१, आत्मा चढेको सखुवाको फेद
यो कसको आत्मा चढेको हो ?
ओ साम्बा ! भनिदेऊ
मेरो जीऊ सिरिङ्ग गर्छ
यति भयङ्कर जब्बर परक्क बटारिएका छेपारीहरू
यो जर्खरिएको माङसलहरू
पुरातात्विक घृणित छालाहरू
शताब्दियौं पूर्वका दमनका साक्षी फङगलहरू
बैचारीक सापेक्षियताका कत्लाहरू
यो कुनै दासको हुनसक्छ
कुनै सतीको हुनसक्छ
कुनै अछुतको हुनसक्छ
कुनै खुङखार बिद्रोहीको
वा भयानक जब्बर लडाकुको
जो कुनै क्रुर घृणामा वा कुनै अमानवीय अपमानमा
जोड सँग धसिएको हुन सक्छ
ओ साम्बा !
यो गतिमा छ यो बहाबमा छ
धुप बाल तितेपाती सल्काऊ
ओ साम्बा ! यो आत्मा कसको हो ?
यो कुनै सामन्तको हुनै सक्दैन
कुनै सुखीको बयोडाटा सँग
यसको जेनेटिक्स तालुक राख्दै राख्दैन क्ष्
यो कुनै साशकको पनि होइन ।
यो कुनै फिरन्ता वा विदेशीको पनि होइन ।
यो भूमि यो जमिन यो माटोमा
कति सहस्र उल्कापातहरू भए
कति अत्यचारका महात्राशदीहरू भए
तर किन्चित डगमगाएन यो
कुनै समयको महा आँधीले पनि उखेलिएन यो
कुनै जडताले पनि खुम्चिएन यो
भयानक खडेरीमा पनि सुकेन यो
कसरी यति धेरै दुःख बिच बाँचिरहयो यो
कुनै महायोगीझैं समाधिमा लिप्त छ यो
खुकुलो माटोलाई कस्सेर अठ्याउँदै ठिङ्ग उभेको छ यो
हँ साम्बा ! यो कसको आत्मा हो ?
कसरी सम्भव छ
खुकुलोमा कसिलो उभिनु
यसको आयु हेर्दा
यसको पौरख पर्गेल्दा
यसका पट्पटी फुटेका कुर्कुचाका मानचित्रमा
यो सभ्यताकै कुनै दुःखी डायनोसरस हुन सक्छ
तितेपाती ल्याऊ धुप लगाऊ
यो त कुनै आदिम शिकारी हुन सक्छ
हँ यो कसको आत्मा हो
यो कुनै भुमि पुत्रको विराट रूपसँग
कुनै महा लडाकुको कायसँग
ठ्याक्कै दुरुस्तै आत्माहरू मिल्छ
उभो फक्ताङलुङ तिरैबाट झरेको होस्
उधो सिमानामा उभिने दमित दशगजा को आत्मा होस्
जो सधैं जातले थिचिएर हेलाले निम्जो भएको होला
सिमाना किचलोले गिजोलोर आत्मा धुजा धुजा भएको होला
हिमालको आँसुले डुबेको होला घाँटी सम्म
पहाडबाट बगेको रछ्यानले लत्पतिएर दुर्गन्धित भएको होला
हो यो त्यही आत्मा हुनुपर्छ .
यो त्यहि आत्मा हो
ओ साम्बा !
ठिङ्ग उभिरहने
अडिग निश्चल उभिरहने
यो धर्तिमा अधि सभ्यतामा
दुःखको ठूलो आवाजसँग
मेहेनतको महानदी सँग
साहासको टाकुरासँग
त्यहि भूमिपुत्र त्यहि माटोको प्रेमी
त्यही दमित त्यहि प्रताडित
हो अजङ्गको अस्तित्वसँग उभिएरहेको छ
अठ्याएर बलवानसँग माटोलाई
म आत्मबोधमा छु
यो चल्मलाउँदै छ
यो हलचलमा छ
धुप हाल
यो आत्मा कसको हो साम्बा ?
२, मलाई त रगत उम्लेर आउँछ
ओ मनुष्य !
पाँच हजार बर्ष अघिदेखि नवराज कामीहरूले आफ्नै गिदीको बन्दुक बनाएर तिम्रो राज्य थामेका हुन्
आफ्नै नली हाडको भाला खुकुरी तिर बनाएर तिम्रो शत्रुलाई परास्त गरेका हुन् ।
तिमीलाई इतिहासमा महावीर बनाएका हुन्
आफ्नै औंला काटेर करूवा बनाई तिम्रो खेतको फ्यूज
बनाएका हुन्
कहिल्यै देख्यौं इतिहासमा नवराजहरूले तिमीलाई हतियार फर्कायो ?
