मुलुकमा चीनपछीको विकासोन्मुख देश पनि हो । त्यसमा सामरिक हिसावले पनि, जब्बर्जस्त उदाउँदो शक्तिशाली देशमा पनि परिणत हुँदै गएको हो । तथापी भारत आफ्नो देश र जनताको हकमा बहुत अच्छा नै छन् । जो हामेरुँको देशको शासके नेताहरु र जनता(अपबाद बाहेक) वीच कुनै तुलना नै गर्न सकिन्दैन । तर अफसोंच त यो बात छ की भारत छिमेकी देशहरुसंग भने बहुत वक्तिमिजी ब्यहोरा र चरित्रहरु नाङगो रूपमा देखाउने गर्छ । भारतीय विस्तारवाद उसको राष्ट्रिय योजना नीतिमा पहिलो शर्त जस्तै नै हो । छिमेकीहरुसंगको लेनदेनमा उसको एउटा अभिष्ट स्वार्थ जरुर हुन्छ । न्ष्खभ ७ त्बपभ भएपछी, उसले केही पाउँनु पर्ने शर्त सहित त्यो कठोर आशाहरु राख्छ राख्छ के । भारतीय शासकहरुको राजनीति आचरण र व्यबहार, हामेरुँका नेपाली शासके नेताहरुलाई गज्जव थाहा छ । भारतको सिम्बोलिक बडी ल्याङगोईज बुझ्न नेपाली यी शासकहरुलाई उसको ईशारा नै काफी छ । यति न हो सार्वभौंमसत्ता सम्पन्न देशका, शासके नेताहरुको औकात र हैंसियत । बडे भैयाको सम्मुख छोटे भैयाको हविगत क्षमताको वायोपिक प्रोफाईल यति बुझे काफी ।

भलैः नेपाल भारत वीचको अन्तर सम्बन्ध रोटी र बेटीको भन्ने गरिन्छ । जुन यो यथार्थ पनि हो । सबैभन्दा नजिकको छिमेकी साथी पनि उहीँ हो । आपत बिपतमा पहिलो हात दिने र साथ दिने पनि आखिर उहीँ नै हो । अन्ततः टाढाको देवता भन्दा, नजिकको भुत नै बढी कामलाग्ने हुन्छ । यो कथन सोह्रै आना मुनासिफ र ब्याबहारिकता पनि हो । भन्नुपर्दा, नेपालले त्यस्ता कयौंन राष्ट्रिय विपत्तिहरुको सामना गर्दै आई रहनुको परेको छ । त्यस्तो संकटकालीन विपत्तीमा पहिलो काँध थापी दिने त भारत नै हो । अनि मात्र दोस्रो, तेश्रो मुलुकहरु सहयोगी हातहरु बढाउँन आउने गर्छन् । अहिलेको यो कोरोना भाईरस (कोभिड १९) को संक्रमणकालीन त्रासदीपुर्ण समय वीचमा उसले स्वास्थ्य उपचार सामग्री लगायत औषधिमुलो चीजहरु पठाई दिई रहेछ । वास्तवमा ऊ आफै पनि कोरोनासंग महायुद्व लडी रहेको छ । यस्तो रणसंग्रामको युद्व मैदानबाटै पनि उसले उक्त सहयोग सामग्रीहरु उपलब्ध गराई दिएर आफू छिमेकी हुनुको पहिलो दायित्व धर्म निभाउँन पछी परेको छैन् । वाह्य लोकले देख्दा पनि भारत बहुत अच्छे रहा हुआ । भन्ने तारिफ, प्रशंसा र गुणगान गर्न कञ्जुस नै गरे पनि,अन्य लोकले गर्छ नै क्यारे । आखिर जतिसुकै उसले वक्तिमिजी हर्कत देखाए पनि, जसको सहयोगदानको निम्ति आपको बहुत–बहुत शुक्रीया हे दोस्त त भन्नै पर्यो । किनकी गुणले गुणलाई कहिले मार्न सकिन्न । बरु बैगुनीलाई भने गुणले मार्न सकिन्छ । बस् ..!

अतः भारतको एउटा सुत्र छ । जुन सुत्र आफैको हकमा मात्र लागू गर्छ । सह–अस्तित्ववादमा समान स्वीकार्यता उसलाई छैन । भन्छ खीर मागेंङगेतो ओ देङगें । भारत मागेङगेतो झीर देङगें । उसको बोर्ड सिमानाहरु तलमाथी भए, गरिए, ऊ लड्न, मार्न र युद्व गर्न नि तयार रहन्छ । उसको भुमीबारे छेडछाड र वक्तिमिजी कुराकन्थ गरे को,भएको, सुन्यो भने पनि एकरत्ति सहन गर्न सक्दैन । तर बिडम्बना यता हामेरुँको देशको सिमा स्तम्भहरु बर्षौं अघीबाट थिचोमिचो गर्दै खुलमखुल्ला भोग गरि रहेछ । सिमा मिच्दाखेरी उसलाई (नेपाल) नि दुख्छ । रिस उठ्छ । झोंक चल्छ भन्ने विवेकी हेक्का भारतले कहिल्यै राख्न सकेन । यहीँ हो दोस्रोको अस्तित्व स्वीकार गर्न नसक्नु । ऊ आफू बडेमान भैया हुनुको, उसको अंहकारको हुँकार हो । यो उसको छोटे भैया(नेपाल)प्रती गरेको अनुदार हेपाहा प्रवृत्ति हो । म बीना रत्तिभर उ m(नेपाल) माथी उठ्न र बाँच्न सक्दैन भन्ने भ्रमभित्र उसको दम्भ र हेयको दृष्टिकोण रहि आएको छ ।

