
काठमाडौं । राष्ट्रकवि माधवप्रसाद घिमिरेको १ सय १ वर्षको उमेरमा निधन भएको छ ।
मंगलबार बेलुकी ५ बजेर ५५ मिनेटमा आफ्नै निवास लैनचौरमा राष्ट्रकवि घिमिरेको निधन भएको हो ।
राष्ट्रकवि घिमिरेको १ सय १ वर्षको उमेरमा आफ्नै निवास लैनचौरमा घिमिरेको निधन भएको उनका पारिवारिक सदस्य अशेष शर्माले बताए ।
विक्रम संवत १९७६ साल असोज ७ गते लमजुङको पुस्तुनमा जन्मिएका घिमिरे नेपाली साहित्यको मध्यकालदेखि आधुनिक कालसम्म क्रियाशील साहित्यकार घिमिरेको भोलि राष्ट्रिय सम्मानसहित अन्येष्टि हुनेछ ।
उनका नव मञ्जरी, गौरी (शोककाव्य), मालती मङ्गले,(गीतिनाटक), हिमालपारि हिमालवारि (गीतिनाटक), राजेश्वरी, इन्द्रकुमारी, राष्ट्रनिर्माता, किन्नर(किन्नरी (गीतसङ्ग्रह), चारु चर्चा (निबन्ध), आफ्नो बाँसुरी आफ्नै गीत (निबन्ध) लगायतका कृति चर्चित छन् ।
घिमिरेले २०५४ सालमा ‘हिमालपारि हिमालवारि’ र २०५८ सालमा ‘चारु चर्चा’ कृतिका लागि साझा पुरस्कार तथा २०६७ सालमा पद्मश्री साधना सम्मान पुरस्कार प्राप्त गरेका थिए ।
उनले राष्ट्रिय गीत ‘नेपाली हामी रहुला कहाँ नेपालै नरहे’, ‘गाउँछ गीत नेपाली’ का साथै तारादेवीले गाएको ‘मनको बाँध’ चलचित्रको ‘फूलको थुङ्गा बगेर गयो’ तथा नारायणगोपालले गाएको ‘आजै र राति के देखेँ सपना’जस्ता गीत पनि रचेका थिए ।
उनी स्वच्छन्दतावादी भावधारा र परिष्कारवादी शैली भएका कुशल नेपाली साहित्यकार कवि र गीतकार पनि थिए ।
राष्ट्रकवि घिमिरेलाई २०६० साल असोज ९ गते सरकारले राष्ट्रकविको उपाधि प्रदान गरेको थियो ।