औंला ठड्यायो ?
यो पृथ्वीको इमानको नदी नवराजहरुकै रगतको भाटीबाट खारिएर आगोमा बग्दै तिम्रो मस्तिस्कलाई सिञ्चित गरेको हो
त्यै पसिनाको नदीलाई तिमीले वागमतीको लेदो बनायौं
विष्णुमतिको फोहोर मिसायौं
तिम्रो आफ्नै पृथ्वीनारायणको दर्शनलाई गुहुमा झैं लट्पटायौ
तिम्रो वेदको रिचालाई लतरपतर कुल्चेउ
तिम्रो बुद्धको अहिंसालाई हिलोमा गाडेऊ
तिम्रो संविधानको मर्म र भावनालाई भीरबाट झार्यौं
तिम्रो समाजवाद मानवता बालेर आगो ताप्यौ
तिम्रो माक्सवाद वर्गसंघर्ष खरानी बनायौं
तिम्रो जनयुद्ध धोती लगायौ
र, आफैमाथि ढुङ्गा बर्षाउदै
नाबालिका र बेखुसीको काउँसो रोप्यौ
हेर त यो हरियो खेतमा चल्ने हसियाहरू निर्माणको गीत गाइरहेछ
जुन संगीतले तिम्रो खलियान देखि भान्सासम्म लय भर्छ
त्यै लयमा तिम्रो तथाकथित सभ्यताको सास चल्छ
तिम्रो कलकलाउँदो नानीहरू हुर्किन्छ
त्यो उनै नवराजहरुको ब्राण्डेड करङ्बाट उत्पादित हो
आली आलीमा स्पर्श गर्ने कोदालो कुटोहरू समृद्धिको
चुम्बनमा छन्
जो उनीहरुकै मांसलबाट यति बलवान र चलायमान छ
तिम्रो सुत्केरी आमालाई खिर पकाउँने कसौडी नवराजकै सन्तानको दाहिने घुँडाको पाङ्ग्राको रसायनबाट गालियो
र, आमाहरू दूधको मातृत्व बगाउँछन्
रूखलाई पातले झैं तिम्रो लाजलाई छोप्ने नवराजहरूकै छालाले हो
जसको कारण तिमी पशुहरूभन्दा अलग छौं
आफ्नै आमा बहिनी अघि बेलाज उभिन सक्छौ
तिम्रो कुरूपतालाई उनैहरूले आफ्नै आँखा झिकेर
गहनामा सजाएपछि तिमी सुन्दर देखियौ
तिम्रो वैभवको चिन्ताको आगोलाई निभाउँन उनैहरूले
आफ्नै मुटुको सन्दुकमा आफ्नै नसा काटेर ताला चाबी आविष्कार गरे पछि तिमी अजेय भयौ
यी सब गुणको आविष्कार पछि भने
तिमीले आफ्नो आँखा बन्द ग¥यौं
आफ्नै लागि मात्र हेर्यौ
तिमीले आफ्नो कान बन्द ग¥यौ
आफ्नै लागि मात्र सुन्यौ
तिमीले आफ्नो गिदी बन्द ग¥यौ
आफ्नै लागि मात्र सोच्यौ
जो आँखा कान गिदीको पोषण नवराजकै
बहुराज्य कम्पनीमा उत्पादन हुन्थ्यौ स्वीकारेनौ
वास्तवमा तिनीहरू सभ्यताकै आविष्कारका आविस्कारक थिए
कलाका ज्ञाता थिए
तकनीकिका पिता थिए
तिमीलाई उनीहरू देखि शुरुमै ईर्ष्या थियो
त्यही ईर्ष्याले जलेर तिमी संसार जलाइरहेका छौ
प्रेम त पहराबाट रसाएर उम्रिने जरुवा जस्तो हो
जो हृदयको मुलबाट निस्किन्छ
प्रेम त प्रकृतिको अनुपम उपहार हो
जो अप्राप्य अमुल्य छ
प्रेम त ईश्वरीय स्वरूप हो
जो अनिवार्य र सत्य छ
यो संसार प्रेमको लायक छ
तब हे मनुष्य !
तिमी को हौ?
र,
नवराज कामीहरू को हुन् ?
लोकतन्त्रले उत्तर खोजिरहेको छ
मलाई त रगत उम्लेर आउँछ ।