त्यहीँ भएर बेलाबेलामा नाकाबन्दी लगाई टोपल्छ । नेपालीजनको शक्ति चेकजाँचको मापन तौली हेर्छ । त कहिले ई यस्तै सिमा स्तम्भमा निहुँ निकाल्दै जोरी खोज्दै आईपुग्छ । खाली हेपेर सिमा मिचाहा विवाद त कयौंपटक उसले अघि ल्याई दिई सकेको छ । जसको लेखा जोखा नै छैन । बडे भैयासंग सबकुछ भएकै कारण यो छोटे भैयाले सहनु परेको छ । सहन गरेरै उसको अधिनायकत्वमा बाँच्न विवश हुनु परेकोछ । सहेर कोही सानो होईन्दैन भन्ने दार्श्निक कहावतलाई शिरोपर गर्नु परेकोछ । ऊ आफै भने मेरा भारत महान हे भन्ने राष्ट्रियवादी स्लोगान नाराका साथ गर्जी रहन्छ । खैर… ब्याबहार त भने उसको भावना भने संकिर्णताले जरजर भएको छ । महानताको ढ्वाङ पिटाईमा उसको छातीको चौडा भने बहुत साँघुरो छ । जहाँ कोही पनि अट्न सक्दैन । जो सम्भव नि छैन । हो यस्तै साँघुरो घेराबन्दी भित्र ठूलो देशका शासकहरु भने मन सानो पालेर देश हाक्न चाहन्छन् । अनि उहीँ फेरि छोटे भैयासंगको (नेपाल)औकात नापी टोपली रहन्छ । उसै हुर्मत पनि लिन खोजी रहन्छ । आरे..! बडे भैयाके ये कौंनसी बडा महान भारत हे ये..? उफ..! तुमको ये बडो अजिवसी बात सुनकर हमारें नेपालीलोग बहुत घुस्साके साथ नफरत और बहुत नाराज हुए जा रहा ये । सोंचलो बडे भैया..? ये हमरा पुराने रिस्ताकों लम्वे शदियौंतक बढाना चाहते हे या येसींपर खत्तम कर्न चाहते हो..? ये बढे भैया होनेसे नातेपर, ये आपका जो मर्जी हे..! पर सोंचलो ?

बडे भैयासंगको पछिल्लो सिमा विवाद र वाक युद्व 
छोटे भैयासंग भएको उसको स्वमित्वसंग यी बडे भैयाले जहिले तहिले सिमा मिच्दै निहुँ खोजी रहयो । एकपटक, दुईपटक पनि होईन । बारबार थिचोमिचो गर्दै हेप्ने कार्य जारी राख्यो । सिमाना विवादबारे तलमाथी भएको र सानोतिनो घम्साघम्सीको वाकयुद्व भने कति भए, भए । जसको साँधी सिधै छैन । त्यो महाकाली होस् की सुस्ता होस् या मेचीको जंगे पिलरको होस् । साँध, सिमानामा बढे भैयाले अर्घेलो नगरेको त कुनै समय नै छैन । प्राय सिमा स्तम्भमा सुरक्षार्थ राखिएका भारतीय सुरक्षाकर्मीहरुको सैनिक रवाफ र दम्भका कारण, सिमा अतिक्रमणको विरुद्ध उभिन्दा, देवनारायण यादव र गोविन्द गौंतम जस्ता देशप्रेमी नेपाली छोरोलाई गोलीले उडाई दिए । नेपाली यी दुई युवाको ज्यानै लिंदाताक पनि नेपालीहरु भने ज्यादै संयम बने । यी सुरक्षाकर्मीहरुको दादागिरीको हर्कतहरु देखाउँनाले यी यस्ता राष्ट्रिय विवादहरु एक अर्काका देशहरु प्रती आउँने गर्छन् । यथार्थमा भएको सास्वत पनि यहीँ नै हो । अझ बडे भैया भन्दा पनि माथी अर्को शक्तिशाली छिमेकी देश चीन छ । ऊसंग पनि कहिले काहीँ साँध, सिमाना उहीँ घम्साघम्सीको खेल हुनेगर्छ ।

चीन विश्व मै अमेरिकापछी दोस्रो उदाउँदो शक्तिशाली देश पनि हो । ऊ अहिले चौतर्फी आलोचना र दबाबवीच घेराबन्दीमा झेलिएको छ । कोरोना भाईरस उब्जाएको अमेरिकी आरोप देखि लिएर आफ्नै घरभित्रको आन्तरिक किचलोले पनि चीन अप्ठ्यारो स्थितिको सामना गरि रहेको छ । त्यसमा भारतसंगको उसको विवाद यसअघि र अहिले पनि सिक्किम सिमा क्षेत्रको दोखलुममा उनेरुँ (दुबै सिमा सुरक्षाकर्मीहरु)वीच हात हालाहाल नै भएको थियो । चीनसामु भारत निकै स्वंयम र धर्यतापुर्वक खडा देखिएको छ । तर उसले नेपाललाई हेपे जस्तो र दुर्नियत ब्याबहार नगरिए पनि, चीनले आफ्नो शक्तिको रवाफ भने देखाउँदै आई रहेछ । यसलाई भारतले नेपालप्रति देखाएको आडभरोषाको प्रतिकात्मक रुपमा लिएको छ । जसको कारण यो लिपुलेक सिमा विवादलाई यहीँ चीनले उक्साईएको वलमा नेपालले निहुँ खोज्ने आँट बटुलेको हो भन्ने भारतको विश्लेषणात्मक बुझाई छ । यी दुई शक्तिशाली देश वीच औद्योगिक विकासको प्रतिस्पर्धा संगसंगैको, सामरिक महत्वताको आन्तरिक लडाईं नै हो । विश्व मानचित्रमा सुचाङकको लिष्टमा भारत, आफुलाई नि आर्थिक उन्नतीसंगै सामरिक रुपले शक्तिशाली हुने भोक गान्धी परिवारहरुको उदयसंगै लागेको हो । यो त्यसैको निरन्ततामा भारत एसिया मुलुकमा चीनपछी,उदाउँदो दोश्रो शक्तिशाली देश नै हो । यी दुबै देशले सिमा क्षेत्रमा,आ–आफ्नो सैनिक शक्तिको संख्या बढाउँदै लगेका छन् । चीनले आफ्नो सैनिक दस्तालाई तयार रहन आदेश दिई सकेको छ । सामरिक हिसावले चीन र भारतले सिम्बोलिक रूपमा आ–आफ्नो पोजीसनमा सैन्य दस्तालाई रेडी राखी सकेका छन्।दुर्भाग्यपूर्ण यो युद्वमा परिणत भए,यसैले तेस्रो विश्वयुद्वको आमन्त्रण गर्नेतर्फ डोर्याउँन सक्नेछ । उता भारतले पनि लिपुलेकमा थप सैन्य दस्ताहरु बढाउँदै लगेको देखिन्छ । जसको यो सिग्नलले भारत पछी नहट्ने संकेतको मनोविज्ञानको प्रभाव छोड्दैछ । भने त्यहीँ शक्ति सञ्चयको चेपुवामा नेपाल भने वलिको बोको बन्दै आईरहेको छ । मानौं यी दुई शक्तिशाली देशको हकमा नेपाल भने प्रयोगशाला विधि जस्तै क्रीडास्थल बन्न पुगेको छ । यो कमजोरीताको खुलेआम परेड खेल्न दिने मौका यिनै शासक भनौंदाहरुले दिई रहेछन् । यसले नेपालको सार्वभौंम सत्तामाथीको ठाडो खेलबाड गरि रहेको छ । तर दुर्भाग्यपूर्ण नेपाल सरकारलाई भने लुतो न कन्याँई ।

