
काठमाडौं । कोरोना भाइरस महामारीका कारण लागु गरिएको जोर बिजोर यातायात सञ्चालन प्रणाली भदौ १ बाट हट्ने भएको छ ।
सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले मध्यम तथा लामो दूरीका निजी तथा सार्वजनिक सवारी साधन भदौ १ देखि सञ्चालन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा सञ्चार र अर्थमन्त्री डा. युवराज खतिवडाले जानकारी दिए ।
यातायात व्यवसायीहरुले साउन ८ गतेदेखि नै मध्यम तथा लामो दूरीमा यातायात सञ्चालन गर्न दिन माग गरेको भए पनि भदौ १ गतेपछि मात्र लामो दूरीको यातायात सञ्चालन गर्न दिने निर्णय गरेको हो ।
भदौ १ गते भन्दा अघिसम्म भने एउटै जिल्ला भित्र मात्रै सवारी चलाउन पाउने र उपत्यकाको हकमा काठमाडौं, भक्तपुर र ललितपुरमा सञ्चालन गर्न पाइनेछ ।
भदौ १ बाट यातायात सञ्चालन गर्न दिने सरकारको निर्णयको यातायात व्यवसायीहरुले स्वागत गरेका छन् ।
सरकारले तोकेको मापदण्ड पालना गरेर सवारी साधन चलाउन आफूहरु तयार रहेको भन्दै सरकारले भदौ एक अगाडि नै लामो दूरीको सवारी खुलाए पनि सेवा दिन सकिने नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले बताए ।