किरात इङसे डटकमको उद्घाटन(फोटो फिचर सहित) - Mangsebung News
  • मङ्गलबार, बैशाख ०४, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

किरात इङसे डटकमको उद्घाटन(फोटो फिचर सहित)


माङसेबुङ / किरात धार्मिक संस्थाहरुको साझा आवाजको रुपमा सञ्चालन गर्न सुरु गरिएको अनलाइन सञ्चार माध्यम किरात इङसे डट कमको उद्घाटन गरिएको छ ।

सो अनलाइनलाई बिहिबार औपचारिक रुपमा निजी गुरु आश्रममा किरात धर्मगुरु मुहिङ्गुम अङ्सीमाङ् लिङ्देन आत्मानन्द ‘सेईङ्’ ज्यू तथा मुहिङ्गुम अङ्सीमामाङ साँबा पवित्रहाङमा लिङ्देनज्यूको हस्तबाहुलीबाट उद्घाटन गरिएको हो ।

उद्घाटन कार्यक्रममा मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङज्यूले अमृतमय माङ आशीर्वचन समेत दिनु भएको थियो ।

किरात इङभो पान्जुम्भोद्धारा सञ्चालन प्रारम्भ गरिएको किरात इङसे अनलाइन खबरलाई किरात धार्मिक संघ सस्थाहरुको साझा आवाजको रुपमा सञ्चालन गरिने यस पान्जुम्भोका अध्यक्ष तथा किरात चोत्लुङ मुहिङगुम अङसीमाङगेन्ना सेवा समितिका अध्यक्ष केहेरसिं योङहाङले बताउनु भयो ।


कार्यक्रम पान्जुम्भोका अध्यक्ष तथा किरात चोत्लुङ मुहिङगुम अङसीमाङगेन्ना सेवा समितिका अध्यक्ष केहेरसिं योङहाङको अध्यक्षतामा सम्पन्न भएको थियो ।

कार्यक्रममा किरात धर्म तथा साहित्य उत्थान संघका प्रतिनिधि, निजी गुरु आश्रम कृषि तथा भौतिक पूर्वाधार निर्माण आर्थिक व्यवस्थापन समितिका अध्यक्ष देउमान आङबुहाङ, निजी गुरु आश्रम कृषि समितिका अध्यक्ष टिकाराम केरुङ लगायत विभिन्न संघ सस्थाका प्रतिनिधिहरुको उपस्थित रहेको थियो ।

त्यसैगरी मातहत संस्थाहरु किरात साम्यो साक्थिम्गेन मुजोत्लुङ पान्जुम्भो, किरात साम्यो माङसेवासाबा मुजोत्लुङ पान्जुम्भो, किरात साम्यो नालीफूङवा मुजोत्लुङ पान्जुम्भो, किरात साम्यो सुनुगेन थक्सुबा मुजोत्लुङ पान्जुम्भो, किरात साम्यो थामेन्दीङमा मुजोत्लुङ पान्जुम्भो, किरात साम्यो हक्चात यक्चुम र किरात साम्यो माङसिवाखाहुन मुजोत्लुङ पान्जुम्भोका प्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।

यसरी उद्घाटन गरिएको किरात इङसे अनलाइन खबरबाट प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई आत्मासात गरी, सत्य, तथ्य र निष्पक्ष सूचना आम नागरिकसामू बुलन्द गर्दै, समानता, समावेशीता, धर्म निरपेक्षता तथा धार्मिक, सामाजिक सद्भाव र सहिष्णुता कायम गर्ने, गराउने उद्देश्यका साथ सञ्चालन गरिने इङभो पान्जुम्भोले जनाएको छ ।

किरात धर्मदर्शनदाता, समाज सुधारक तथा राष्ट्रिय विभूति मुहिङगुम अङसीमाङ महागुरु फाल्गुनन्द लिङ्देनज्यूको मार्गदर्शन र मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङज्यू तथा मुहिङगुम अङसीमामाङ सा“बा पवित्रहाङमा लिङ्देनज्यूहरुको नीति निर्देशनलाई शिरोधार्य गर्दै, किरात धर्म दर्शन, मुन्धुम, भाषा, लिपि र साहित्यलाई उत्थान गरी सञ्चार माध्यमबाट व्यापक प्रचार प्रसार गर्ने उद्देश्यले सञ्चार संस्थाको रुपमा किरात इङभो पान्जुम्भोको स्थापना गरिएको हो ।

यस पान्जुम्भोले अनलाइन खबरसँगै निकट भविष्यमा युटयुब च्यानल र पत्रिका समेत सञ्चालन गर्न आवश्यक तयारी थालिएको अध्यक्ष योङहाङको भनाई छ ।

सम्बन्धित खवर