भलैः पछिल्लो पटकको यो कालापानी, लिपुलेकको सिमा वाकयुद्व पनि त्यसैको निरन्तता मात्र हो । सन १९६२ मा चीन र भारत वीचको सिमायुद्वमा भारतले पराजयता भोगेपछी नै महाकाली तरेर नेपाली भुमी अतिक्रमण गर्दै अगाडि बढे । त्यो अतिक्रमण गर्ने क्रममै यी भारतीय सुरक्षाफौज लिपुलेक आई पुगे । त्यहीँ बगेको खोलालाई कालीनदी भनेर,उनेरुँले नै आफै नामकरण गरि घोषणा गरि दिए । भन्नुपर्दा त्यहीँ कालखण्डदेखि नै भारतीय सुरक्षा बलको फौज सन (१९६२) मा कालापानीमा क्याम्प बनाएर बस्न पुग्यो । उसले ३७२ बर्ग किलोमिटर भुमी अतिक्रमण गरि भारतीय सेना, सिमा सुरक्षा वल (एसएसबी.) र इण्डो टिबेटियन पुलिस फोर्स (आईटिबिटी) का शिविर क्याम्पहरु खडागरि राखेका छन् । त्यसअघि सन (१९ ५७ देखि नै त्यस ठाउँमा उनेरुँको भारतीय स्पेसल पुलिस फोर्स (एसपीएफ)को चेकपोष्ट राखि सकेको थियो । नेपालको हकमा यो ३७२ बर्ग किलोमिटर क्षेत्रफल भनेको देशको सबैभन्दा सानो जील्लाको रूपमा चिनिएको भक्तपुर भन्दा तीन गुणा बढी ठुलो भु–भाग गुमाई रहेको छ । जवकी भक्तपुरको क्षेत्रफल एक सय १९ बर्ग किलोमिटर मात्र रहि आएको छ । यथार्थता के हो भने सन (१८१६) को सुगौली सन्धीको धारा ५ को कबुल अनुसार लिम्पियाधुरा कालीनदीको नै मुहान हो । जुनचेन् नेपाल–भारतको मुख्य यो नदी नै सिमाना स्तम्भ हो ।

अतः सन (१९६२) मा भारत चीनको सिमा युद्वका कारण यो लिपुलेक नाका बन्द भएको थियो । जुन यो लिपुलेक नाका खुलाउँन कुटनीतिक रूपमा तत्कालीन भारतीय प्रधानमन्त्री राजीव गान्धीले सन (१९८८) मा चीन भ्रमण गरे । र भ्रमण बर्षको चार बर्षपछी सन (१९९२) मा मात्र सो नाका चीनले खुलायो । तवमात्र लिपुलेक हुँदै ब्यापारिक बजार ब्याबसाय गर्न र नागरिकजनको लागि जो अहिलेसम्म सहज यात्रा बनी दिएको छ । जुन यो २०४ बर्षपछी (सन (१८१६–२०२०) पुनः साँध सिमानाको विवादले पुनारालोकंन गराएको छ । जो कि भारतीय सेनाले अहिलेसम्म सो भुमीमा बेसक्याम्पको टुकडी राखेर परेड खेली रहेको छ । भने भारतले कब्जामा भोग गरि रहेको यो नेपाली भुमी अहिले ५८ बर्षपछी (१९६२–२०२०) नेपालको नयाँ नक्शामा गाभेको छ । विशेष त राजधानीमा कोरोना आँतकको लकडाउनवीच पनि भारत विरोधी आन्दोलनको चर्को नाराबाजीहरु गुञ्जियो भने सामाजिक संजालमा उस्तै विरोधका खरो टीका, टिप्पणीहरुले भरिका थिए । संयोग पनि कस्तो भने, नेपाल–भारत कोरोना आँतकवीच लकडाउन रहेको बेला उता उसले कालापानी लिपुलेक हुँदै तिब्बतको मानसरोवरसम्म पुग्ने नयाँ मार्ग खुलेको शुभमुहर्त गर्यो ।

यता त्यसको लगतै नेपालमा राजधानीको सडकहरुमा भारत विरोधी कडा आन्दोलन र चर्को नाराबाजीहरु भए । सामाजीक संजालहरुमा नि उस्तै विरोधका खरो टीका–टिप्पणीहरु गरिए । जसको कारण भारत सरकार र नागरिकजन उस्तै नाराज र घुस्सामा बदलियो ।

संघीय सांसद सभामा सरकारको कार्यनीति तर्जुमा तथा विकास योजना प्रस्ताव उपर जवाफदेहिता बहन गर्न, प्रधानमन्त्री केपी.शर्मा ओली आफै सांसद भवनमा हाजीर भएका थिए । उनले भारतप्रति गरेको कटाक्ष सम्बोधनले भारतीय सरकार, मिडियाकर्मी र नागरिकजन बहुत आक्रोशित बने । ओली सरकारले कोरोना भाईरस नेपालमा भारतबाटै प्रबेश गरेको दावी गरे । भने जुन कोरोना चीनको नरम भएको र भारतको अझै खतरनाक कडा रहेको टिप्पणी गरे । जो सिमा विवादको भुमी नेपालकै रहेको र नेपालकै नक्शामा राखिने अनि भुमी पनि फिर्ता गराई राखी छाड्ने, प्रतिबद्धता सहितको ऐंलानेजंगको
अडान लिने हाँक पनि दिएका थिए । अपितुः अझै उसको त्यो घुस्सामा आगोमा घ्यु थप्ने कार्य भने, नेपालको नयाँ नक्शाङ्कन स्केच निर्माण र आधिकारिक घोषणा जारीले गर्यो । जुन गत ७, जेठमा नेपाल सरकारको तर्फबाट भुमीसुधार तथा ब्यावस्थामन्त्री पदमा अर्यालले नेपालको नयाँ नक्शाको लोकार्पण सार्वजनिक गरेकी थिईन् । यसले अहिले थप दुबै देशको सरकारी मिडिया हाउस र विभिन्न सामाजीक संजालहरुमा एक अर्काप्रति आरोप प्रत्यारोपहरुको चर्को जुहारी नै चली रहेको छ । अर्थात सोच्नै नसकिने वाकयुद्व चली रहेको छ ।

