
काठमाडौं । सरकारले मंगलबार मध्यरातदेखि करिव चार महिना लामो लकडाउन खुल्ला गर्ने निणर्य गरेको छ ।
सोमबार बसेको मन्त्रिपरिषद्कोे वैठकले चैत ११ गतेदेखि जारी लकडाउन साउन ६ अर्थात मंगलबार मध्यरातदेखि अन्त्य गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार र अर्थमन्त्री डा.युवराज खतिवडाले बताए ।
विश्वभरी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले गत चैत ११ गतेदेखि लकडाउन लगाएको थियो ।
लकडाउनलाई सरकारले पटक पटक म्याद थप्दै जेठ २६ सम्म पूर्ण रुपमा कायम राख्यो । त्यसपछि निजी सवारी जोर विजोर प्रणालीमा र पसल सञ्चालन गर्न दिएको सरकारले क्रमशः लकडाउन खुकुलो बनाउँदै लगेको थियो ।
प्रतिबन्ध क्षेत्रहरु
सरकारले लकडाउन खुलेको जना पनि तत्काल शैक्षिक संस्था, सभा गोष्ठी, प्रदर्शन भेला र सम्मेलन, सिनेमा हल, डान्स बारलगायतका मनोरञ्जन स्थल, सैलुन, व्यूटी पार्लर, जिमखाना, हेल्थ क्लब, समूहमा खेलिने खेल, धार्मिक स्थलहरु, पुस्तकालय, संग्राहलयहरु र चिडिया खाना अझै खुल्ने छैनन् ।
होटल तथा रेष्टुरेन्टहरु साउन १५ बाट खुला गर्न अनुमति दिएको छ । भदौ १ गतेबाट विद्यार्थी भर्ना र परीक्षा लगायतका गतिविधि गर्न छुट दिएको छ ।
यस्तै आन्तरिक तथा अन्तर्राष्ट्रिय हवाई उडान तथा मध्यम र लामो दुरीका अन्तरजिल्ला का यातायात भदौ १ गतेबाट खुला हुनेछ । अन्तर्राष्ट्रिय खेलका प्रशिक्षण र प्रारम्भिक खेलहरु पनि भदौ १ गतेबाट गर्न सकिने जनाएको छ ।