‘किरात लिपि र भाषा विश्वको भाषा हुनेछ’ : आत्मानन्द सेइङ - Mangsebung News
  • बिहिबार, चैत १५, २०८०
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

‘किरात लिपि र भाषा विश्वको भाषा हुनेछ’ : आत्मानन्द सेइङ

  • ज्ञानु केदेम

माङसेबुङ । किरात धर्म, लिपि र भाषाको उत्थानका लागि धेरै संघर्ष गर्नुपरेको किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङज्यूले बताउनु भएको छ ।

वहाँले सो कुरा शनिबार सम्पन्न स्थानीय कामकाजी भाषा घोषणा वार्षिक कार्यक्रममा आशीर्वाद दिनुहुँदै बताउनु भएको हो ।

आशीर्वचन दिनु हुँद,ै अङसीमाङले किरात लिपि र भाषाको उत्थानको लागि अघि बढ्दै जाँदा राजद्रोहीको अभियोग समेत लागेको बताउनु भएको छ । वहाँले थप्नु भयो, ‘जे जस्तो उतरचढाव भएपनि किरात धर्म र लिपि नमासि जोगाएका छौं ।’

किरात लिपि नौलो नभई प्राचीन आदिम लिपि भएको वहाँले प्रष्ट पार्नु भएको थियो । यस लिपिलाई संरक्षण गर्नुमा पहिलो शिरिजंगाहाङ, दोस्रो शिरिजंगा सिंथेबे, महागुरु फाल्गुनन्द, लालसोर सेन्दाङ, इमानसिं चेम्जोङ लगायतका महापुरुषहरुको अमूल्य देन रहेको समेत अङसीमाङले बताउनु भएको छ ।

लिपिले राज्य सञ्चालन गर्ने बताउनु हुँदै, निकट भविष्यमा किरात लिपि र भाषा विश्वको लिपि र भाषा हुने वहाँले उद्घोष गर्नुभएको छ । धर्म दर्शन, इतिहास, भाषा, लिपि, संस्कार संस्कृति विकासका लागि खोज अध्ययन् अनुसन्धान गर्न तत्काल किरात विश्व विद्यालयको स्थापना गर्न आवश्यक भएको आशीर्वचनको क्रममा अङसीमाङले बताउनु भयो ।

किरात धर्म सम्बद्ध संघ सस्था, सामाजिक संघ संस्था र राजनीतिक संगठनका प्रतिनिधिहरुको भेलामा किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङ तथा मुहिङगुम अङसीमाङ साँबा पवित्रहाङमा लिङ्देनज्यूहरुको समुपस्थितीमा वार्षिक उत्सव कार्यक्रम आयोजना गरिएको हो ।

माङसेबुङ गाउँपालिका वडा नं. ५, का वडाध्यक्ष नरेन्द्र कुमार राईको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा विशेष अतिथि किरात चोत्लुङ मुहिङगुम अङसीमाङगेन्ना सेवा समितिका अध्यक्ष केहेरसिं योङहाङ, अतिथिहरु माङगेन्ना समितिका उपाध्यक्ष होमबहादुर लिङ्देन, गुरु प्रवक्ता डिल्लीराम चाम्लीङ, गुरु निजी आश्रम कृषि तथा भौतिक निर्माण आर्थिक व्यवस्थापन समितिका अध्यक्ष देउमान आङबुहाङ, कानुन व्यवसायी एन.एस फागो, किरात धर्म तथा साहित्य उत्थान संघका केन्द्रीय सह सचिव आङबुहाङ अबोध अविरल, लिम्बू विद्यार्थी मञ्चका केन्द्रीय वरिष्ठ उपाध्यक्ष नितेश सिंगक, माङसेबुङ गाउँपालिका कार्यपालिका सदस्य पूर्ण कार्की ढोलीले शुभकामना मन्तव्य राखेका थिए ।

त्यसैगरी श्री फाल्गुनन्द बोर्डिङ स्कूलका प्रिन्सिपल जलन आङबुहाङ, रेडियो माङसेबुङका स्टेशन प्रमुख सुमन लाओती, पार्टी प्रतिनिधिहरु नेकपाबाट देवीकुमार योङहाङ, नेपाली कांगे्रसबाट यामकुमार चेम्जोङ, जनता समाजवादी पार्टीबाट किसान खजुम, राष्ट्रिय जनमुक्ति पार्टीका इन्द्र आङदेम्बे, सुरेन्द्र तुम्बाहाङफे, प्रदीप नेयोङ, किरात साम्जीक मुन्धुम युक्सीङ निसामहिमका प्रधानाध्यपक कल्पना लिङ्देन लगायतले शुभकामना दिएका थिए ।

स्थानीय कामकाजी भाषा घोषणा वार्षिक कार्यक्रमका अध्यक्ष गुल्सन आङबुहाङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत मन्तव्य आयोजकका सदस्य धडकन सम्बाहाङफे राखेका थिए भने सञ्चालन वडा नं. ५, का दोभाषे कर्मचारी (वडा सचिव) सुनिल सेर्माले गरेका थिए । साँझ माङसेबुङ परिसरमा भव्य दीपावली समेत गरिएको थियो ।

इलामको माङसेबुङ गाउँपालिका वडा नं. ५, मा गत २०७५ साल मंसिर १३ गते स्थानीय भाषा किरात लिपि र भाषालाई सरकारी कामकाजी भाषा घोषणा गरिएको थियो । यसरी घोषित कार्यक्रमलाई कार्यान्वयन गर्ने क्रममा गत वर्ष मंसिर १३ गते दोभाषे कर्मचारी गाउँपालिकाले नियुक्ति गरेको थियो ।

सम्बन्धित खवर