विशेष गरेर भारतीय मिडियाहरु बढी आक्रोशित देखिएका छन् । जसको काउण्टर दिन नेपाली मिडियाहरु पनि उनेरुँ भन्दा फरक देखिएको छैनन् । तेमेरुँ (भारतीय) भन्दा हामेरुँ (नेपाली) पनि के कम । वीर गोर्खालीका सन्तानहरु हौं भन्दैं युद्वको ऐंलानजंग गरे झैं हाँक दिएको बुझ्न गार्हो छैन् । उता भारतीय मिडिया हाउसहरु भने नेपाली जनसंख्या भए जति त आफ्नोमा सेना र प्रहरीहरु भएको उपहासपुर्ण दम्भीत ऐंलान गरि रहेछन् । आफुहरु बहुत शक्तिशाली भएको र युद्वको ऐंलान भए तहस नहस गरि दिनेसम्मको धम्की दिन उनेरुँ पछी परेको छैनन् । मानौं यी दुबै देशका मिडिया हाउसहरुको यो अराजक बिचारहरुको प्रक्षेपणलाई हेर्ने हो भने, अब युद्वको घोषणा हुन मात्र बाँकी छ । भन्नुस् न दुबै देशको सरकारले राजनीति कुटनिति संवाद मार्फत यो विवाद सुल्झ्याउँन अघि नै यी मिडियावालाहरु युद्वको अपील गर्न हतास देखिन्छन् । मतलव अब डेट तोक लगाएर लड्न र भिड्न आओ भनेर उर्दी गर्न मात्र बाँकी छ जस्तो देखिएको छ । हातलाई भन्दा जाँतोलाई खसख भने जस्तो भा छ । यो पनि भावबेगमा देखिएको उग्र राष्टबादको पराकाष्ठा हो । मिडियावालाहरु मात्र युद्वको जेहाद छेड्दा सरकार प्रमुखहरु भने मुकदशकको रूपमा जर्ज बस्लान् सायद । खासमा सरकारी मिडिया हाउसहरु भन्दा पनि प्राईभेट online news tv.हरुले,खासमा अराजक सन्देशहरु संप्रेसण गर्नमा उद्वेलित बनेका छन् । जसले सार्वभौंम राष्ट्रिय गरिमाको हकमा देशको माहोल खलबल्याउँन र भड्काउँनमा बढी जोड गरेको देखिन्छ । भारतमा सवसे बढी तेजको हुँकार पेश गर्ने आजतक टिभी.उस्तै अराजक भएको छ । बिरात्तेजक कथित मिथ्या भ्रमहरुको समाचारहरु संप्रेसण गर्नमा उसको स्लोगान सवसे बढी तेज नै काफी हुँदै गएको छ । त्यस्तै अन्य z news tv. अनि ABP news tv हरु पनि उस्तै नेपाल विरुद्ध खनिएका छन् । उसो त नेपाली सम्पुर्ण मिडियाहरु पनि भारतको अंहकारको उछित्तो काड्न एकसाथ छन् । भन्नुपर्दा कोही किसिसे कम नहीँ के ।

परन्तुः सन्ध्याँरी छिमेकीहरु वीचको यो सिमा विवादले मिडिया हाउसहरुकै भाऊ बढाई दिएको छ । भने झन् युटुवरहरुको भाऊ उस्तै आकासिएको छ । यिनले नै दुनियाँको विचारहरु कलेक्सन गरेर एक आपसमा द्वन्द्व बढाउँने र सामाजीक सहिष्णुताको सदभावको दुरी बढावा गर्नमा ज्यादात्तर सफल देखिन्छन् । पछिल्लो विभिन्न तह र तप्काका ब्याक्तित्वहरु मार्फत लिईएको, दिईएको अन्तर्वाताहरु बुझ्नलाई काफी छन् । दलीय नेता देखि लिएर तिनका कार्यकर्ता अनि नागरिक समाजका अगुवा लगायत सामाजीक अभियन्ताहरुसंगको संवाद, बहस वा छलफलहरुले एक अर्काप्रति गरेको समिक्षात्मक टीका टिप्पणीहरुले नेपाली समाज झनझन् ध्रुवीकरणमा विभाजीत हुँदै गएको देखिन्छ । यसले एकता होईन, अझ समाज बिग्रहमा बदल्ने तर्फ लैजादै गरेको प्रतीत गराउँछ । यी यावत किचलोहरु आउँनु र समाज लथालिंग अनि भताभुंग देखिनुमा यो देशको शासकहरु बहुत जीम्मेवार छन् । देश र जनताप्रति लोकतान्त्रिक शासकहरुले गरेको शासकीय ब्याबस्थाको नौटंकी प्रहसन अनि एकाँकी रुखो राजनीति ढोंगले देशको कायाचोला कसरी फेरिन सक्छ..? खोक्रो राष्ट्रवादको कार्यशैलीले देश र जनताको सामाजीक, सांस्कृतिक रुपान्तरण हुने अपेक्षा नराखे नै हुन्छ । अब यी कम्युनिष्ट, काँग्रेसले सत्ताभोग गरुञ्जेल यो देशको र जनताको हविगत सदासर्बदा यहीँ नै मात्र रहिरहनेछ । यसो भनी रहन्दा यी दुई पार्टीको ट्याग नलागेका र लोगोले नडामिएका नेपालीजनले भने पक्कै सहमती जनाउँन सक्नु हुन्छ होला सायद । तथापी देशमा आमूल परिवर्तन ल्याउँन र नागरिकजनमा सचेतनाको अभिमुखी जागरण अभियानको मलजल गर्नमा यी मिडिया हाउसहरुको शासकहरुको भन्दा झनै ठूलो हात छ ।

तर अफसोच कि बात त यो छ कि, नेपाली मिडियाहरु केही अपबाद बाहेक राजनीति पार्टीहरु परस्त दास बनेका झोले कलमवाजहरु नै काफी छन् । खाली तिनका भजन किर्तन गाउँने र जस्तै अपराधीमुलक कार्य गर्दा पनि,आँखा चिम्लिएर उसैप्रति वचाऊको रक्षक बन्ने त कति छन् कति । आन्तः कहिलेसम्म यी शासकीय नेता र पार्टीहरुको गुलाम गर्दै लम्पसारवादमा मिडियाकर्मीको धर्म निर्वाह गर्ने हो..? अधिकांसहरुको भिडमा केही त्यस्ता राजनीति पार्टी निरपेक्ष मिडियाकर्मीहरु पनि छन् । जसले निरपेक्ष रुपमै न्यायिक लडाइँ लडीरहेका छन् । बाँकी त राष्ट्रवादको नकाव लगाएर देश र जनतालाई भजाउँने र घृणा, द्वेष फैलाएर आनन्दमा रमाउँनेहरु मात्र बढी देखिएका छन् । अहिले देखिएको यो राष्ट्रवादको नाङगो रुपभित्र युद्वको ऐंलानजंगको उर्दी यथार्थमा यहीँ हो ।

यो उग्र कथित मिथ्या राष्ट्रवादको(अपबाद बाहेक) कर्कसपुर्ण नाराबाजीले न देश जोडिन्छ । न त नागरिक समाज नै । त्यहाँ न मानवीय समबेदना छ । न त हार्दिक सम्मान नै छ । अन्तः यस्तो राष्ट्रवादले जोड्छ कि भत्काउँछ..? जवकी राष्ट्रवादले मानवता, समबेदना र हार्दिकता बाँडी रहन्छ । शत्रुलाई युद्वको हुँकार पेश गर्दैन । बरु प्रेमपुर्वक हार्दिकता बाड्छ । प्रेमपुर्वक नै उसको आडम्बरपुर्ण शक्तिलाई ध्वास्त र परास्त पारिदिन सक्छ । खैर ः थाप्लोमा राष्ट्रवादको देश बोक्नेहरुको हृदय ज्यादै सफा र फराकिलो हुन सक्नुपर्छ । जो की यो आकाश जस्तै फराकिलो हुन सकोस् । जहाँ संसार अटाउँन सकुन् । त्यसले न देश र राष्ट्रिय एकतालाई जोड्न सक्छ ।

कागजी बाघको अवतारमा नयाँ नक्शाको रुप:
कासः नेपाल सार्वभौंमसत्ता सम्पन्न भएको मुलुक हो भन्ने हाँक दिईन्छ । जसको अहिलेतक साँध, सिमाना ल्कियर छैन । त्यतिमात्र होईन देशकै नक्शा पनि क्लियर छैन । अब भन्नुस् कि यो देशको भुगोललाई हिजोदेखि आजतकसम्म बनेको नयां संविधानमा कसरी सिमाङ्कन बाँधिएको छ..? देशको क्षेत्रफल कति..? स्वाधीनता भएको देशमा, शासकहरुचेन् कहीँ यस्तो बुख्याँचाहरु हुन्छन् होलान् र..? यी देश चलाउँने शासकहरु हुन् कि भाडाका ठेकेदारहरु हुन् ..? देश चलाउँने रंगढंग हेर्दा त शासके नेताहरु हुन् भन्ने लाग्दैनन् । उहीँ कमिसनखोरका ठेक्कापट्टाका ठेकेदारहरु हुन् झैं लाग्छन् । जसले आफ्नो देशको भुगोलको साँध, सिमानाहरु जान्दैन, देख्दैनन् । यस्ता टपरटुईयाँहरु कसरी सरकार प्रमुख हुन सक्छन्..? जो बर्षौं अघीबाट देशको सिमाङकनबारे बेखबर छन् । जसले महाकाली नदीलाई सन्धी सम्झौता मार्फत भारतलाई सुम्पन्दा त्यो स्थलगत साँध, सिमा नै नहेरी, नबुझी भारतलाई बुझाईएको छ । जवकी जग्गाधनीलाई आफ्नो जग्गाको चौकुनो साँ, सिमानाहरु क्लियर थाहा छैन र भएन भने झ्याली गर्ने निष्कृष्ट चरित्र भएको छिमेकीले सिमाको आलीहरु त उसले मिच्छؘमिच्छ के । अन्तः उसले सिमाको आली र उसको जग्गा नक्शा पनि संगसंगै वरवर सार्दै ल्याउँदै जान्छ । खेतमा जति मिच्छ नि यता उसको नक्शामा पनि त्यति नै सिमाङकनहरु सार्दै–सार्दै लैजान्छ । विशेषः लेनदेनको कारण छिमेकी भारतले यहीँ ब्यावहार दशकौं अघीबाट गर्दै आईरहेको छ । हामेरुँको शासकहरु भने उसको यो हेपाहा प्रवृत्तिको ब्यावहारबाट कहिल्यै पनि मुक्त हुने साहस औं आँट बटुल्न सकेनन् कठै..!

आफ्नो देशको पुर्ण अस्तित्व र स्वमित्व नभएको नेपालको नक्शा विश्व मानचित्रमा छ दशक लामो मौनतामा निरिहय भई बाँची रहयो । जुन नक्शा माउसुली भन्ने जीवको पुच्छर जस्तो बनि रहयो । कुनै शत्रुले उसको पुच्छर छोयो की चुँडी हाल्छ । शत्रु त्यहीँ चुडिएको पुच्छरमा अलमलिन्छ र ज्यान बचाउँछ । फेरि उसको कुरुप भएको त्यो शरिरमा, गुमाएको त्यो लिडे पुच्छर पुनः जोडिन्दै आउँछ र उस्तै परिपुर्ण देखिन्छ । खैरः फेरि कसैले छोए, उसले आफ्नो पुच्छर गुमाउँनु त छदैंछ । भारतसंगको नेपालको नक्शाको हविगत पनि यहीँ माउसुलीकै जीवनचक्र जस्तो मिल्दो बनेको छ । महाकाली स्थित कालीनदी, लिम्पियाधुरा र लिपुलेकभुमी माउसुलीकै पुच्छर जस्तो बनी रहयो । कहिले देखिने त कहिले हराई दिने । देशलाई माउसुलीको नियती बनाउँने काँग्रेस, कम्युनिष्टका शासकहरु भने अग्लो कदका राष्ट्रवादीहरु बने । तर जसको विरुद्ध हिजो सडक आन्दोलन मार्फत बहिष्कार गरे । आखिर प्रतिबादको तिनै मुठ्ठी उचाल्नेहरु नै अन्ततः अराजक राष्टघाती र देशद्रोही बने । भारतसंगको सिमा विवादका विशेष कारणहरु नै यथार्थमा यहीँ हो । जो अहिले नेपालको नयाँ नक्शा जोडिएको सार्वजनिक गरेको जो तमासा देखियो । जो आम नेपालीजनलाई देखाए । जो नयाँ नक्शा देखेर पुनः राष्टवादको एकसर्को नाराहरु गुञ्जीए । ओली सरकार आफै थुतुनो जोत्दै थिए कि, नक्शा जोड्न त त्यो कुनै ठुलो कुरै रहेन । त्यो त प्रेसमा लगेर छाप्न सकिन्छ । जो छाप्नमै पहिलो बहादुरिता भएको देखे । ओली सरकारको जयजय नै भो । मानौं नयाँ नक्शामा ३१२. बर्ग किलोमीटर जोडिएको नेपाल देख्दा, एउटा सामरिक क्षेत्रको ठुलै युद्व जीते जस्तो अनुभुत गरे । जुन नक्शामा माउसुलीको पुच्छर जस्तो जोड्ने काम त कुचीकारले अनि बच्चाहरुले पनि ड्रोइङ पेपरमा पेन्सिलले कोरेर देखाई दिन सक्छन् । जवकी ओली सरकार आफै जाबो नक्शा जोड्न…! भन्दै दुत्कार्दै थिए ।

खैरः ऊनी फेरि राष्ट्रियताको सवालमा अग्नि परिक्षामा उभिन बाध्य बनेका छन् । उनले गत संघीय साँसदको अधिबेशनबाट भारतलाई चुनौतीका साथ आफ्नो गुमेको भुमी फिर्ता गरीकन छाड्ने हाँक दिएका छन् । भने नेपालीजनलाई वचन दिएका छन् । हेरौं उनको यो थुतुनोले भारतको अहंकारलाई ढाल्छ कि नाई । त्यो हेर्न केही समय पर्खनु नै पर्ने भएको छ । उनको थुतुनो जति लगुवाा धार छ । तर कार्यन्वयन पक्षमा भने ज्यादै भुत्ते सावित गएको छ । उनको सरकार असफल हुँदै आउँनुमा भ्रष्टाचार मौलाउँनु र उनको त्यहीँ थुतुनो हावी हुनु हो । जे होस् अहिलेलाई नयाँ नेपालको नक्शालाई कागजी बाघको रूपमा नयाँ अवतारमा उतारिएको छ । यो बाघले साच्चिकै भारतलाई तह लगाउँन सक्ने त्यस्तो बाघ बन्न सक्ला की नसक्ला..? त्यो प्रतीक्षाको विषय बनेको छ । यदी यो उहीँ कागजी बाघ मै मात्र डुक्री रहयो भने मान्नुस् कि ओली सरकारले नैतिकसंकटको सामना गर्नु पर्नेछ । परन्तु, यदी त्यो भुमी नेपालकै स्वमित्वमा स–सम्मान फिर्ता ल्याईए भने राष्ट्रियताको हकमा बाघ नै हुनेछन् । राष्ट्रियताको यो लडाइँमा अहिले उनको हकमा कोही कसै पनि प्रतिपक्षी र विपक्षी भन्ने रत्तिभर छैनन् । उनले गर्ने यो नेतृत्वमा सब एकसाथ छन् । यो उनको हकमा फेरि एकपटक अवसर र चुनौंती दुबै एकसाथ आईलागेको छ । नैतिक अडान देखाउँन सके साख गिर्दै ओरालो लागेको सरकारलाई केही राहत मिल्न सक्छ । परन्तु, आफ्नो मन्त्रीमण्डललाई पुनः उनले शुद्धीकरण गर्नुको विकल्प छैन । कम्तिमा यसले शुद्धीकरणको बाटो तय गर्यो भने सरकारको गिर्दो साखको बचाउ गर्न सक्छ । जनमानसको कटु आलोचनाको घेराबन्दीबाट मुक्त हुदै जान सक्नेछन् ।

विशेष त उनको हकमा भन्नुपर्दा उनको यो कायाचोला र सत्ताभोगको आयु उति लम्बेत्तान भने रत्ति छैन । उनको नेतृत्व सरकारले सोंचेजस्तो माखो मार्न सकेन । नेपाली राजनीति इतिहासमै उनको सरकार एक नम्बर भ्रष्टचारवादी र अलोकतान्त्रिक सरकारका रूपमा रेकर्ड ब्रेक गरे । उसो त फेरि ऊनी नेपाली राजनीति इतिहासमै देशका लागि सबैभन्दा बढी सुन्दर सपनाहरू देख्ने र देखाउँने प्रधानमन्त्री हुन् । एउटा देशको प्रधानमन्त्रीले यतिको सपनाहरू देख्नुपर्छ । सपनाहरू देख्नु भनेको चिन्तन गर्नु हो । त्यो विषय उपरसंग साक्षत्कारमा घोत्लिनु नि हो । ओली सरकारप्रति यो कलमी हस्ताक्षर हार्दिकतापुर्वक सम्मान गर्छ । तथापी उनले मात्र सपनाहरू देखि रहे । दुर्भाग्य त्यो सपनाहरूको निर्माणमा परिणामहरु रत्ति देखाउँन भने सकेनन् । उनको त्यो सपनाहरूले मुर्तरुप पाउँन नसक्नु नै उनले नेतृत्व गरेको सरकारको असफलता देखिनु हो । जो सबै शनैःशनै फगत बन्दै जनमानसवीच खिसिट्युरीको भद्वा मजाकको ट्रोलहरु बन्दै गए ।

राष्ट्रियताको भाववेगमा अन्धो राष्टवाद
ओली सरकारलाई एकफेर सुन्दर अवसर र चुनौंती दुबै छन् । बाघ बन्ने कि स्याल बन्ने भन्ने छ । अब स्याल जस्तो मर्ने कि बाघ जस्तो । हुत्तिहारा कायर बन्ने कि बाघ जस्तै बहादुरिता देखाउँने । भनिन्छ, यदी मर्नु नै छ भने स्याल जस्तो भएर होईन, वरु एकै मिनेट नै भएनी बाघ जस्तै डुक्राएरै मर्नु निको हो । भारतपरस्त राष्टघातको ट्याग लागेको दागचिन्ह नामेट गर्न प्रयत्न गर्ने कि सदा ट्याग बोकेर बाँची रहने हो..? यो ऐतिहासिक रेकर्ड ब्रेक गर्ने र निर्णयार्थ लिने जो उनकै तजविजि हो बस..! अतः बाघ जस्तै बन्नु भन्नुको मतलव भारतसंग ऐंलान जंगको सामरिक रुपले हिंसात्मक युद्वतर्फ लडाइँ गरेर जीत हासिल गरिनुपर्छ भन्ने रत्ति होईन । भारतसंग युद्वको कुरो कल्पना बाहिरको हो । यो वलभद्र कुँवर, अमरसिंह थापा र भक्ती थापाको युग होईन । जहाँ नाङगो कुखुरी र ढुंगामुढाहरुले लडोस् । भावबेगको उन्मादले शत्रुलाई परास्त होईन । झन् बलियो बनाउँने गर्छ । तसर्थ, भारत विरुद्धको यो अनर्गल तथानाम गाली गलौज र हुँकार पेश गर्नु भनेको उग्र राष्ट्रवादको सिर्फ भाववेगको उन्माद मात्र हो । यसले एक–अर्कालाई भावानात्मक रुपले जोड्न सक्दैन । पछिल्लो सिने क्षेत्रकी नायिका वर्षा राउतले दिएको अन्तर्वार्तालाई विवादको पराकाष्ठा बनाएर सामाजीक संजालभरी भाईरल बनाईनु, त्यो यहीँ अन्धो राष्टवादले सिर्जित उन्मादको भावभेग भन्दा पर केही होईन । जुन केही सञ्चारमा पीतकारीता गरिखाने ढोंगी राष्ट्रवादी र युटुवरहरुलाई(अपबाद बाहेक) कमाई खाने मशला बन्यो । जो बर्षाको भावना माथी चोट पुर्याएर आशिम आनन्द लुटियो र भद्वा मजाकमा उनको सहन गर्नै नसकिने बेईज्जती गरियो । सामाजिक संजालभरी उनको दृश्यपान गर्नै नसकिने अनेकान ट्रोलहरु बनाईए र सेयर पोष्ट गरिए । जुन राष्ट्रवादको नाममा देखाईएको मानवता विरुद्धको पराकाष्ठ नाघेको घातकसिद्व थियो त्यो ।

जवकी यहाँ खुलेआम देश लिलाम गरेर सभ्रान्त कुलीन शासक बनेकाहरु राष्ट्रघाती र देशद्रोही भएनन् । तर दुर्भाग्य एउटी सेलिब्रेटी बनेकी चेलीले देशै बेचेर घरबार जोडेर देशकै विरुद्ध बोलेको जस्तै गरि मिथ्या भ्रमहरुको अफबाह फैलाईयो । यसैले देखाउँछ कि देशभक्त राष्ट्रवादीहरुको मानवीय प्रेम र उदारभाव कति फराकिलो छ..? भनेर यसैले पनि उनेरुँको नकावधारी अन्धो राष्ट्रवादको मोहोरा उदाङगो देखिएको छ । जवकी बर्षाले बोलेको कुरोलाई भिडियो क्लिप्सलाई ईडिट मार्फत पुरै तोडमोड गरियो । फरक परिभाषा जस्तो लाग्ने भ्वाईसलाई मात्र राखे । अनि सामाजीक संजालमा विवादित बनाईयो । तब उनलाई तल्लो स्तरसम्मको तथानाम गाली गलौज गरि बेश्कनै उछित्तो काडीयो । एउटी नेपाली चेलीलाई विश्वसामु नाङगेझार बेईज्जवत गरि सामरिक युद्वमा भारतलाई जीते जस्तै गर्व गरे । एउटी चेलीको यस्तो हुर्मत बटुलेर बहादुरिताको यो नाङगो साहस देखाएकोमा परपिडक बनेका कथित यी राष्ट्रवादीहरुले आफुहरुलाई भने एउटा महान देशभक्तवादी ठाने । खुब आत्मरतीमा रमाए । कासः नायिका बर्षाको अभिव्यक्ति देश र जनताको राष्ट्रियता विरुद्ध एकरत्ति छदैछैन् । दुई देशको आन्तरिक द्वन्द्वलाई कुटनीतिक हिसावले संवादद्वारा सहजीकरण हुनुपर्छ भन्ने उनले सुझाएकी हुन् । दुई देशको द्वन्द्वले परस्पर जनता (साथीभाई) माँझ झनै अप्ठ्यारो तिक्तता बढाउँने छ । जसले साथीभाईहरुमाँझ फेस गर्न गाह्रो हुने भाव ब्यक्त गरेकी हुन् । उनले आफ्नो देश र जनताको हकमा यति सुन्दर विचार ओकल्दा के यो राष्ट्रवाद विरुद्ध भयो..? राष्ट्रवादको चिन्तन बोक्ने देशप्रेमीहरुको मानसिकतामा यतिसारो निर्लज अविवेकीपन छ कि..? जो एउटी नारीको भावाना विपरीत खेल्छौं र उसलाई खुल्याएर नाङगो बनाएर भरपुर आनन्दले रमाउँन सक्छौं । के यहीँ हो हामेरुँको देश प्रेमप्रतिको राष्ट्रवाद..? यस्तै चिन्तनको अन्धो राष्ट्रवादप्रति भने कयौंन शुभेच्छुकहरुले यसको विमती खापे । बरु यस्तो अतिबादी राष्टवादीको नाराहरु उराल्नेहरुकै विरुद्ध नै कुनैदिन उहीँ सडकमा मुर्दाबादको मुठ्ठीहरु कस्सिने छन् ।

वार्तामा सहमतीको विकल्प छैन..!
कुकुरले टोक्यो भन्दैमा कुकुरनै टोक्न गए, कुकुर भन्दा माथी हुन सकिन्न । कुकुर भन्दा फरक आचरण देखाए नै त्यहाँ भावनात्मक प्रेमले ठाँउ पाउँछ । अतः भारतको यो रवाफिलो अंहकारलाई हार्दिक सहिष्णुताको प्रेमले नतमस्तक पार्नु नै ऊ विरुद्धको एउटा सामरिक युद्व जीत्नु जस्तै हो । यसै मानेमा बाघ बन्नु भनेको प्रतिकात्मक रूपमा राजनीति कुटनीतिक हिसावले उसलाई आफूसामु परास्त पार्नु हो । अर्थात सहमतीमा स्वीकार गराउँन सक्नु हो । भलैः भारतले सिम्बोलिक रूपमा आफ्नो बडी ल्याङगोईज मात्र प्रस्तुत गरि रहेछ । उसले नेपाल सरकारलाई समकक्षीको रूपमा कुटनीतिक प्रयोग गरेको रत्ति पाईन्न । उसले खाली आफ्नो राजदुत मार्फत त कहिले सेना प्रमुख मार्फत सन्देश प्रवाह गराउँदै आई रहेछ । यसले के बोध गराई रहेछ भने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सरकार ब्याक फर्कने मनस्थितिमा छैनन् । उनीले दोहोरो संवाद गर्ने रुची देखाएको छैनन् । उनले देखाएको मौंनताले यहीँ बोध गराउँछ । तथापी भारतीय कुटनीति नियोगका विदेश मामिलाका जानकारहरु भने,बार्ताबाटै द्वन्द्वको निकास निकालिनु पर्नेमा जोड दिई रहेका छन् । जसको कारण मोदी सरकारलाई उस्तै चर्को दबाब परेको छ । त्यसो त अन्तर्राष्ट्रिय जगतले नेपालप्रति देखाएको साथ सपोर्टहरुको सहयोगले पनि भारतलाई थप चर्को दबाबको सामना गर्नु परि रहेछ । तर भारत भने नेपाल चुपचाप बसोस् भन्ने मनसाय राखेको छ । यसले थप दुई देश वीचको सम्बन्ध झन् बिग्रन्दै जाने देखिएको छ ।

भलैः नेपालको नयाँ नक्शालाई संविधान संशोधन मार्फत अनुमोदन गर्ने प्रस्तावले भारत झनै चिढिन पुग्यो । यसले परस्पर सम्बन्धको दुरी झन् बढाई दिने देखियो । अतः सो प्रस्ताव भारतीय पुर्वराजदुत श्याम सरणको नेपाल प्रवेशपछी भने,द्वन्द्वको घटनाक्रमहरुले नयाँ मोड लिन सक्ने पनि राजनीतिकबृतमा आँकलन गर्न थालिएको चर्चा छ । जुन नयाँ नक्शा अनुमोदन गर्ने भनिएको प्रस्ताव पेश अहिले त्यो साँसद सचिवालयबाट पुनःफिर्ता गरि सकिएको छ । जसलाई केहीदिन पर सारिएको सूचना आउट गरिएको छ । जुन प्रस्तावमा अनुमोदन गर्नका लागि सांसदमा दुई तिहाई बहुमत अनिबार्य चाहिन्छ । प्रतिपक्षी काँग्रेस तत्कालै ब्याक हुनु वा तटस्थ देखिनुले उस्तै आशंकालाई वल पुर्याएको छ भने मधेसवादी (समाजवादी जनता पाटी)हरुले पनि संविधान संशोधनमा आफ्नो मागहरुको पनि सम्बोधन हुने भए सहभागी हुने अड्को थाप्दै गएको देखिन्छन् । ओली सरकार भने यहीँ समय त्यो अमेरिकी एमसीसी.(मेनिलियम च्यालेञ्ज कर्पोरेसन) सुलुत्तै पासमार्फत अनुमोदन गर्न हतासमा छन् । अतः यसै एमसीसी.प्रकरणले पनि राष्ट्रवादी र राष्ट्रघातीको कित्ता काटाकाट गर्दैछन् । यसमा विपक्षी बनेको काँग्रेसीहरु अनुमोदन गर्न प्रतीक्षारत रेडी छन् ।

बरु ओली सरकारको खरो प्रतिपक्षीहरु त आफ्नै पार्टीका सांसदहरु पो छन् । जो प्रतिपक्षी ब्रेञ्चमा रक्षात्मक हुनुको काँग्रेसी सांसदहरुको धर्म यानेकी दायित्व निर्वाह गर्दैछन् । बढो अचम्म छ, देशमा प्रतिपक्षी बनेका कांग्रेसी चरित्रको अवतारहरु । एमसीसीले देशको आर्थिक सहयोगको नाममा नेताहरुलाई नै मालामाल कमाईको खेती हुने देखिएको छ । जसले देशको राष्ट्रियता माथी नै परेड खेल्ने छन् । देशको संविधान भन्दा त्यसको नियमावली कार्यानीतिहरु सबैभन्दा बढी हावी हुने देखिएको छ । त्यसपछी मात्र थाहा होला की को राष्ट्रवादी.? र को राष्ट्रघाती हुन् ..? भन्ने घाम जस्तै छर्लङै हुनेछ । जसरी हिजो यो महाकाली सन्धी सम्झौंताहरु यिनैले गरेका थिए । अतः पक्ष विपक्षवीच नै यो एमसीसीको लडाइँ पेण्डीङमै भएपनि ओली सरकारले छिर्केनी झ्यालबाट नभई मुल ढोकाबाटै ईन्ट्री मार्ने गत सांसद सभाको सम्बोधन मै हाँक दिई सकेका छन् । अबः थुनछेकको यो लडाईं हेर्नू छ । कसको पल्लाभरिने हो । अतः सिमा सम्बन्धीको विवादमा भने विशेष त कुटनीतिक रुपले एक्कासी राजदुतको आगमनले दलहरु माँझ थुप्रै संशयलाई जन्माएको छ । आखिर नेपाली शासके नेताहरु भनेका भारतपरस्तहरु नै हुन् भन्नेमा जो विमतीनै थिएन । तथापी यसपटक भारतसामु बलियो उपस्थिति देखाउलान् भन्ने झिनो आशा भने थियो । त्यो सार्थक होला नहोला । परन्तु, सहमतीमा वार्ताको विकल्प नै छैन । सहमतीमा बस्नु भनेकै केही पाउँनु र केही गुमाउँनु नै हो । आखिर युद्वनै अन्तिम विकल्प भएपनी, युद्वविरामको विकल्प त फेरि उहीँ सहमतीय वार्ता नै हो । तसर्थ, यो लेनदेनमा परस्पर मिल्नुको कुनै विकल्पै छैन् ।

किन्तुः त्यो सहमतीका लागि संयुक्तराष्ट्र संघले मध्यस्थकर्ताको भुमिकामा सदरसाक्षी बस्न सक्छ । सो संबाद वार्तामा आवश्यक परे त्री–पक्षीय देश (नेपाल, भारत र चीन) बस्न सक्नेछ ।बस्तुतः यो वार्ताले सफलता पाए, बर्षौ अघि देखीको त्री–देशीय परस्पर सिमा विवादको सदाको लागि किनारा लाग्ने र अन्त्य हुनेमा विश्वस्त हुन सकिने आधारहरु बन्ने थिए । साथै परस्पर सम्बन्धहरु पनि सदा दिंगो रूपमा प्रगाढ बनि रहन् सक्थ्यो । यसैमा सबैको जय जय र हितकर हुने थियो । बस् ..!

Gmail : lojimaphago@gmail.com

सम्बन्धित खवर